धनगढी उपमहानगरपालिकामा दृष्टि फाउन्डेसन चलाइरहेकी छन् कल्पना भट्ट। साढे तीन वर्षदेखि मानव सेवामा सक्रिय कल्पना असहाय र बेसहारा महिलाको सहारा बनेकी छन्। ३४ वर्ष पुगेकी कल्पनाको दिन अचेल असहाय दिदी बहिनीको स्याहारमै बित्ने गरेको छ। जीवनमा घर, परिवार त्याग गरकी उनको चिन्ता छ केवल दृष्टि फाउन्डेसनमा बस्ने असहायहरुको खाना र बस्नको कसरी जोहो गर्ने भन्ने।
डडेल्धुराको अमरगढी नगरपालिका–६ दमडा घर भएकी भट्टको नेतृत्वमा ११ जनाले दृष्टि फाउन्डेसन सञ्चालनमा ल्याएका हुन्। जनही १०–१० हजार उठाएको रकमले ३ वर्षदेखि फाउन्डेसन सञ्चालनमा छ। फाउन्डेसन मानवता पढाउने पाठशाला बन्दै गएको छ। फाउन्डेसन समितिका ११ मध्ये कल्पनालाई नियमित सहयोग गर्ने भने ४ जना छन्। चन्द्रादेवी तिरुवा, विनु चौधरी, तुल्सी भट्ट, ललिता चौधरीले उनलाई प्रत्यक्ष सहयोग गर्छन्।
हाल दृष्टि फाउन्डेसनमा ४० जना असहाय तथा सहाराविहीन व्यक्ति छन्। जसमध्ये ५ जना बच्चा, ३५ जना महिला छन्। ‘सहरका गल्लीमा बेवारिसे सडक मानव छन्। हामी घर परिवारमा बस्नेको दुःखको अगाडि उहाँहरूको पीडा केही पनि होइन।
एउटी महिला मानसिक सन्तुलन गुमाएर घरबाट निस्किसकेपछि उसको घर परिवार कोही हुन्न। ऊ समाजका नरपिपासुहरूबाट पटक–पटक बलात्कृत हुन्छे। उसको अस्मिता पलपलमा लुटिएको हुन्छ। उहाँहरूको लागि धेरै गर्न नसकिए पनि कम्तीमा पनि सानो छानोभित्र मिठो निन्द्रा, एक गाँस खाना र अस्मिता लुटिनबाट जोगाउनका लागि पनि लागेका छौं’, कल्पनाले भनिन्।
फाउन्डेसनमा ३ वर्ष पहिले ८ जनालाई विभिन्न स्थानबाट उद्धार गरेर आफ्नो कार्यको थालनी गरेको थियो। हालसम्म दर्जनौं महिलाहरू पुनर्जीवन पाएर फर्किसकेका छन्। फाउन्डेसनले साढे तीन वर्षको अवधिमा ४० महिलाको उपचार गरी निको भएपछि परिवारसँग पुनर्मिलन गराइसकेको छ। घर फर्किएकाहरू धेरै जस्तो केही न केही व्यवसाय गरेका छन्। दुई जनामा फेरि समस्या आएपछि घर पुनः फाउन्डेसनमा फर्केका छन्।
महिलाको दागबत्ती महिलाबाटै
फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका बेघर भएका असहायलाई आश्रय दिँदै आएको छ। उनका आश्रयमा आएकाहरू अधिकांश ठेगानाविहीन छन्। फाउन्डेसनमा औषधोपचारसँगै मनोपरामर्शकर्ताको सहयोगमा काउन्सिलिङ गर्दै आएको छ। फाउन्डेसनको आश्रयमै ज्यान गुमाएकाको अन्त्येष्टि फाउन्डेसनले नै गर्दै आएको हो। ३ वर्षमा ७ जनालाई आफूहरूले नै दागबत्ती दिएको भट्टले बताइन्।
अवसरलाई तिलाञ्जलि
खुसी हुनका लागि कल्पनासँग धेरै उपाय छन्। उसै पनि उनी राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन्। राजनीति शास्त्रमा एमफिल गर्दैछिन्। कुनै बेला एनजिओ, आइएनजिओमा जागिरे थिइन्। त्यसलाई तिलाञ्जलि दिई उनी मानसिक रोगीको सेवामा समर्पित भएकी हुन्।
उनैको मानवीय कर्मको प्रतिफल स्वरूप उनलाई गणतन्त्र दिवसको अवसरमा समाज सेवा रत्नबाट सम्मान प्रदान गरिएको छ। उनी मुलुकभरमै कान्छो समाजसेवीका रूपमा समाजसेवा रत्नबाट सम्मानित महिला बनेकी छन्। अहिले कल्पना बाँचुन्जेल जीवन जिउन सडकमा बेसहारा बनेकाको सहारा भएकी हुन्।
फाउन्डेसनको आहार, मुठीको सहारा
घरबाट निकालिएका, सडकमा भौतारिरहेका, मानसिक सन्तुलन गुमाएकाहरूको आश्रयस्थल हो दृष्टि फाउन्डेसन। एउटा परिवार पाल्नै त सास्ती हुने समयमा कल्पनाले ४० जनालाई आश्रय दिइरहेकी छन्।
उनले आफू सम्पन्न भएर फाउन्डेसन सञ्चालन गरेकी होइनन्। सानैदेखि मनमा समाजसेवा गर्ने भोक थियो। त्यसले उनलाई यो क्षेत्रमा ल्यायो। उनमा केही गर्नुपर्छ भन्ने मनमा हुट्हुटी थियो। त्यही हुट्हुटीलाई पूरा गर्न उनले फाउन्डेसनको स्थापना गरेकी हुन्। फाउन्डेसनमा रहेका भोका पेटहरूलाई पाल्न उनले मुठीदान अभियान चलाएकी छन्।
दानवीरहरूको घरबाट संकलन भएको मुठीदानले भोकाको पेट धान्न पुगेको छ।
निश्चित आर्थिक स्रोत केही नभएको फाउन्डेसन विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त हुने दान र मुठी दानबाट सञ्चालन हुँदै आएको छ। पछिल्लो समय फाउन्डसनमा पुगेर जन्मदिन, वैवाहिक वार्षिकोत्सव, आफ्न्तहरूका पुण्य तिथिमा दान गर्नेहरूको संख्या पनि उत्तिकै रहेको छ।
समाजसेवाको हुट्हुटी
एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि कल्पना काठमाडौं हानिएकी थिइन्। डिग्री पढ्दै गर्दा राजधानी बसाइका क्रममा कोसिस नामक संस्थामा काम गरिन्। त्यहाँ काम गर्दै गर्दा आब आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचिन्। र, धनगढीमा साढे तीन वर्ष पहिले फाउन्डेसनको जन्म भयो।
घर र समाजसँगको विद्रोह
उनी घरकी जेठी छोरी हुन्। उनका आफन्त र आमाको चाहनाविपरीत उनी हिँडिरहेकी छन्। कल्पनाले बिहे गरेकी छैनन्। परिवारका सदस्यहरू बिहे गरोस् चाहन्छन्। तर, कल्पनाले जीवनभर बिहे नगर्ने संकल्प लिएकी छन्। त्यही लडाइँका कारण कल्पनाको आमासँग बोलचाल नै बन्द भयो।
उनलाई समाज धेरै परिवर्तित भएको लाग्थ्यो। जब उनले तीन वर्ष समाजलाई नजिकबाट छाम्ने मौका पाइन्। तब बुझिन् कि समाज अझै पनि निकै रुढीग्रस्त र ढोंगी रहेछ। उनलाई केही व्यक्तिले यत्रो पढे लेखेर केही काम नपाएर बहुला मान्छे भेला पारेर बसेकी छ भन्दा उनको मन निकै दुख्छ। तर, त्यसलाई उनी एक कानले सुनेर अर्को कानले उडाउँछिन्।
योभित्र त्यस्ता केही व्यक्ति पनि छन्। जो निकै खुला हृदयका छन्। उनको कामको तारिफ गरिरहेका छन्। उनका कदमा कद मिलाइरहेका छन्। उनलाई प्रेरणा र ढाडस दिइरहेका छन्।
स्थानीयतहको सहयोग
उनलाई स्थानीय सरकारको पनि राम्रो सहयोग छ। धनगढी उपमहानगरपालिका र मेयर नृपबहादुर बडले निकै सहयोग गरिरहेको भन्दै उनले खुसी व्यक्त गरिन्।
नगरपालिकाले घरको भाडा तिरेर ठूलो गुन लगाएको कल्पनाले बताइन्।
कुनै महिला सडकमा बेवारिसे अवस्थामा भेटिए उनले नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहयोग लिन्छिन्। ती निकायका गाडीमा राखेर फाउन्डेसनसम्म महिलालाई ल्याउने गरेको उनले सुनाइन्।
उनले सहरमा मात्र नभएर विकट जिल्ला बझाङ, बाजुरामा ओडारमा बस्नेहरूको समेत उद्धार गरेकी छन्।
बेसाहाराको घर बनाउन खोज्दा स्थानीयको अवरोध
उपमहानगरले उपलब्ध गराएको जमिनमा घर बनाउन जग हाल्ने काम गर्दा गर्दै स्थानीयले अवरोध सिर्जना गर्दा काम स्थगित भयो।
भवन निर्माणका लागि प्रदेश सरकारले छुट्याएको बजेट समेत पनि फ्रिज भयो। ‘आफ्ना लागि नभएर समाजका असुरक्षित दिदीबहिनीको जीवन रक्षाका लागि गरिएको कार्य भएकाले सबै पक्षको सहयोग हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन,’ उनले भनिन्, ‘असुरक्षित दिदीबहिनीको रक्षा गर्ने प्रत्यक नागरिकको कर्तव्य हो नि ? तर, किन हो घर निर्माण गर्न दिएनन्।’
‘आमालाई सुख दिन सकिनँ’
कहिल्यै बिहे गर्ने सोच नबनाएकी उनले प्रतिष्ठानलाई नै आफ्नो बिहे र अलग्गै संसार ठान्ने बताइन्। उनलाई अहिले आफ्नो संस्थामा रहेकालाई सधैं मीठो, मसिनो खुवाउने चिन्ता हुन्छ। राम्रो लुगा लगाइदिने मन हुन्छ। कल्पनाका बुवाको निधन उनी सानै हुँदा भएको हो। सात कक्षामा अध्ययन गर्दै गर्दा बुवा गुमाएकी उनी घरको जेठी सन्तान हुन्।
उनका चार भाइबहिनी छन्, ‘हामीहरूलाई आमाले भैंसी पालेर दूध बेच्दै पढाउनु र हुर्काउनु भएको हो। हाम्रा लागि आकाश र धर्ती भनेकै मेरी आमा हुन्,’ उनले भनिन्, ‘एकल महिला भएर आमाले गरेको संघर्षले पनि मलाई असहाय महिलाको सेवा गर्न प्रेरित गरेको हो।’
उनले भनिन्, ‘मैले आमालाई खुसी पार्न सकेकी छैन।’ आर्थिक समस्याका कारण उनलाई आमाको शरीरमा एक सरो नयाँ लुगा र खुट्टामा चप्पल लगाइदिने धोको अधुरै छ। जन्मदिने आमाको ओठमा मुस्कान दिन नसके पनि अन्य आमाहरूका ओठको मुस्कानले उनलाई सन्तुष्ट दिइरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।