दिल्लीमा परराष्ट्रमन्त्रीले भने : सीमा समस्या चाँडो समाधान गरौँ
इपीजी प्रतिवेदन भारतले कार्यान्वयन गर्नुपर्ने भनाइ

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग हल हुन बाँकी समस्या समाधान गर्न नेपालले चाँडोभन्दा चाँडो वार्ता थाल्न चाहेको बताएका छन्। 

नयाँ दिल्लीमा  शुक्रबार भएको नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि आयोजित 'इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स'को कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

उक्त कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल र भारतबीच १८ सय किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा संयुक्त मापन भएको बताउँदै केही किलोमिटर सीमामा काम बाँकी रहेकाले चाँडो सक्नुपर्ने धारणा राखेका हुन्।

‘सीमांकन हुन बाँकी खण्डमा सहमतिमा पुग्‍न सकेमा हामीलाई अन्तर्राष्ट्रिय सीमा समस्या पूर्ण समाधान भएको अवस्थामा पुर्‍याउँछ। यसले सर्वसाधारणबीच सकारात्मक भाव बढाएर द्विपक्षीय सम्बन्धमा विश्वासको वातावरण बनाउँछ,’ उनले भने,‘मलाई पूर्ण विश्वास छ, हामी त्यही चरणमा पक्कै पुग्ने छौँ।’

कार्यक्रममा बोल्दै ज्ञवालीले नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदनलाई भारत सरकारले ढिला नगरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनले इपीजीको प्रतिवेदन बुझेर कार्यान्वयन गर्नु दुवै सरकारको दायित्व भएको पनि भारत सरकारलाई सम्झाएका छन्। 

‘बदलिएको राजनीतिक, सामाजिक र आर्थिक आयाममा दुवै देशले सम्बन्ध स्थापना गर्नुपर्ने बेला आएको छ,’उनले भनेका छन्, 'विवादहरु समाधान गर्दै जाऊँ। हामी हाम्रो भूमि छिमेकीविरुद्ध प्रयोग हुन पनि दिँदैनौँ।'



ज्ञवालीले चीनतर्फ पनि संकेत गर्दै दुई छिमेकी देशलाई एकअर्कामा तुलना गर्न नसकिने पनि बताए। 'हामी दुई छिमेकी देशसँग नेपालको तुलना गर्न चाहँदैनौँ', उनले भने, 'तर, दुवै छिमेकीविरुद्ध नेपाली भूमि एकअर्काविरुद्ध प्रयोग गर्न नदिने कुरामा नेपाल प्रतिवद्ध छ।'



  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार २१:५१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया