केयुको उपकुलपतिका लागि वर्तमान उपकुलपति डा. माकजुसहित ४४ जनाको आवेदन

काठमाडौँ विश्वविद्यालय केयुको उपकुलपति बन्न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण बुझाएका छन् । केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन गरेको सार्वजनिक अपिलअनुसार ४४ जनाको आवेदन परेको हो ।  

केयु प्राध्यापक सङ्घले विश्वविद्यालयको नेतृत्वमा उत्रेका उनीहरुमध्ये ३७ प्राज्ञिक व्यक्तित्वले प्रतिस्पर्धा गर्नु सकारात्मक सन्देश भनेको छ । ‘धेरै प्राज्ञिक व्यक्तित्वले केयुको नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको छ हामीले नेतृत्व गर्न चाहने आकाङ्क्षीसँग आजैदेखि छलफल सुरु गर्दै छौँ,’ सङ्घका सभापति प्रा.डा. विवेक बरालले भने । 

उनका अनुसार उपकुलपति सिफारिस समितिलाई विश्व परिस्थितिअनुसार विश्वविद्यालयलाई नवीन सोचका साथ डोर्याउने, शैक्षिक क्षेत्रको उन्नयन तथा मार्गनिर्देशित गर्ने उद्देश्य बोकेको सक्षम, निष्ठावान् र उत्कृष्ट उम्मेदवार छनोट गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले छलफल सुरु गरिएको हो । 

सङ्घको छलफल कार्यक्रम तालिकाअनुसार उपकुलपति आकाङ्क्षी उम्मेदवारसहित शनिबार साँझ सुरु गरी आइतबार र सोमबारसम्म सङ्घआबद्ध प्राध्यापक, कर्मचारी, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरेको हो । 

सङ्घले केयुमा लामो समय एउटै व्यक्ति दोहोर्याउँदा उपकुलपति सिफारिस प्रक्रिया अपारदर्शी तथा सिफारिस समितिप्रति शङ्का पैदा हुने भएकाले बृहत् छलफल तथा आम चाहनाअनुसार उपकुलपति चयन गर्न आग्रहसमेत गरेको छ । 

०४८ मा स्थापित केयुमा प्रा.डा. सुरेशराज शर्माले २१ वर्ष र डा. रामकण्ठ माकजुले आठ वर्ष नेतृत्व गरिसकेका छन् । डा. माकजुको दोस्रो कार्यकाल यही हप्ता अर्थात् माघ ७ गते सकिँदै छ ।



विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न पहिलोपटक सार्वजजिक रुपमा दर्खास्त आह्वान गरेपछि ३७ प्राध्यापक, प्राज्ञिक तथा बाँकी सहप्राध्यापक, उपप्राध्यापक र प्राज्ञिक क्षेत्रबाहिरका सहित ४४ ले व्यक्तिगत विवरण बुझाएको मन्त्रालय स्रोतले जनायो । 

वर्तमान उपकुलपति डा. माकजुले पनि पुनःनियुक्तिका लागि व्यक्तिगत विवरण बुझाएको जनाइएको छ । सिफारिस समितिले व्यक्तिगत विवरण रुजु गरिसकेकाले आउँदो सोमबार थप छलफल गर्ने कार्यतालिका बनाएको छ । 



  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १८:४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया