ओलीवाणी : प्रचण्डले जस्तै मान्छे मार्दै हिँड्न सक्दिनँ, योगेशले पुक्क लात्ती हानेरै भागे
कीर्ते गर्नेहरुले नै अदालतलाई धम्की दिँदै हिँडेको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी पार्टी भित्र भएको ‘कपटपूर्ण तमासा’ले व्यवधान श्रृजना गराएको बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहीनता बढ्दै गएको बताएका हुन्।

'हामो पार्टीमा जस्तो भाँडभैलो, अराजकता र अनुशासनहीनता संसारमा कहीँ देख्नुभएको छ? आफ्नै अध्यक्षका विरुद्ध टेलिभिजनमा गयो मनपरी बोल्यो। त्यत्ति अराजकता, त्यत्ति अनुशासनहीनता कही देख्नुभएको छ?,' उनले प्रचण्ड माधव समूहलाई संसदीय प्रणालीको अभ्यास र बहस गर्न सुझाव दिए। ओलीले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाउने काम गरिएकोमा रोष प्रकट गरे।

देश बर्बाद पार्न दिन्‍नँ

प्रधानमन्त्री ओलीले देश बर्बाद पार्न नपाएको चिन्ता मानेकाहरुले आफ्नो खुसीलाई देख्न नसकेको दाबी गरे। सरकारले सम्पूर्ण जनताको खुसीका लागि अभिभावककको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरुको प्रयास सफल हुन नदिने उनले दाबी गरे।

'केही मान्छेहरु कोकोहोलो मच्चाएर हिँडेका छन्। केहीलाई पिर पनि परेको छ। ओलीले संविधान च्यात्यो। कहाँ देख्नुभयो उहाँहरुले? संविधान च्यात्यो। धुजा धुजा पार्यो', उनले दाहाल-नेपालतिर लक्षित गर्दै भने, 'यस्तो देशै बर्बाद हुन लागेको बेला पनि केपी ओली मुस्कुराई राखेको छ। उहाँहरुले देश बर्बाद पार्न नपाएकोमा चिन्ता मात्रै हो। उहाँहरुले देश बर्बाद पार्न खोज्नुभएको थियो।'



उनले नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डतिर लक्षित गर्दै प्रश्न गरे, 'के म मान्छे मार्दै, विधुवा बनाउँदै। दुनियाँलाई रुवाउदै हिडुँ? विभत्स दृश्य हेरेर दुनियाँ रुवाएर, कसैको खेत खोसेको छ। कसैको पैसा खोसेको छ। रुवाउने पनि एउटा तरिका हुन्छ। नेपाली जनता हाँसेकोमा किन पिर परेको होला? रुवाउन खोजेका थियौँ। सक्दैनौँ। सकेनौँ। रुवाउन दिइने छैन।'

उनले लामो समय संघर्ष गरेर प्राप्त उपलब्धिलाई कसैको इसारा र स्वार्थका कारण गुम्न नदिने प्रतिवद्धता जनाए। उनले भने, 'देश प्रतिगमनतर्फ फर्कन सक्दैन। देश अगाडि बढ्छ।'



भिडियो

निर्वाचन नचाहने र सत्ता कब्जा गर्ने मनसायले अघि बढेकाहरुले निर्वाचनको विरोध गर्नुका साथै अदालतलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको उनले दाबी गरे। लोकतन्त्रका कुरा गर्ने तर निर्वाचनमा जान डराउनेहरु असली पार्टी आफूहरु रहेको भन्दै ओलीले निर्वाचन आयोग पुगेर चुनाव चिन्हमा दाबी गर्न पुगेको बताए। एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेकोहरुले सूर्य चिन्हमा दाबी गरेको बताए। उनले भने, 'सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस्।'

प्रधानन्यायाधीशलाई भेटेको छैन

प्रधानमन्त्री ओलीले न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिए। उनले भने 'मैले यसपटक मात्रै होइन , शायद कहिलेही भेटेको छैन।' उनले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गरे। उनले भेटघाटबारे समाचार छाप्ने सञ्ञ्चारमाध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको’संज्ञा दिए।

'न्यायप्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ। उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ?', उनले प्रश्न गरे। ओलीले मिडियामार्फत लोकतान्त्रिक संस्थाहरुमाथि हमला गर्ने काम भएको बताए।

'एउटा पत्रिका जो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ। हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ', उनले भने, 'आज फेरि पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ। लाज पनि लाग्न पर्छ। लोकतान्त्रिक संस्थाहरुमाथिको हमला।'

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधिसभाकी सांसद शशी श्रेष्ठले प्रश्‍न उठाएकी थिइन्। 

मन्त्रिपरिषद्को निर्णय

ओलीले केही विषय नपाएपछि मन्त्रीपरिषद्ले प्रतिनिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाईएको छैन भनेर टिप्पणी गरेको बताए। ‘मन्त्रिपरिषद्ले संसद विघटन गर्ने सम्बन्धमा गरेको निर्णयमा धारा खुलाइएको छैन,’ भन्नेहरुलाई उनले प्रश्न गरे। 'प्रतिनिधिसमा विघटन गरेर निर्वाचनमा जाँदा त्यसको निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारा, कुन ऐनको धारामा छ कुन नियमावलिमा छ? सर्वोच्चमा बहस गर्न जाँदा त्यत्ति त थाहा हुनुपर्छ नि,' उनले भने।

आफूहरुको किर्ते गर्ने चलन नभएको पनि बताए। उनले भने, 'साढे ३ बजे दर्ता गर्न लगेकोमा साढे १०:४० मै म कहाँ आएको थियो भनेर र्किते सनाखत गरेर चल्ने हाम्रो चलन छैन।' उनले प्रचण्ड माधव समुहले सर्वोच्च अदालतको हुर्मत लिने काम गरेको र संसद विघटन भइसकेको बेलामा निर्वाचन गराउन हुँदैन भनेर धम्की दिँदै हिँडेको बताए।

उनले भने, 'प्रतिनिधिसभा विघटन भइसक्यो। निर्वाचन गर्न हुदैन भनेको छ। देशलाई कहाँ लान खोजेको? ....अनि उहाँहरु धाक लगाउनुहुन्छ .... ‘नत्र हामी सडकबाटै यो गछौ त्यो गर्छौँ भनेर।' उनले पार्टीको बैठकमा सहभागी हुन पनि प्रचण्ड माधव समुहलाई आव्हान गरे।

प्रधानमन्त्रीले भने, 'परिस्थितिको आँकल गरिसक्नुभएको होला नि? अब आउनुहोस्। अध्यक्षको पद खोसेको छैन। आउनुहोस्। वरिष्ठको पद पनि खोसेको छैन। आउनुहोस्।'

पुस २९ गते काठमाडौंमा प्रचण्ड-माधव समूहले गरेको कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिको खण्डनमै अधिकांश समय खर्चेका ओलीले सरकारको विकासको चाहना र प्रयास असाधारण रहेको र त्यो अघि बढिरहेको पनि बताए। उनले अस्पताल उद्घाटन लगायतका कामहरुको फेहरिस्त प्रस्तुत गरे।

योगेशमाथि कटाक्ष 

ओलीले निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईमाथि कडा कटाक्ष  गरेका छन्। २०७४ मा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराईमाथि ओलीले व्यंग्य गरेका हुन्।

आफूले  हिजो चुनाव जिताउन सहयोग गरेका अन्य नेताहरु जस्तै प्रदेश १ को एउटा केटोले पनि अहिले आफूलाई छाडेर हिँडेको उनले बताए। 'दौडी दौडी गएर भोट मागिदिएर मन्त्री बनाएँ, उसका लागि अनेकथोक गरियो', उनले भने, 'तर बेइमानी केटोले एक दिन पुक्क लात्ताले हानेर भाग्यो, को रहेछ भनेर यसो हेरेको त त्यही केटो (योगेश भट्टराई) पो रहेछ।'

योगेशले आफूलाई छाडेर हिँडे पनि युवाहरुको कमी नभएको उनले बताए। 'हामी त्यस्तो कुरामा अल्झिदैँनौँ', उनले भने, 'एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन।'

  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १९:०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया