वर्षौंदेखि अघोषित लोडसेडिङको मारमा कर्णाली

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र जुम्लाले करिब ८ घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका सार्वजनिक गरेको छ । विद्युतको अत्यधिक माग तर साना जलविद्युत् आयोजनाबाट न्यून मात्रामा विद्युत् उत्पादन भएपछि समय तालिका तोकिएको हो । यसलाई नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ भन्न नमिल्ने बताएको छ । तर, अघोषित रूपमा हुने लोडसेडिङको मारमा छन्, जुम्लाबासी ।

जुम्लामा हाल जुगाड खोला साना जलविद्युत् आयोजनाबाट जम्मा २२० किलोवाट विद्युत् उत्पादन हुन्छ । उत्पादन न्यून भए पनि जुम्ला सदरमुकाम खलङ्गा बजार क्षेत्रमा मात्रै १ मेघावाटसम्म विद्युतको माग छ । 

नयाँ तालिका अनुसार अब हरेक दिन बिहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म विद्युत् पावर हाउस बन्द हुनेछ । विद्युत् जडान गरिएका समूह ‘क’ मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल र समूह ‘ख’ का विजय नगर ठूलो, विजय नगर सानो, बोहरा गाउँ, बसपार्क क्षेत्रमा त्यो समय तालिका लागू हुनेछ । हरेक साता समूह परिवर्तन हुने समेत बताइएको छ ।

साविक कर्णालीको जुम्लामा मात्रै नभएर डोल्पा, कालिकोट, मुगु, हुम्लाको समस्या पनि उस्तै छ । डोल्पा साना जलविद्युत् आयोजना, जैरीगाडमा एकदमै समस्या छ ।

दुईवटा युनिट रहेको उक्त ठाउँमा एउटा युनिटमा यसअघि नै बिग्रिएको छ भने एउटाबाट न्यून मात्रामा विद्युत् उत्पादन भइरहेको छ । डोल्पा २ सय किलोवाटको जलविद्युत् आयोजना भए पनि हाल ८० देखि ९० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरेको छ ।

दैनिक विद्युत दिउँसो ३ बजे जान्छ अनि बिहान एकै पटक ९ बजे आउने गरेका विद्युत् वितरण केन्द्र डोल्पाले जानकारी दिएको छ । जो विद्युत् जडान गरिएका क्षेत्रहरू दुनैमा एक दिन र जुफालमा अर्को दिन लागू हुन्छ । डोल्पाको दुनैमा ६५० र जुफालमा ८ सय घरधुरीले विजुली बत्ती जडान गरेका छन् ।



यस्तै कालिकोटको एक मात्र पोतमारा साना लघु जलविद्युत् आयोजनाको विद्युत् गृह नै पहिरोले बगाएपछि निर्माण हुन सकेको छैन । पेट्रोलियम पदार्थबाट चल्ने जेनेरेटर मार्फत् प्रतिघण्टा ४८ देखि ५० लिटर पेट्रोल खर्च गरेर दैनिक ६ घण्टा विद्युत् वितरण गर्ने गरिएको छ ।

विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेको साविकको कर्णालीका मुगु र हुम्ला जिल्लामा पनि यो समस्या उस्तै छ । नेपाल विद्युत् प्राधिकरणले नेपालमा लोडसेडिङको अन्त्य गरेको वर्षौँ भए पनि यी जिल्लाहरू वर्षौँदेखि लोडसेडिङको मार खेपिरहेका छन् । विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेका यी जिल्लाहरूको विद्युतको समस्या समाधानका लागि राष्ट्रिय प्रशारणलाईन नै अन्तिम विकल्प ठानिएको छ ।



हिउँदको समयमा चिसोका कारण नदीमा पानीको सतह घट्ने र विद्युत कम उत्पादन हुँदा समस्या उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र प्रसाद अग्रहरीले बताए । 

‘जुम्लाले सार्वजनिक गरेको समय तालिका लोडसेडिङ नभएर पावर हाउस बन्द गर्ने समय हो,’ उनले भने, ‘यो समस्या साविकको कर्णालीका अन्य जिल्लामा पनि हुन्छ । केही साना जलविद्युत् आयोजनाको पावर हाउसमा समेत समस्या उत्पन्न भएको छ । तिनमा मर्मतको काम भइरहेको छ ।’

  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १९:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया