लेखक स्टिफन किंगकाे कथा
रद्दीको टोकरीबाट निकालिएको उपन्यास

उनका हरेक दिन बित्छन्, अक्सर उनलाई मनमा एउटा अविश्वासको अँध्यारो दिएर । तर, उनले तय भने गरिसकेका हुन्छन्, जसैगरी पनि लेखक बन्ने । उनले शब्दहरूमा प्राण भरेर त्यसलाई जीवन दिन भने सकिरहेका छैनन् ।

त्यसो त ती युवक शिक्षकले शिक्षक कथा र विभिन्न विषयमा लेख–आलेख यथेष्ट संख्यामा छपाइसकेका थिए । यति मात्र होइन उनका तीन–तीनवटा उपन्यास पनि प्रकाशित भइसकेका थिए । तैपनि उनले आफूलाई लेखकका रुपमा स्थापित गराउनै सकिरहेका थिएनन् ।

लेखनमा कति असफल ठहरिइसकेका थिए भने अब कुनै पनि प्रकाशक उनका सिर्जना छाप्न मानिरहेका थिएनन् ।

खुब मिहिनेत गरेर लेखेका आफ्ना सिर्जनाहरू सफल नहुँदा जतिसुकै बलियो मान्छे पनि निरुत्साहित हुन्छ, थकित र लखतरान हुन्छ । उनी पनि शारीरिक र मानसिक दुवै रुपमा थाकिसकेका थिए ।

उनलाई सफल लेखक मान्न कोही पनि तयार थिएनन् किनकि उनले त्यस्तो उपन्यास लेख्न सकेकै थिएनन्, जुन राम्रो होस् र त्यसको चर्चा होस् । 

निराशाको एक दिन उनले तीन पाना लेखे, एक कहानीको टुक्रा, जुन उनको आफ्नै मनले खारेज गरिदियो सायद, उनले ती पाना कच्याककुचुक पारेर डस्टबिनमा हालिदिए ।



उनको मगजमा नकारात्मक सोचहरु भरिएका थिए । यस्तो लाग्थ्यो, विचारको खडेरी परेको छ, भावहरुको अनिकाल लागेको छ, शब्दहरू रिसाएर कहिल्यै नफर्किने गरी टाढा भएका छन् ।

ती दिनताका उनलाई लाग्थ्यो, ‘शायद म यो संसारको सबैभन्दा ठूलो हरुवा हुँ । थाहा छैन, मेरो कहिले जित हुनेछ । संसारलाई पढाउनका लागि उनलाई एउटा कथा लेख्नु छ, तर सकिरहेकै छैनन् ।



उनले फालेका कागजका टुक्राहरूले डस्टबिन भरिसकेको थियो । आफूले लेखेको आफैँलाई मन परिरहेको थिएन । सकसपूर्ण समयबाट गुज्रिरहेका थिए, उनी ।

अर्को दिन उनकी श्रीमतीले केही कागजहरू लिएर नजिक आइन् र सोधिन्, ‘यो तिमीले लेखेको हो ?’

उनले टाउकाले इसारा गर्दै श्रीमतीलाई उत्तर दिए, ‘त्यसको काम छैन फ्याँकिदेऊ ।’

श्रीमतीले अलि रिसाउँदै भनिन्, ‘हुन्न यो राम्रो छ । किन फ्याक्ने ? बरु अगाडि लेख्दै जाऊ, यसलाई बढाउँदै जाऊ ।’

आफूलाई राम्रो नलागेर फ्याकेको कुरालाई कसैले फेरि उठाएर ल्याएर देखाएको उनलाई मन परेन । श्रीमतीको कार्यले उनलाई झोक चल्यो । चरम मानसिक थकानको आवेगमा उनले भने, ‘मलाई नराम्रो लागेर नै फालेको हुँ । फेरि किन ल्याएकी ?’

एक किशोरीको कहानी, जो लाचार पनि छे, शक्तिशाली पनि । ऊ आफू पनि रुन्छे र अरुलाई पनि डराएर रुवाउँछे । किशोरीको व्यवहार छिनछिनमा बदलिन्छ । ऊ छिनमै खुसी र छिनमै दुःखी हुन्छे । छिनमै देवीको अवतारमा प्रकट हुन्छे, छिनमै राक्षसको अवतारमा ।

संयोगवस टोकरीमा फ्याकिएको यो कथा एकदमै प्रख्यात भयो । श्रीमती टैबिथालाई मन परेर त्यसलाई फोहोरको टोकरीबाट नल्याएकी भए के हुन्थ्यो ? 

हरेक महिलाभित्र किशोरी र बचपना दुवै हुन्छ, यो सार बोकेको उक्त अधुरो कथा श्रीमती टैबिथालाई निकै मन पर्‍यो । कथा फेरि उनका अगाडि आयो । श्रीमतीले उनलाई भनिनन्, तिमी यो कथा लेख, स्त्रीसँग सम्बन्धित कुरामा म सहयोग गरुँला ।

उनले कथालाई अगाडि बढाउन सुरु गरे । कथामा घटना–परिघटना, पात्र तथा परिवेश जोड्दै गएपछि कथाले उपन्यासको रुप लियो । र, अन्ततः २०० पृष्ठको उपन्यास तयार भयो । तर, काम यतिमै सकिएन, संघर्ष चरिरह्यो ।

यो उनको चौथो उपन्यास थियो, जुन फोहोरको टोकरीबाट फर्किएको थियो । प्रकाशनको तयारीमा उनी लागे । उनी प्रकाशन गृह धाएनन् मात्र, धउँदाधाउँदा थाके पनि ।

३० भन्दा बढी प्रकाशकले त्यो उपन्यास छाप्न मानेनन् । उनको ठाउँमा अरु कोही हुँदो हो त ऊ थाकिसक्थ्यो होला, ऊ त्यसपछि प्रयास गर्दैन्थ्यो होला । तर, उनी थाकेनन् । उनलाई थाहा थियो– यो उपन्यास राम्रो बनेको छ, प्रकाशित भएपछि यसले मेरो जीवनमा नयाँ रंग ल्याउनेछ ।

अन्ततः त्यो दिन आयो, जब एक प्रकाशक २६ वर्षीय शिक्षक लेखक स्टिफन किंगको खोजीमा निस्किए । अभावग्रस्त किंगको घरमा टेलिफोन थिएन । उनले टेलिग्रामबाट जानकारी पाए कि उपन्यास ‘क्यारी’ छापिनेमात्र भएन, एडभान्स स्वरुप २५ सय डलर पनि दिइँदै छ । किताब प्रकाशित भयो र हजारौंको संख्यामा बिक्री भयो । केही समयपछि उनले पुस्तकको सर्वाधिकार बचे र करोडपति लेखक बने ।

हालसम्म स्टिफन किंगका २०० भन्दा ज्यादा कथा र ६१ उपन्यास प्रकाशित भइसकेका छन् । उनले लेखकका किताबहरू ३५ करोडभन्दा बढी प्रति बिकिसकेका छन् । किंग संसारका धनी लेखकको सूचीमा पर्छन् । 

जुन उपन्यास आफैँलाई मन नपरेर फोहोरको टोकरीमा फ्याकेका थिए, ३० भन्दा बढी प्रकाशकहरूले अस्वीकार गरेका थिए, त्यसैले उनलाई सफल लेखकका रुपमा स्थापित गरिदियो । त्यही उपन्यासले उनको जीवन परिवर्तन गरिदियो । ‘क्यारी’ उपन्यासमा आधारित भएर २०१३ मा सिनेमा बनेको छ । यो उपन्यासको चर्चा गर्ने हरेकले सोच्छन्, यो उपन्यास फोहोरको टोकरीबाट नउठाइएको भए ?

जीवनमा कहिलेकाहीँ फोहोरको डब्बामा फालिएका कुराहरु नै सर्वोत्कृष्ट बन्छन् । र, एक असल पाठक श्रीमतीले एक लेखकको जीवनमा धेरै ठूलो योगदान पुर्‍याउन सक्छिन् । 

भारतीय अनलाइन मिडिया लाइभ हिन्दुस्तान डटकममा मेरी कहानी ब्लग अन्तर्गत प्रकाशित भएको यो कथाको भावानुवाद

  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १५:३२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया