आर्थिक अभावमा पूरा हुन नपाएको मिलन नेवारको त्यो सपना........

गुहाटी र आसामको यात्रा, दैनिक ४ घण्टाको हिँडाइ । प्रत्येक पाइलामा छोडिएका गीत÷संगीतका सपना । त्यही सपनासँगै सडकपेटीमा बिताएका रात । आज पनि ताजा तस्वीर भएर नाच्छन् मिलन नेवारका आँखामा । त्यसैले त जिन्दगीका कयौं सपना टुट्दा पनि टुट्न दिएकी छैनन् गायनसँगको मोह ।

धेरैले धेरै खाले सपना देख्छन् जीवनका र भविष्यका । तर, कति सपना बग्छन् आँखाबाट आँसु भएर भने कतिका सपना हराउँछन् हिँड्दाहिँड्दैको यात्रामा । कतिले पूरा गर्छन् आफ्ना सपना र भाग्यशाली बनाउँछन् आफूलाई । तिनै भाग्यशाली मानिसको भीडमा आसाम हुँदै नेपाल आइपुगेकी हुन् मिलन ।
संगीतिक परिवारमा जन्मे हुर्केकी मिलनको सपना बालखैबाट गीतसंगीत नै बन्यो । मिलनकी आमाको गला निक्कै कर्णप्रिय थियो । भात भान्छा र कताकति आमाको मधुर धुन सुन्दै हुर्केकी मिलन मामाघर पुग्दा मामाले बजाएको सुरिलो बेन्जुको धुनमा मन्त्रमुग्ध हुन्थिन् । अहिले बेन्जु बाजा हरायो । उनलाई मावली हराए झैँ भएको छ ।

छुट्न त धेरै चिज छुटेर गए मिलनको जीवनबाट । तर, करियरको सुरुवातमै छुटेको एउटा सपना, जो आज पनि बिझाउन आइरहन्छ मिलनको सम्झनामा ।

सन् २००३ मा ‘सारेगमप’ नामक शोका लागि सीडीमा आफ्नो आवाज भरेर पठाएकी मिलनलाई स्वरले साथ दिएको थियो । तर, शोका लागि मुम्बई जानुपर्थ्यो । त्यहाँ लाग्ने खर्च पनि आफ्नै । लगभग ५० हजार चाहिन्थ्यो उनलाई । 

‘त्यो बेला त्यहाँ गएर बस्नका लागि पैसा थिएन,’ संघर्षको त्यो समय सम्झँदै मिलन भन्छिन्,  अहिले ठूलो रकम होइन, त्यो बेला आर्थिक अभावले ५० हजार खर्च गर्न सक्ने अवस्था भएन ।’ 

मिलनको सपना त्यही शोबाट बलिउडको संगीतिक बजारमा आफ्नो उपस्थिति जनाउने थियो । तर, त्यो सपना र सपनाको सुन्दर बाटो आर्थिक अभावले रोकियो । उनलाई आज पनि त्यो सपनाको माया लागेर आउँछ । उनी बेला बेला झस्किन्छिन् । उता पनि राम्रो नाम कमाउने उनको सपना ताजै छ । 





  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १४:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया