फेरिँदै देउवा : निर्वाचन छाडेर संसद् पुन:स्थापना आन्दोलनतिर
महामन्त्री कोइराला भन्छन् : ओलीसँगभन्दा दाहाल-नेपालसँग मिल्दा राम्रो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनप्रति विस्तारै सकारात्मक बन्‍न थालेका छन्। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मध्यावधि निर्वाचनमा जोड दिँदै गएका देउवा विस्तारै आन्दोलनतर्फ मोडिन थालेका हुन्। 

प्रतिनिधिसभा विघटनपछि आगामी वैशाख १७ र २७ गतेका लागि सरकारले निर्वाचन मिति तोकेपछि त्यसलाई उपयोग गरेर बहुमत ल्याउने रणनीतिमा लागेका देउवा पछिल्लो समय फेरिएका हुन्। प्रतिनिधिसभा विघटनपछि विभाजित दुई नेकपाबीच सर्वोच्च अदालत र निर्वाचन आयोगमा कानुनी लडाइँ जारी रहेका बेला कांग्रेसले दुई चरणको आन्दोलन गरिसकेको छ। 

निर्वाचन क्षेत्रस्तरीय आन्दोलन गरिसकेको कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह ओलीले घोषणा गरेको निर्वाचनप्रति सुरुदेखि नै सकारात्मक थिएनन्। तनहुँमा पराजित पौडेलका लागि चाँडै प्रतिनिधिसभामा फर्किने यो मौका हुन सक्थ्यो। तर पौडेल ओलीले निर्वाचन गर्ने नियत नै नराखेको अडानसहित प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा उभिएका छन्। 

तर पौडेलको ठीक विपरीत ध्रुवमा उभिएर निर्वाचनको वकालत गरिरहेका सभापति देउवाले पनि पछिल्लो समय बोली फेर्न थालेका हुन्। सभापति देउवा पछिल्लो केही दिनयता प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनप्रति सकारात्मक बन्दै गएका छन्।

पौडेलसँग वार्ता, आन्दोलनमा जान तयार 

मंगलवारका लागि बोलाइएका केन्द्रीय समिति बैठक स्थगितको सूचना सोमवारै निकालेर सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास पुगेका थिए। त्यहाँ देउवा र वरिष्ठ नेता पौडेलबीच एक घण्टासम्म 'वन टु वन' वार्ता भएको छ। दुई नेताबीच भएको त्यो गोप्य वार्ताले कांग्रेस वृत्तमा तरंग ल्याएको छ। 



पौडेलसँगको संवादका क्रममा देउवाले आफू आन्दोलनमा जान तयार रहेको बताउँदै त्यसका लागि पौडेललाई पार्टीको महाधिवेशनसँग सम्वद्ध केही विषयमा लचिलो भइदिन आग्रह गरेका थिए। पौडेलनिकट स्रोतका अनुसार प्रतिनिधिसभा विघटनपछि लिएको अडानबाट देउवा 'यु टर्न' भएको जस्तो देखिएको छ। 

संयुक्त आन्दोलन !



देउवालाई अघिल्लो बुधबार साँझ नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देउवालाई बूढानीलकण्ठमै भेटेर संसद विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने प्रस्ताव गरेका थिए। त्यस भेटका क्रममा देउवाले कांग्रेस एक्लै आन्दोलनमा गइसकेको बताउँदै तत्काललाई नेकपाका दुवै समूहसँग सहकार्य हुन नसक्ने जवाफ दिएका थिए। 

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका लागि दाहाल-नेपाल समूहले कांग्रेस, जनता समाजवादी पार्टी र राप्रपासँग समेत मोर्चाबन्दी कोसिस गरिरहेको छ। प्रतिनिधिसभा विघटनको एक महिना पुगिसक्दा पनि आन्दोलनको उभार नआएपछि दाहाल-नेपाल समूहले  कांग्रेसको साथ खोजिरहेको छ। तर देउवाले सहकार्यसहितका कुराबारे पार्टीका नेताहरुसँग सम्वाद नगरी केही भन्न नसकिने जवाफ बूढानीलकण्ठमा दिएपछि दाहाल-नेपाल निराश भएर फर्किनुपरेको थियो।

शंशांकसँग डिनर 

दाहाल-नेपाललाई ठोस जवाफ नदिइ फर्काएका देउवाले त्यसलगत्तै कांग्रेस महामन्त्री शशांक कोइरालासँग शुक्रबार डिनर मिटिङ गरेका थिए। प्रतिनिधिसभा विघटनपछि वरिष्ठ नेता पौडेलसँगै आन्दोलनको अडान लिइरहेका शशांकलाई भेटेर देउवाले फकाउने कोसिस गरेको बताइएको छ।

प्रचण्डसँग वार्ता

त्यसपछि आइतवार मात्रै कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेता प्रदीप गिरीले दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डसँग लामो कुराकानी गरेका थिए। आइतवार  कांग्रेसका तीन नेताले प्रचण्डसँग  छलफल गरेपछि देउवाले सोमबार बिहानै निधि, सिटौला र गिरीसँग बूढानीलकण्ठमा छलफल गरेका थिए।

मुख्य प्रतिस्पर्धी ओली

तीनजना नेतासँगको  छलफलपछि देउवा त्यही दिउँसो वरिष्ठ नेता पौडेललाई भेट्न बोहोराटार पुगेका थिए। देउवासँग महामन्त्री शशांक पछिल्लो  समयमा तीन पटक छलफल गरिसकेका छन्। शशांकले आगामी निर्वाचनमा कांग्रेसको मुख्य प्रतिस्पर्धी नेकपा ओली समूह नै हुन सक्ने अनुमान गरेका छन्। 

'आगामी निर्वाचनमा हाम्रो मुख्य प्रतिस्पर्धी केपी ओली नै हुन्', महामन्त्री कोइरालाले फरकधारसँग भने, 'त्यहीकारण अहिले हामी नेपाल-प्रचण्डसँगै मिलेर आन्दोलनमा जानुपर्नेमा जोड दिएका छौँ।’उनले निर्वाचनमा मुख्य प्रतिस्पर्धी हुने ओली समूहसँग मिलेर अघि बढेमा फाइदा नहुने निष्कर्ष निकालिएको  बताएका छन्। 

५ पुसमा प्रधानमन्त्री ओलले संसद् विघटन गरेपछि सभापति देउवा निर्वाचनको लाइनमा थिए। तर उनी इतर समूह आन्दोलनको पक्षमा बलियो रुपमा खडा भएपछि देउवाले संसद् पुन:स्थापनाका लागि आन्दोलनमा सहमति जनाएका थिए। 

देउवाले त्यसबेला संसद पुन:स्थापन गराएर निर्वाचनमा जाने लाइन अघि सारेका थिए। इत्तर समूहले सुरुदेखि नै आन्दोलनमा जोड गरेपछि देउवाले बाध्य भएर केन्द्रीय समिति बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। 

तीन एजेण्डा 

प्रधानमन्त्री ओलीले संसद विघटन गरेको एक महिनाबीचमा देउवाले महामन्त्री कोइरालासँग तीन पटकसम्म एक्लै छलफल गरेका छन्। देउवासँग तीन चरणमा मुख्य गरी तीनवटा विषयमा छलफल भइरहेको महामन्त्री कोइरालाले बताए।

संसद विघटनसँगै नेपकपा दुई समूहमा बाँडिएपछि प्रदेश एक र बागमती सरकारविरुद्ध दाहाल-नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । महामन्त्री कोइरालाले यी दुईवटा प्रदेशमा कांग्रेसको सरकार बन्‍ने सम्भावना रहेकाले त्यसबारे आफूहरु आन्तरिक छलफलमा रहेको बताएका छन्।

त्यसैगरी प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई अझै प्रभावकारी बनाउनेबारेमा पनि देउवासँग कुराकानी भइरहेको कोइरालाले जानकारी दिएका छन्। देउवासँगको छलफलको अर्को एजेन्डा पार्टीको चौधौं महाधिवेशन हो।

कांग्रेसले आफ्नो महाधिवेशन यही फागुनमा गर्ने भनेको थियो। तर कोरोना संकटसहितको कारण देखाउँदै सभापति देउवाले महाधिवेशनको अर्को मिति वैशाख या भदौलाई तोक्नुपर्ने बताउँदै आएका छन्। तर कांग्रेसले अझै पनि महाधिवेशन मिति तय गर्न सकेको छैन। 

  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १३:२२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया