मेयरको शाक्यको आरोप : गगन थापाले नै कमल पोखरीमा कंक्रिट हाले

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुन:निर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताएका छन्। 

आज काठमाडौँ महानगरपालिका नगरसभाको आठौँ अधिवेशनलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘हामीले तयार पारेको ड्रोइङ-डिजाइन, हामीले गर्न खोजेको कामलगायतका बारेमा त्यहाँको सबै वस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौँ,’ शाक्यले भने, ‘काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि हामी त्यसको सत्यतथ्य जानकारी दिन तयार छौँ।’

उनले कमलपोखरीको डिजाइन त्यस क्षेत्रका तत्कालीन संघीय सांसद  गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ-संस्था सबैसँग पटक-पटक छलफल गरेर सबैको सहमतिमै पुनर्निर्माणको काम अघि बढाएको पनि जानकारी दिए।  

‘वास्तुविदहरुसँग पनि हामीले पटक-पटक छलफल गरेर उहाँहरुको सुझाव अनुसार नै काम अघि बढाएका हौँ,’ उनले भने, ‘पुनर्निर्माणको काम अहिलेसम्म सकिसक्नु पर्ने हो। हामीले ठेकेदार कम्पनीलाई पनि पटक-पटक ताकेता दिएर समयमा काम सक्न निर्देशन दिएका थियौँ। तर, अहिले विभिन्‍न आरोप लगाएर अवरोध गरिएको छ।’ 

पुरातत्व विभागले निर्माण कार्य रोक्नु भनेर आदेश दिए पनि महानगरपालिकाले पालना नगरेको भन्दै समाचार आइरहेको भन्दै त्यसप्रति पनि ध्यानाकर्षण भएको बताए। 

‘पुरातत्वले हामीलाई काम रोक्नु भनेर आदेश नदिएको जानकारी गराउन चाहन्छु। उहाँहरुले त्यहाँबारे आएको समाचारका सन्दर्भमा सामान्य ध्यानाकर्षण गराउनु भएको हो,’ शाक्यले भने, ‘तर, त्यहि कुरा पनि एउटा सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वय नै नगरी सञ्चारमाध्यममा प्रचार गर्ने कुरा गलत छ। पुरातत्वले पत्र हामीलाई पठाएर हामीसँग समन्वय गर्ने हो। हामीलाई भन्दा पहिला सञ्चारमाध्यमलाई जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत छ। त्यसैले हामी उहाँहरुलाई त्यो बारेमा पनि ध्यानाकर्षण गराउँदै छौँ।’ 



सांसद थापाले पनि मेयरलाई पत्र पठाएको भन्दै सञ्चारमाध्यममा अनावश्यक प्रचार गरेको आरोप लगाए।  ‘मैले उनले पठाएको पत्र अहिलेसम्म प्राप्त गरेको छैन। मलाई पठाएको भनेको पत्र बारेको समाचार पढेर र सुनेर मात्रै थाहा पाएँ,’ उनले भने, ‘ पुरातत्वले काम रोक्नु भन्दा-भन्दै रातारात पोखरीमा डोजर चलाएको भनेर पनि समाचार आएका छन्। मैले ठेकेदारहरूसँग त्यो विषयमा जानकारी लिएको छु। उहाँहरुले प्रचार गरे जस्तो होइन रहेछ।’ 

अहिले विभिन्न सञ्चारमाध्यममा कमलपोखरी मिचियो, त्यहाँ कंक्रिटको प्रयोग गरेर सम्पदा मास्ने काम भएको समाचार आइरहेको भन्दै कमलपोखरीको जमिन १ इन्च पनि नमिचिएको उनले दाबी गरे।



‘कमलपोखरी पुन:निर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको छ,’ शाक्यले भने, ‘पुन:निर्माणकै क्रममा करिब पाँच रोपनी क्षेत्रफलमा रहेको महानगरीय प्रहरी वृत्त कमलपोखरीलाई अन्यत्र सार्दा कमलपोखरी आसपासको क्षेत्र स्वतः बढेको छ। हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ। कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ।’

उनले सम्पदा मासेर कंक्रिट प्रयोग भयो भनेर प्रचारप्रति पनि ध्यानाकर्षण भएको बताए। ‘त्यहाँ त्यस्तो प्रचार गरे जस्तो छैन। हामीले त्यहाँ चार कुनामा मौलिकता झल्किने गरी सम्पदाको पनि संरक्षण गर्दै कला र संस्कृतिलाई जोड्ने गरी चारवटा मण्डप बनाउन खोजेका छौँ। त्यहाँ पनि महानगरपालिकाले सम्पदा मास्यो भनेर प्रचार गरिएको छ,’ ‘उहाँहरुले भने जस्तो कंक्रिट नै कंक्रिट नभई मौलिकतालाई जोगाउँदै निर्माण गर्न लागेका हौँ। त्यहाँ पनि केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर समाधान गर्न तयार छौँ।’  

उनले सुरुमै सबै डिजाइन माननीय थापालाई देखाएको स्मरण गराए। ‘त्यतिबेला पनि उनले आफू निर्वाचित भएको क्षेत्रको पोखरीलाई व्यवस्थित बनाउन महानगरपालिकाले ल्याएको योजना सफल बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो,’ उनले भने, ‘उहाँहरुले त अझ त्यहाँ सभा गर्न मिल्ने गरी मञ्च नै बनाउनु पर्ने प्रस्ताव गर्नुभयो। मैले नै त्यसो नगरौँ भनेपछि पछि हट्नु भएको हो।’ 

पहिला पनि त्यहाँ सांसद थापालगायतको पहलमा विभिन्‍न चरणमा ढुंगा छाप्ने, सिँढी बनाउने काम भएको आरोप शाक्यले लगाए। उनले त्यहाँ महानगरपालिकाले काम गर्नुभन्दा अघि नै कंक्रिटसहितको संरचना निर्माण भएको बताए।  

‘लामो समयदेखि ढलपोखरीका रुपमा रहेको सो पोखरी पुन:निर्माणसँगै त्यहाँका स्थानीय औधी खुशी भएका छन्,’ उनले भने, ‘स्थानीयको अहिले पनि अवरोध छैन। उनीहरु बाहिरका मान्छे आएर चाहिनेभन्दा बढी प्रचार गरी अवरोध गर्ने काम भएकोमा बरु असन्तुष्ट बनेका छन्। हामी अहिले पनि काम गर्ने सन्दर्भमा कमजोरी रहेछ भने छलफल गर्न तयार छौँ।'

  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार २२:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया