उच्च शिक्षाका लागि विकसित तथा राम्रा विश्वविद्यालय भएका देशहरु सधैं नेपाली विद्यार्थीको गन्तव्यका रुपमा रुचाइएका छन् । यो स्वभाविक पनि हो, ज्ञानका लागि मानिसको भोक कहिल्यै पनि मर्दैन ।
सदियौँदेखि विश्वमा मानिसहरुमा देखिएको प्रचलन नै हो– राम्रो पढौँ, ज्ञान आर्जन गरौँ र समयअनुसार आफ्नो र समुदायको विकास गरौँ ।
यही अर्थमा अहिले नेपाली विद्यार्थीहरु विदेशमा पढ्न गइरहेका छन्, उनीहरुले त्यहाँबाट ज्ञान लिइरहेका छन् । यो ज्ञानले पूर्णरुपमा एउटा विद्यार्थीको व्यक्तित्व तथा ज्ञानको विकासमा सहयोग गरिरहेको छ ।
यसरी ज्ञान बढाउने युवाहरुको अभिलाषामा सहयोगी बनेका छन्, नेपालमा शैक्षिक परामर्श कम्पनीहरु ।
पछिल्ला वर्षमा बढ्दो विदेशी विश्वविद्यालयमा पढ्न चाहने ट्रेन्ड बढिरहँदा यसले देश विकासमा पुर्याएका अवसरहरुलाई पनि हामीले बिर्सनु हुँदैन । प्राविधिक विषय तथा व्यवहारिक ज्ञानका लागि विदेशका विश्वविद्यालय तथा कलेजहरुप्रति देखिएको सम्मोहन त्यसैले पनि अहिले चर्चा गर्नु पर्ने विषयमध्ये एक हो ।
हो, गत दशकको सुरुवातमा अहिलेको जस्तो विदेशमा गएर पढ्ने भन्ने धारणा पूर्णरुपमा विकास भइसकेको थिएन । फेरि विदेशमा गएर पढ्नु भनेको अत्यन्त धेरै खर्च लाग्नु हो भन्ने पनि बुझाइ थियो । तर, अब नेपालका मध्यम परिवारका सदस्यले पनि विदेशमा गएर पढ्न सक्ने अवसर पाउन थालेका छन् । फेरि शिक्षामा गरिने लगानी सधैं उपयोगी देखिएको छ, सुन्दर भविष्यका लागि यसको महत्व बढिरहेको छ । त्यसैले अहिले विदेशमा गएर पढ्न चाहनेको संख्या पनि बढ्न थालेको हो ।
विदेशमा भएका विश्वविद्यालयहरुमा हुने खोज तथा अनुुसन्धान, शैैक्षिक प्रणाली तथा त्यहाँका सशक्त र बलिया प्राविधिक पक्षहरुका कारण अहिले नेपालमा एसइई वा प्लस टु पछि विद्यार्थीहरुले विदेशमा पढ्न जाने योजना बनाउन थालिहाल्छन् । यसको प्रमुख कारण ग्लोबलाइजेसनलाई पनि लिन सकिन्छ । सूचना तथा प्रविधिको विकास हुँदै जाँदा अब विश्व हाम्रो औंलामा अटाउन थालेको छ । औंलमा हामीले विश्वको कुनै पनि कुनाको विषयमा जानकारी लिन सक्छौँ । शैक्षिक क्षेत्रमा पनि अवस्था यही हो । अमेरिकाको कुनै स्टेटको विश्वविद्यालय होस् या कलेज वा अष्ट्रेलिया वा बेलायतकै कलेजबारे पनि किन नहोस्, विद्यार्थीहरुले सम्पूर्ण जानकारी अहिले मोबाइल वा कम्प्युटरको स्क्रिनमा नै पाउँछन् । त्यहाँको वातावरण, त्यहाँ पढाइने शैली, त्यहाँ पढेका विद्यार्थीहरुको अनुभवबारे अहिले नेपालमा नै बसेर बुझ्न सकिन्छ । विश्वविद्यालय र त्यहाँको समुदायको विषयमा पूर्ण जानकारी लिइसकेपछि त्यसप्रति आकर्षण बढ्नुलाई स्वभाविक मान्न सकिन्छ ।
तर, विदेशमा पढ्न जाने भनेसँगै ब्रेन ड्रेन र ब्रेन गेनको विषयमा पनि अब विषयहरु निस्किन थालेका छन् । बहसमा यो पनि प्राथमिकतामा आउन थालेको छ । अहिलेका लागि यो विषय बहस गरिनु पर्ने विषय पनि हो । किनकि विदेशमा गएर लिएको ज्ञानलाई हामीले देशको विकासमा उपयोग गर्न सकेको खण्डमा मात्र हाम्रो शिक्षामा भएको लगानीको प्रतिफल राम्रो हुनसक्छ ।
यसरी विदेशमा लिएको ज्ञानका कारण त्यहाँ पढेर फर्किएका विद्यार्थीले देश विकास गरेका उदाहरणहरु प्रशस्त छन् । सिंगापुर र मलेसिया मात्र होइन, चीनले पनि कुनै समय विद्यार्थीहरुलाई ज्ञान बटुल्नका लागि विदेश पठाउने प्रचलन सुरुवात गरेका थिए । पछि उनीहरुले विदेशमा पढेर फर्किएका विद्यार्थीहरुलाई राम्रो अवसर दिए, त्यसले देशलाई थप विकास गर्न सहयोग पुग्यो । अर्थात्, हामीले पनि विदेशमा गएर लिएको ज्ञानलाई भोलि नेपालको विकासका लागि उपयोगी बनाउन सक्छौँ । यसलाई हामीले ब्रेन गेनको संज्ञा दिन सक्छौँ ।
विदेशमा गएर राम्रो विश्वविद्यालय वा कलेजमा पढ्ने र आवश्यक ज्ञान लिने एउटा पक्ष त छँदै छ, अहिले नेपाली विद्यार्थीहरु विशेषगरि कसरी विदेश जाने भन्ने विषयमा पनि सजग हुनु पर्ने अवस्था आएको छ । शैक्षिक परामर्श दिने कम्पनीहरुको संख्या बजारमा दिनहुँ बढिरहेको छ । अत्यन्त धेरै संस्थाहरु यो क्षेत्रमा फैलिँदै गर्दा यसमा अस्वस्थ प्रतिस्पर्धा पनि बढिरहेको छ । झन्, गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस महाव्याधिपछि यो अस्वस्थ प्रतिस्पर्धा थप बढ्ने हो कि भन्ने सम्भावना पनि बढ्दो छ ।
त्यसैले विदेशमा राम्रा शैक्षिक संस्थामा पढ्न चाहने विद्यार्थीले सबैभन्दा पहिले आफैं चनाखो हुनुपर्छ ।
यसका लागि दुई विकल्प हुनसक्छन् । पहिलो, आफू के पढ्न चाहेको हो भन्ने कुरामा विद्यार्थी क्लियर हुनुपर्छ । आफ्नो उद्देश्यमा क्लियर भएपछि र आफूले पढ्न चाहेको विषयमा कुन देशमा कुन विश्वविद्यालय वा कलेजले राम्रो पढाउँछन् भन्नेबारे थोरै रिसर्च गर्न सकिन्छ । त्यसका लागि अहिले इन्टरनेट नै निकै प्रभावकारी हुनसक्छ । इन्टरनेटमा विभिन्न आधिकारिक साइटहरु हुन्छन् जसले कुन देशको विश्वविद्यालयको स्तर के हो र त्यहाँ कसरी पढाइन्छ भन्ने विषयमा पूर्ण जानकारी दिइएको हुन्छ, रिभ्यूहरु राखिएको हुन्छ ।
आफू कहाँ पढ्ने, कुन विषय पढ्ने र किन पढ्ने भन्ने एउटा विद्यार्थीले निक्र्योल गरिसकेपछि नेपालमा त्यो विश्वविद्यालयको आधिकारिक परामर्श केन्द्र के हो भन्ने थाहा पाउन त्यति गाह्रो पर्दैन । शैक्षिक परामर्श केन्द्रको आवश्यकता किन हुन्छ भने एउटा विद्यार्थीले गरिसकेको रिसर्चलाई थप बलियो बनाउन र त्यसका थप आयामहरुबारे बुझाउन परामर्श केन्द्रले धेरै सहयोग गर्छ । जस्तो कि, आइटी पढ्न चाहने विद्यार्थीले इन्टरनेटमा हेर्दा अमेरिकालाई पहिलो गन्तव्यका रुपमा लिएको हुनसक्छन् । तर, अहिले आइटीमा राम्रो हब बनिसकेको छ, भारत । अमेरिका गएर पढ्ने त्यही कोर्षका लागि भारतमा पढ्दा कम शुल्क लाग्न सक्छ जसले विद्यार्थीको पढाइको सपना थोरै लागतमा पूरा गर्छ ।
अनि यसबारे राम्रो सल्लाह दिन्छन्, राम्रा शैैक्षिक परामर्श कम्पनीहरुले । त्यसैले अहिले बजारमा भएका र आधिकारिक परामर्श केन्द्रहरुबारे विद्यार्थीले बुझेर त्यसलाई आफ्नो छनोट बनाउन सक्छन् । यसका लागि कुुनै पनि कम्पनी कति लामो समय देखि काम गरिरहेको छ, उसको प्रोफाइल के छ, उसको आधिकारिकता के हो भन्नेबारे बुझ्न सकिन्छ । नेपालका राम्रा, विश्वसनीय र आधिकारिक परामर्श केन्द्रबारे विभिन्न विश्वविद्यालयले आफ्नो वेबसाइटमा नै आफ्ना एजेन्ट भनेर राखेका पनि हुन्छन् ।
त्यसैले, विदेश पढ्न जानु नराम्रो होइन, यो त भोलिको नेपालका लागि थप फाइदाजनक हुनसक्छ । तर, विदेश पढ्न जान चाहने विद्यार्थीले पहिले आवश्यक तयारी गर्नुपर्छ, सजग बन्नुपर्छ ।
(१९ वर्षदेखि युके, अष्ट्रेलिया, अमेरिका, भारतलगायतका देशका विश्वसनीय र आधिकारिक विश्वविद्यालयमा विद्यार्थीहरुलाई जान सहजीकरण गरिरहेको हब इन्टरनेसनल एजुकेसनकी सिइओ खड्का शैक्षिक परामर्श क्षेत्रमा लामो समय देखि कार्यरत छिन् ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।