कोरोना महामारीका कारण संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावासमा कन्सुलर सेवाहरू स्थगित भएको छ । दूतावासका अनुसार केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले कन्सुलर सेवाहरू स्थगन गरिएको हो ।
‘सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीमा कोभिड–१९ को संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्ने भएकाले राजदूतावासमा भौतिक रूपमा उपस्थित भएर लिनुपर्ने कन्सुलर सेवाहरू मंगलबारदेखि केही दिनका लागि स्थगन गरिएको छ,’ सोमबार एक सूचना जारी गर्दै दूतावासले उल्लेख गरेको छ ।
कन्सुलर सेवाअन्तर्गत राहदानी, यात्रा अनुमतिपत्र, भिसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणीकरणलगायत अन्य कागजात प्रमाणीकरण सेवा स्थगन गरिएको दूतावासले जनाएको छ । ‘कर्मचारीहरु संक्रमणमुक्त भएको सुनिश्चितता गरी स्थगित सेवाहरू यथाशीघ्र पुनः सुचारु गरिनेछ,’ सूचनामा उल्लेख छ ।
दूतावासका अनुसार अत्यन्त जरूरी एवं भौतिक उपस्थितिविना लिन सकिने सेवा भने यथावत् प्रदान गरिनेछ । त्यसका लागि दूतावासमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।