प्रधानमन्त्रीमा मेरो दाबी हुँदैन, शेरबहादुर देउवालाई समर्थन गर्छु : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्री पदमा दाबी नगर्ने बताएका छन्। मंगलबार साँझ प्राइम टाइम टेलिभिजनसँग कुरा गर्दै उनले प्रधानमन्त्रीमा आफ्नो दाबी नहुने बताएका हुन्। 

अन्तरवार्ताका क्रममा उनले भावी प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई अघि सारेका हुन्। उनले आफूले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेर जान सक्ने बताएका हुन्। संविधान र प्रणाली बचाएर जनतालाई स्थायित्व र विकास दिने शर्तमा देउवा वा देउवाले भनेका नेतालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको प्रचण्ड बताएका छन्। 

‘शेरबहादुर देउवाजी अहिले नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। कांग्रेस संसदीय दलका नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई अप्ठ्यारो छैन', उनले अगाडि भने, 'हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो। उहाँले भनेकै अनुसार समझदारीमै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो।’

प्रचण्डले प्रधानमन्त्री ओलीले ओलीले आफूलाई सिध्याउने उद्देश्यले अहिलेको कदम चालिरहेको आरोप लगाएका छन्। उनले ओलीमाथि जालझेल र षड्यन्त्रकारीको आरोप लगाए । ‘केपीजीको एकमात्र उद्देश्य प्रचण्डलाई सिध्याउने रहेछ', उनले भने।

संविधानलाई कुल्चने काम भएको र हत्या नै गर्न खोजिए देश अराजकताको भुँमरीमा फस्ने खतरा उनले औल्याए । आफू मूलधारको राजनीतिमा आइसकेको बताउँदै उनले ओलीको कदमविरुद्ध उत्रिँदा दमन गर्न खोजिए अराजकता निम्तन सक्ने बताए ।

ओलीले देशमा राजा फर्किन नसक्ने पनि बताए । राजावादी सलबलाएको प्रश्नमा उनले भने,‘सलबलाउनेहरु सलबलाइरहन्छन्, इतिहासको चक्का पछाडि फर्कँदैन।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने पनि उल्लेख गरे। उनले धेरै सघर्ष गरेर ल्याएको गणतन्त्रको शिशुको हत्या गर्न खोजिए सहन नसक्ने बताए।





  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १२:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया