..त्यसपछि कर्णालीमा बन्यो ओलीको ‘साइबर फोर्स’

गएको पुस १३ गते राष्ट्रिय युवा संघ कर्णाली प्रदेशले बृहत भेला आयोजना गरको थियो र त्यस भेलालाई सम्बोधन गर्न नेकपा ओलीनिकट केन्द्रीय सदस्य महेश बस्नेत सुर्खेतको वीरेन्द्रनगर आए। त्यो दिन बस्नेतसहित युवा संघका सह–संयोजक रमेश पौडेल लगायतका थुप्रै केन्द्रीय नेताहरु वीरेन्द्रनगरमा आएका थिए। 

युवा संघ केन्द्र र प्रदेशका तीनै नेताहरुको छलफलपछि २ दिनपछि पुस १५ गते ‘साइबर फोर्स’ कर्णाली प्रदेश गठन भयो। १५ गतेसम्म नेता बस्नेत सुर्खेतमा नबसे पनि उनकै अवधारणा अनुसार फोर्स गठन गरिएको हो। 

वर्तमान सरकारले गरेको राम्रा कामको प्रचार–प्रचार गर्ने मुल उद्देश्य राखेर गठन गरिएको भनिएको साइबर फोर्सले कर्णालीका दैलेख र जाजरकोटमा समेत आफ्नो समिति गठन गरिसकेको छ। पुस २१ गते जारकोट र माघ २ गते दैलेख जिल्लामा फोर्स गठन गरिएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखेर ‘साईबर सेना कर्णाली प्रदेश’ को नाममा फेसबुक पेज खोलिएको छ। यो फेसबुक पेज २०१५ मा नै खोलिएको भएपनि हालै नाम परिवर्तन गरेर ‘साईबर सेना कर्णाली प्रदेश’ बनाइएको छ। जसमा साईबर फोर्स गठन भएका सूचना, त्यस सम्बन्धीका समाचार र प्रधानमन्त्री ओलीका केही भनाइहरु पोस्ट गरिएको छ। पोष्टहरुमा केपी ओली, जबज, सूर्य, लालसलाम जस्ता ह्यास ट्याग प्रयोग गरिएको छ।  

केन्द्रको निर्देशन अनुसार कर्णालीका यहाँका १० वटै जिल्लामा तत्काल गठन गरिने साईबर फोर्स कर्णाली प्रदेशका प्रमुख एवम्  युवा संघका नेता राजेन्द्र अधिकारीले जानकारी दिए। कर्णाली प्रदेशमा उनी सहित २७ जनाको कार्यसमिति बनाइएको छ। 

दैलेखमा मिलन जंङ्ग शाहीलाई प्रमुख तोकिएको छ। उनी सहित २४ सदस्यीय कार्यसमिति बनाइएको छ। तर जाजरकोटमा भने केहि मोलाडिटी परिवर्तन गरिएको छ। दैलेख र कर्णाली प्रदेश कार्यसमितिमा प्रमुख र सदस्यहरु तोकिए पनि जाजरकोटमा भने राजन थापाको अध्यक्षतामा १६ जनाको कार्यसमिति बनाइएको छ। जसको उपाध्यक्षमा विनोद घर्ती, सचिवमा राकेश आर.सी, सह–सचिवमा बिष्णु नाथ, कोषाध्यक्षमा प्रकाशमान सिंहलाई जिम्मेवारी तोकिएको छ।



यस्तै सदस्यहरुमा रामु सिंह, नरेश राना, महेश थापा, दिपक रावत, हेमन्त हमाल, डम्बर ब. शाही, निर्मला बस्नेत, प्रकाश घर्ती, कमान थापा र  वीर बहादुर थापा रहेका छन्। 

युवा संघको विभाग 



साइबर फोर्सलाई युवा संघ भित्रको विभागको रुपमा राखिने  साईबर फोर्स कर्णाली प्रदेशका प्रमुख अधिकारी बताउँछन्। ‘अहिले हामीले कर्णालीमा फेसबुक पेजमार्फत यसको सुरुवात गरेका छौँ,’ उनले भने, ‘पछि बिस्तारै अन्य सोसल मिडियामा पनि हाम्रो उपस्थिति रहनेछ।’

यसमा आवद्धहरुले सरकारले गरेका राम्रा कामको प्रचार गर्ने उनले बताए। 

अहिले युवा संघका अगुवाहरुबाटसल्लाह सुझाव लिएर काम गरिरहेको अधिकारीको भनाइ छ।  यो समूहमा जोडिन चाहानेहरु ओली निकट राष्ट्रिय युवा संघमा आवद्ध भएको हुनुपर्ने उनले जानकारी दिए। ‘अहिले यसको मापदण्ड त्यही छ।’ उनी भन्छन्। 

फेसबुक पेज निर्माण गर्दा ‘साईबर सेना कर्णाली प्रदेश’ राखिए पनि त्यसको बास्तविक नाम ‘साइबर फोर्स कर्णाली प्रदेश’ भएको र चाँडै नै नाम परिवर्तन गर्ने यसका प्रमुख अधिकारीले जानकारी दिए। 
 

  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १०:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया