प्रधानाध्यापकको हत्यामा संलग्‍न विप्लवका कार्यकर्ता पेस्तोलसहित पक्राउ

काठमाडौं : मोरङको मिक्लाजुङ गाउँपालिका-१ निवासी सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नमध्ये एकजनालाई प्रहरीले  बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल उपनामका धनबहादुर विक रहेका छन्। 

उनलाई मोरङकै बूढीगंगा गाउँपालिका-४ मा स्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन्। प्रधानाध्यापकको हत्यापछि फरार रहेका भनिएका विकलाई व्यापारी, उद्योगीहरुसँग रकम असुल्न धम्की दिइरहेको सूचनाका आधारमा एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने तीन थान म्यागजिनसहित पक्राउ गरिएको खड्काले बताए। 

३२ वर्षीय विकको संखुवासभाको साबिक मादी गाविस रामवेनी-७ हाल मादी नगरपालिका-४ ओखरबोटे हो। प्रहरीको लामो अनुसन्धानबाट गत मंसिर २३ गते बिहान मिक्लाजुङ गाउँपालिका-१ बर्खे निवासी प्रधानाध्यापकलाई घरबाट जंगलमा लगेर घाँटी रेटी हत्या गर्नेमध्ये एकजना विक पनि रहेको खड्काले बताए।

श्रेष्ठको हत्यामा विकको संलग्नता पुष्टि भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। ‘शिक्षक श्रेष्ठको लाश सनाखतका क्रममा उनलाई घरबाटै अपहरण गरी लाने क्रममा उनी पनि रहेको पुष्टि भएको छ,’ खड्काले भने, ‘अब शिक्षक श्रेष्ठ हत्या प्रकरणमा संलग्न अन्यबारे पनि अनुसन्धान गरी पक्राउ गर्न सजिलो भएको छ।'

श्रेष्ठको हत्याको जिम्मेवारी विप्लव नेकपाले नै लिएको थियो। उनीमाथि पार्टीविरुद्ध सुराकी गरेर कयौँ कार्यकर्ता पक्राउ गराएको आरोप विप्लव नेकपाले लगाएको थियो। तर प्रहरीको अनुसन्धानबाट श्रेष्ठको हत्या खसी र १० हजार चन्दा नदिएका कारण भएको खुलेको थियो।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार ११:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया