प्रचण्डवाणी : शाकाहारी आन्दोलनले पार लागेन, टाउको फुटाउन मन छ
युवाहरुलाई आक्रमक भएर सडकमा उत्रिन आग्रह

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन युवाहरुलाई निर्देशन दिएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै दाहालले शाकाहारी आन्दोलनले अब केही नहुने भन्दै आक्रमक भएर उत्रिन आग्रह गरेका हुन्। 

उनले ९ पुसमा हुने भनिएको आन्दोलनको पहिलो घेरामा आफूहरु बस्ने घोषणा गरे। युवाहरुलाई सम्बोधनका क्रममा आक्रोशित भएका दाहालले केही अप्ठ्यारा शब्द पनि बोलेका थिए । ‘खै ! मलाई आजभोलि मलाई के भएको हो? के चिलाएको हो? टाउको फुटाउन मन छ’, दाहालले भने, ‘उहिले गिरिजाबाबुले रत्नपार्कमा उत्रिएर टाउको फुटाउनु भएको थियो। अब उहाँ जस्तै म आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ । तपाईँहरूको रक्षाका लागि मेरो टाउको फुटाउन तयार छु।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन प्रतिगमन भन्दै उनले त्यसविरुद्ध आक्रमक आन्दोलन अघि बढाउन आग्रह गरे। अब साकाहारी जस्तो बनेर पार नलाग्ने पनि उनले बताए। ‘हामीले साकाहारी आन्दोलन धेरै गर्यौँ, कुनै फाइदा भएन', उनले भने, 'अब आक्रामक आन्दोलन गर्नुहोस्।’ 

अध्यक्ष प्रचण्डले लामो राजनीतिक आन्दोलनबाट प्राप्त नयाँ संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर आफूहरुमाथि आक्रमक हुनुपर्ने बाध्यता सिर्जना गरिदिएको भन्दै आवेश र आक्रोशसहितको जुझारु आन्दोलन गर्न युवाहरुलाई निर्देशन दिए। 

अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएपनि प्रधानमन्त्री केपी शर्मा ओली हाँस्दै हिँडेको टिप्पणी गरे। प्रधानमन्त्री ओलीले एकताको बेलाका सिद्धान्तलाई अतिक्रमण गरेको तथा पार्टीको सङ्गठनात्मक मूल्यमान्यता बाहिर गएको उनको भनाई छ। 



आफुहरुले भने कम्युनिष्ट आन्दोलनको एकताको प्रतिनिधित्व गर्न चाहेको अध्यक्ष प्रचण्डले बताए। आफुहरु मार्क्सवादप्रति निष्ठावान् हुँदै इमान्दार भएर अघि बढ्ने तथा आफूहरुको कम्युनिष्ट आदर्श तथा सिद्धान्त प्रति प्रतिबद्धता रहेको उनले स्पष्ट पारे। 

प्रधानमन्त्री ओलीलाई जनताले प्रधानमन्त्री बनाएको नभई पार्टीले प्रधानमन्त्री बनाएको उनको भनाइ छ। पार्टीको बहुमतको निर्णय मान्ने संसारभरको प्रचलन रहेपनि ओलीले पार्टीको बैठक छलेर हिँड्ने गरेको अध्यक्ष प्रचण्डले बताए।
ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको आरोप उनले लगाए ।



पार्टी एकता गर्दा समाजवादको पूर्वाधार निर्माण गर्नेतर्फ अघि बढ्ने भनिएको भएपनि प्रधानमन्त्री ओलीले सरकारको नीति, कार्यक्रम तथा बजेटको विषयमा कुनै कमिटीमा छलफल नगरी समाजवादउन्मुख बजेट ल्याउन नसकेको उनले बताए। अध्यक्ष प्रचण्डले केपी ओली प्रवृत्तिविरुद्ध मेजर अपरेशन आवश्यक रहेको बताए।

  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १७:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया