ओलीले प्रचण्ड र मलाई जेल हाल्न खोजेका थिए, अब मुक्ति पायौँ : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जेल हाल्ने योजना बनाएको बताएका छन्। बुधबार आफूनिकटसहितका सम्पदाकहरुसँगको कुराकानीका क्रममा उनले ओलीबाट आफूहरु धेरै पीडित भएको र दु:ख पनि पाएको गुनासो गरेका हुन्। 

'पार्टी एक हुँदासम्म प्रधानमन्त्री केपी ओलीबाट धेरै पीडा पायौँ', उनले भने, 'अहिलेलाई त्यो दु:खबाट हामीले राहत पाएका छौँ, मुक्त भएका छौं।'

ओलीका कारण अनेक हण्डर भोगेर आफूहरुको बिजोग नै भएको उनले  बताएका हुन्। 'हाम्रो त बिजोग नै भयो नि! ओलीबाट धेरै पीडा र दु:ख पायौँ। मनको बह कसलाई कह! भनेर बसेका थियौं', उनले सुनाए, 'केपीले एकताको प्रस्ताव ल्याएपछि उनको पेलान र हेपाहा प्रवृतिबाट मुक्ति पाइने आशा थियो तर एकतापछि फेरि विधि मिचियो, हामीलाई पेलियो, हेपियो दु:ख दिनुसम्म दिइयो।'

ओलीका लागि विधि मिचेर ठाउँ ठाउँमा बैठक बस्दै हिँडेको पनि उनले बताए। 'अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भयो', उनले भने, 'अब अहिले हामी ओलीबाट मुक्त भएका छौँ, अब दु:ख पाउँदैनौँ।’

नेता नेपालले प्रधानमन्त्री ओलीले बालुवाटारस्थित ललिता निवास जग्गा विक्री प्रकरणमा आफू र पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले जेल हाल्ने योजना बनाएको दाबी गरे। 'प्रधानमन्त्रीले प्रचण्डजी र मलाई जेल कोच्ने योजना बनाएका थिए', उनले भने, 'पहिलो नम्बरमा मलाई जेल कोचेपछि प्रचण्डलाई जेल हाल्ने योजना बनाइसकेका थिए। ललिता निवास प्रकरण त्यहीँको योजनाबाट आएको थियो।’

आफू केपी ओली जस्तै नभएको पनि उनले जिकिर गरे। 'केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ, मेरो मनमा पीडा हुन्छ', उनले अगाडि थपे, 'यदि मबाट गल्ती भएका छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन, मेरो आत्माले पनि मान्दैन।।’



यसैबीच नेपाल प्रहरीको अनुसन्धानबाट बालुवाटारस्थित ललिता निवास प्रकरणको सरकारी जग्गा हिनामिना गर्ने करिब ४ सय उच्च पदस्थसहितविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने ठहर गरिसकेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले करिब एक सय ४३ रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका तत्कालीन खरिदारदेखि मुख्यसचिवसहित डेढ सय कर्मचारी, पूर्वमन्त्री, ललिता निवासका तत्कालीन भोगाधिकारी, व्यापारी र भूमाफियालाई प्रतिवादी बनाएर किर्ते अभियोगमा मुद्दा चलाउनुपर्ने सुझाव दिइसकेको छ।



  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार ११:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया