प्रसव पीडा र खुसी
अनि हर्षका आँसु झार्दै रोइन् मञ्जु
सानैमा सन्तान जन्माएकी आमाको कथा

छोरी जन्मिएको ६ घण्टासम्म माया लागेन, प्रसवको पीडा आफन्तले नदेखुन् भन्ने लाग्यो ।

स्टेज र दोहोरीमा सबलाई हसाउँछिन्, मञ्जु पौडेल । 

तर, दोभान दोहोरीमा हाँस्दाहाँस्दै केही दिनअघि मञ्जुका आँखा रसाए । मनभित्र गाँठो परेको पोयो जति फुकाउँदै थिइन् मञ्जु, त्यति आँखाको डिलबाट आँसुका धारा बगे ।

‘मलाई टिस्यु पेपर चाहियो,’ दोभानमा मञ्जुको अर्डर थियो यो, आँसु पुछ्न ।

आँसु पुछिसकेपछि मञ्जुले भनिन्, ‘आजसम्म यसरी रोएकी थिइनँ, स्ट्रङ मान्छे हुँ म ।’ टेबलमा भएको ब्ल्याक टीको एक चुस्की लिएपछि मञ्जुले बल्ल फुकाउन थालिन् मनभित्रका गाँठा । 

अनि पुगिन्, आजभन्दा २१ वर्ष पहिलेका दिनमा ।



त्यति बेलामञ्जुले भर्खर एसएलसी दिएकी थिइन्, जनबोध उच्च मावि, गुल्मीबाट । अनि सपना बनाएकी थिइन्, आरजे बन्ने । नेपालमा भर्खरभर्खर रेडियोहरु खुल्न थालेका थिए, एफएमहरुको लहर चल्न थालेको थियो । एफएममा बोल्नु भनेको नाम कमाउनु हो भन्ने थियो मञ्जुलाई ।

तर, मञ्जुले जे सोचेकी थिइनन्, त्यो भयो । जे सोचेकी थिइन्, त्यो हुन पाएन । 



कारण थियो, प्रेम । त्यो पनि वान साइडेड लभ । ठ्याक्कै अहिले सम्झना छैन, मञ्जुलाई त्यति बेला कुनै युवाले आफूलाई मन पराएको थाहा पाउँदा कस्तो भएको थियो ।

जे होस्, उनको सपनामा ब्रेक लाग्यो । कारण थियो, जसले उनलाई मन पराएका उनी मञ्जुको हात माग्न घरै आइपुगे । १७ वर्षकी मात्र थिइन्, मञ्जु । रेडियोमा त्यति बेला घन्किन्थ्यो– बिहेबारी २० वर्ष पारि ।

रेडियोमा बज्ने यो सन्देशको कुनै अर्थ भएन । मञ्जुका बाबुआमा दुवै उनको विवाह गर्न सहमत भए । 

‘एसएलसीको एक्जाम सकिएको केही दिनमै पो मेरो बिहे भयो,’ मञ्जुले भनिन् ।

त्यसपछि फेरियो मञ्जुको ठेगाना, उनी विवाह गरेर ‘प्रेमी’को घर पुगिन् ।

त्यसपछि फेरियो मञ्जुको सपना, ‘प्रेमी’का सपनाहरुसँग एकाकर हुन थाले । 

फेरियो, मञ्जुको दैनिकी । केही महिनाअघि दिएको एसएलसीको रिजल्ट नै आएको थिएन, मञ्जुको महिनावारी रोकियो । जचाउन अस्पताल पुगिन्, परिवारसँग । एसएलसीको रिजल्ट र अस्पतालको रिजल्ट दुवैले मञ्जुलाई खुसी बनाए; एसएलसीमा पास भइन् मञ्जु; आमा पनि बन्ने भइन् उनी । मञ्जुको यो खुसीमा खुसी भयो, उनको परिवार पनि ।

‘सुरुमा त मलाई विश्वास नै भएको थिएन,’ मञ्जु मुसुक्क हाँसिन्, ‘अर्को महिना पनि महिनावारी भएन । अनि म पनि निर्धक्क भएँ, अब आमा बन्दै छु ।’ भर्खर १८ वर्ष टेकेकी थिइन् मञ्जुले । पेटमा बच्चा हुर्कँदै गर्दा त्यसैले लाज मान्थिन् । घरमै पनि अप्ठ्यारो मान्थिन् । ‘घरको माहोल चाहिँ एकदम खुसीको थियो,’ मञ्जुले भनिन् ।

गर्भवती हुँदा सुरुसुरुमा अरुलाई जस्तै मञ्जुलाई मन पर्ने खानेकुरा पनि खान नपरे हुन्थ्यो जस्तो लाग्न थाल्यो । ‘त्यति बेलादेखि मुसुरोको दाल खान छोडेकी मैले अहिले पनि खान्नँ,’ मञ्जु हाँसिन् । उनका लागि एउटै खानेकुरा प्रिय भएको थियो, त्यो बेला, ‘राजमाको सुप ।’

छोरी जन्मने बेला पनि लामो व्यथा लाग्यो । पेट बढ्दै जाँदा पलाएको लाज हस्पिटलको बेडमा पुगेर उत्रियो । लाजसँगै वरिपरिका फोहरहरुको घिन पनि हट्यो । उनीअस्पताल उचालिने गरी कराइरहिन् । प्रसव पीडा जति बढ्दै जान्थ्यो, मञ्जुलाई लाग्थ्यो मेरो संसार यहीँ सकियो । उनले बारम्बार आफैंसँग प्रश्न गर्थिन्, ‘मैले यो दुःख किन बेसाएको होला ?

बिहेअघिकै जिन्दगी सुन्दर थियो । मैलै किन बिहे गरे हुँला ?’ तर, आफैंसँग नाजावाफ थिइन्, मञ्जु । हिजोसम्मको सुन्दर संसार कुरुप भइसकेको थियो । मञ्जुलाई बाँच्छु भन्ने आश मरिसकेको थियो ।

उनका संगगिनीहरुले यो समय श्रीमानलाई खुब सम्झना गरेको कुरा सुनाउँथे । देख्न, अंगालोमा रुन मन लागेको बताउँथे । कतिपयले श्रीमानलाई जिन्दगीको यो स्टेजमा पुर्‍याएको आक्रोशमा चिथोर्न मन लागेको कुरा सुनाउँथे । उनलाई भने खै किन हो कसैको सम्झना आएन । बाँचिन्छ भन्ने नसोचकी मञ्जु आफू मर्दै गर्दाको पीडा आफन्तले नदेखुन् भन्ने ठान्थिन्।

प्रसवको त्यो कहाली लाग्दो क्षण सम्झिँदै भनिन्, ‘आमा बन्नु भनेको आफू मरेर सन्तान जन्माउनु रहेछ ।’ जीवनको माया मारेकी उनले रातको २ बजे अर्को जिन्दगीलाई जन्मदिइन् । अर्को जिन्दगीका रुपमा छोरीको आगमन भयो । परिवारमा खुसीको सञ्चार भयो । तर, मञ्जुलाई भने छोरीको माया नै लागेन । बिहानसम्म छोरीप्रति मातृत्व नै जागेन । उनलाई त्यसबेला लाग्यो, ‘साँच्चै छोरीको माया लागेन भने !’ दुखाइ कम भइनसकेकाले पो रहेछ ।

शरीर थोरै सहज भएपछि छोरीप्रतिको ममता पलाउँदै गयो । मञ्जु सम्झन्छिन्, ‘छोरी जन्मिनुअघि उलँर्दो माया कहाँ लुकेर बसेको थियो होला ?’

छोरी जन्मिँदा मञ्जु १८ वर्ष टेक्दैथिइन् । आमा बने पनि मञ्जुबाट केटाकेटी पन गएकै रहेनछ । छोरी जन्मिएको २ दिनपछि उनी आफूलाई आमा जस्तो लाग्न छोड्यो ।

उनको स्याहारमा एकजना महिला खटाइएको थियो । ती सुसारे तेल लगाउन आउँथिन् । तर उनलाई सिकसिको लाग्थ्यो । अनि झर्किन्थिन् । सुत्केरी हुँदा अमिलो र खुर्सानी खान नदिएको भन्दै खुब रोइन् । त्यो आँसु सम्झिँदा उनलाई अहिले आफू कति अपरिपक्व रहेछु भन्ने महसुस हुन्छ। छोरीको नाम राखेपछिमञ्जु झसंग भइन् । छोरीको न्वारनका दिन बल्ल मञ्जुमा मातृत्व फर्कियो । 

दिन बित्दै गए । छोरी कहिले हाँस्लिन्, कहिले खुट्टा फाल्लिन्, कहिले हिँड्लिन, कहिले बोल्लिन् भने छटपटी उनमा पलायो । छोरीले भित्तो समातेर उभिएको दिन उनलाई संसार जिते झैं लाग्यो । छोरीले पहिलो पटक ‘मामु’ भनेको सम्झिँदा मञ्जुको मन अहिले पनि प्रफुल्लित भएर आउँछ ।

छोरीले ‘मामु’ भनेको खुसी लामो समय टिक्न सकेन ।

एकातिर छोरीले मामु भनेको यो खुसी मञ्जुको मनको शीतल छाहरी भइरहेको थियो । अर्कोतिर, मञ्जुले प्रसव वेदनामा पाएको जस्तै पीडा पनि यही समयमा पाइन् ।

उनलाई जसले माया गर्छु भनेर विवाह गरे, उनैसँगको सहयात्रा टुंगिने मोड आयो । यसले थप्यो, मञ्जुमाथि थप जिम्मेवारी । छोरीको भविष्य र आफ्नो दैनिकी चलाउन थप संघर्ष गर्नुपर्ने भयो ।

छोरी पाँच वर्षमात्रै पुगेकी थिइन् ।

जिन्दगी सोचे झैं भएन । ५ वर्षकी छोरी घरमा छोडेर पत्रकारिता थालेकी मञ्जुको मनमा छोरीको बाल्यकालमा चाहेजति समय दिन नपाएको कुरा  अहिले पनि खड्किन्छ । 

उनलाई हरेक क्षण पीर लाग्थ्यो, ‘छोरीलाई चाहिनेजति सुविधा दिन सकिनँ । साथमा बसेर उसको बालापनको साक्षी हुन सकिनँ । गर्न हुने र नहुने कुराबारे उसलाई जानकारी दिन सकिनँ । भोलि छोरीले मलाई के भन्लिन् ?’ तर, यात्रामा अप्ठेयारो आउँदैमा जिन्दगी कहाँ सकिन्थ्यो र ? उनले सोचेकोभन्दा धेरै ज्ञानी भएर हुर्किएकी छोरी अहिले साथी भएकी छन् । 

छोरी ९ वर्षकी हुँदा मञ्जुले पहिलो पटक वैदेशिक यात्राको अवसर पाइन् । ३ महिना जापान बस्नुपर्ने थियो । जिन्दगीको सबैभन्दा ठूलो अवसर अंगाल्न निक्कै गाह्रो भयो । यति लामो समय छोरी छाडेर एक्लै नहिँडेकी मञ्जुलाई ३ महिना एक्लै बस्न सकिने लागेकै थिएन । तर, जिन्दगीमा आफूले चाहेका मात्रै काम गर्ने भाग्य कहाँ र ?

मञ्जुले पनि आँट गरिन् । छोरीलाई छोडेर जापान उडिन् । जापान एयरपोर्टमा जहाज ल्यान्ड भयो । तर, उनको मन भने नेपालमै छोरीसँग खेलिरहेको थियो । यी ३ महिना बिताउन उनलाई निक्कै कष्ट भयो । छोरी सम्झिँदै कार्यक्रमस्थलमा लुकेर रुन्थिन् । सुत्नेबेला डाँको छोड्थिन्। बेला बेला छोरीलाई फोन गरेर भन्थिन्, ‘भविष्यमा तिमीलाई यो ठाउँ घुम्न ल्याउने सपना छ ।’

अहिले छोरी स्नेहा मञ्जु आमा हुँदाको बेलाभन्दा बढी उमेरकी भइसकेकी छन् । दुःखसुखकी साथी पनि ।

फेरि एक पटक आँसु झारिन् मञ्जुले । अघिका आँसु र अहिले आँसुमा फरक थियो, दुःख र सुखको । 

यसपटक खुसीका आँसु पुछ्न टिस्यु पेपर मगाइनन् । भनिन्, छोरीले अब आफू खुसी जीवन बाँचोस्, त्यही हो मेरो सपना ।

  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार ६:५७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया