logo-img

दाहाल-नेपाल विरोधसभा : प्रतिबन्धित विप्लव समूहमाथि प्रहरीको निगरानी
प्रचण्डको आक्रमक भाषणपछि प्रहरी सतर्क

काठमाडौं : नेकपा दाहाल-नेपाल समुहले संसद विघटनविरुद्ध आक्रमक शैलीमा सडकमा जाने घोषणा गरेसँगै प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि कडा निगरानी बढाएको छ।

दाहाल-नेपाल समुहले ९ पुसमा गर्न लागेको विरोधसभामा विप्लव समूहको घुसपैठ हुन सक्ने रिर्पोटिङ प्रहरीलाई आइपुगेको छ । यही सूचनालाई विश्लेषण गरेपछि प्रहरीले विप्लव समूहविरुद्ध विशेष रणनीति तय गरेको हो।

नेकपा दाहाल-नेपाल समूहको भीड व्यवस्थापनसँगै प्रहरीले पुस ९ मा विप्लव समूहका कार्यकर्ताको गतिविधिमाथि समेत कडा निगरानी गर्न विशेष टोली नै खटाउने तयारीमा गरेको छ।

दाहाल-नेपालको जुलुस भइरहँदा विप्लव समूहले अशान्ति फैल्याउने जोखिमलाई मध्यनजर गरी विशेष टोली परिचालन तयारी भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार पछिल्लो समय विप्लव समूहले आफ्ना गतिविधि उपत्यका केन्द्रित गरेको छ। त्यहीकारण उसका नेता कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन्। 

यही साता विप्लवका पश्चिम कमाण्डर धर्मेन्द्र बाँस्तोलासहित केही नेता ललितपुरबाट पक्राउ परेका थिए। त्यसको ठीक अघिल्लो दिन दलित मुक्ति मोर्चाको उपत्यका ब्यूरोका नेता वृखबहादुर बोहारालाई पनि प्रहरीले पक्राउ गरेको थियो।

विप्लवका नेता कार्यकर्ता उपत्यकाबाटै धमाधम पक्राउ पर्न थालेपछि उसको रणनीति विश्लेषण गरेर प्रहरीले योजना बनाएको हो। 



विप्लवको मोर्चा

विप्लव नेकपाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनका लागि मोर्चा नै बनाएको छ। अर्थात् विप्लवहरु पनि अहिले संसद विघटनविरुद्धको आन्दोलनमा छन्।  यसका लागि विप्लव, मोहन वैद्य, ऋषिराम कट्टेल र आहुति नेतृत्वका पार्टीहरूबीच मोर्चा बनाएर ओलीको कदमविरुद्ध संयुक्त आन्दोलनमा जाने निर्णय भइसकेको छ।



सरकारद्वारा प्रतिबन्धित समूहसँग शान्तिपूर्ण राजनीतिमा रहेका दलले कार्यगत एकता गरेपछि प्रहरी झस्किएको छ। प्रहरीले कार्यगत एकता गरेका नेताहरूमाथि पनि निगरानी बढाउने निचोड निकालेको छ। विप्लव नेतृत्वको नेकपाका माथिल्लो तहका नेताहरु काठमाडौंबाटै पक्राउ परिरहेका छन्।

प्रचण्डको भाषण 

दाहाल-नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन कडा हुने आइतवार बताएका छन्। उनले यस पटकको आन्दोलनमा आफू लाठी खान तयार रहेको भन्दै त्यही अनुसार तयारी गर्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन्।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अनेरास्ववियु (दाहाल-नेपाल) समूहको उपत्यकाव्यापी भेलामा सम्बोधन गर्दै प्रचण्डले अब आक्रमक भएर आन्दोलित हुनुपर्ने बताएका थिए। दाहाल-नेपाल समूहले संसद विघटनविरुद्ध माघ ९ गते काठमाडौँ उपत्यकामा २ लाख मानिस उतारेर प्रदर्शन गर्ने बताएको छ। आफू उक्त आन्दोलनको अग्रपंक्तिमा उभिएर लाठी खान तयार रहेको कुरा प्रचण्डले बताएका थिए।

२०६२/६३ को दोस्रो जनआन्दोलनमा गिरिजाप्रसाद कोइराला र माधव नेपाल लगायतले जस्तै यसपटक आफूलाई लाठी खान मन लागेको उनले बताएका थिए। ‘मेरो टाउको चिलाएको हो कि के हो, यसपटक लाठी खान मन छ’, उनले भनेका थिए।

प्रचण्डले यसो भनेकै दिन हुम्लामा माओवादीबाट वडाध्यक्षमा विजयी भएर पछि ओली समूहमा लागेका जनप्रतिनिधिमाथि निर्घात कुटपिट गरिएको थियो। उनीमाथि नेकपा-दाहाल नेपाल समूहले आक्रमण गरेका खुलेको छ। 

प्रचण्डको आक्रमक भाषणले झडपको सम्भावनालाई थप बलियो बनाएको छ। प्रहरीले द्वन्द्वकालमा सँगै रहेका प्रचण्ड-विप्लव यो आन्दोलनका क्रममा निकट हुन सक्ने अनुमान प्रहरीको छ। यही विश्लेषणका आधारमा प्रहरीले विप्लव समूहको निगरानीमा विशेष प्रहरी परिचालन गर्ने भएको हो।

  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया