परराष्ट्रमन्त्री ज्ञवाली नेपाल फर्किए, के–के भयो सहमति ?

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार नेपाल फर्किएका छन् । ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई मजबुत पार्न योगदान पुगेको दाबी गरेका छन् । 

कोभिड १९ को भ्याक्सिनको आवश्यकता पुर्ति गर्नेबारेमा भारतसँग छलफल भएको र भारतले नेपाललाई प्राथमिकतामा राखेको उनले जानकारी दिए । त्यसैगरी कोभिडका कारण बन्द रहेका हवाई तथा स्थलमार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडकअन्र्तगतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अघि बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उनले बताए । 

बैठकमा रक्सौल, काठमाडौँ रेलमार्ग  निर्माण कार्यको फिल्ड लोकेसन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले शीघ्र काम सुरु गर्ने सहमति भएको र भैरहवामा एकीकृत चेकपोस्टको काम शीघ्र सुुरु गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिए । महाकालीमा निर्माणाधीन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको पनि उनले बताए । 

बैठकमा भूकम्पपछिको पुनर्निमाणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको छ । नेपाल–भारतबीचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ । भ्रमणको क्रममा नेपालको निर्यात बढाउने ठोस उपाय अवलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ । 

कृषिमा थप सहकार्य गर्ने तथा जिटुजी प्रक्रियामा मल खरिद गर्ने एमओयूलाई गति दिने सहमतिलगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । आयोगको संयुक्त बैठक दुवै पक्षलाई अनुकुल हुने समयमा नेपालमा आयोजना गरिने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १८:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया