राष्ट्रपति जो बाइडेन : यस्ता छन् पहिलो दिनका सात ठूला निर्णय
ट्रम्पका निर्णय उल्टाए, मास्क अनिवार्य, पेरिस सम्झौतामा जाने

वासिङ्टन : जो बाइडेन बुधवार अमेरिकाको ४६औँ राष्ट्रपति भएका छन्।  ४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले विदा लिएसँगै पदबहाली गरेका उनी तत्कालै एक्सनमा आएका छन्। उनले पहिलो दिनमै सात ठूला निर्णय गरेका छन्। त्यसैगरी १७ कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन्। उनले सबैभन्दा पहिले सबै अमेरिकीले अनिवार्य मास्क लगाउनैपर्ने निर्देशनमा हस्ताक्षर गरेका छन्।

पहिलो पटक राष्ट्रपति कार्यालय (ओभल अफिस) पुगेर बाइडेनले सञ्चारमाध्यमलाई भने, ‘मैले कयौँ काम गर्नुछ, त्यहीकारण म यहाँ छु। मलाई लाग्छ मसँग समय विल्कुलै छैन। समय खेर फाल्न सक्दिनँ। तुरूत काम शुरू गर्न जाँदैछु। मैले पहिले नै भनिसकेको छु, अघिल्ला सात दिनमा कयौँ कार्यकारी निर्देशिकमा हस्ताक्षर गर्नेछु।'

राष्ट्रपति बनेलगत्तै ७ ठूला निर्णय

सबैभन्दा पहिले उनले कोरोना भाइरसलाई लिएर जारी गरिने अर्डरमा हस्ताक्षर गरे। यस अर्डरबाट मास्कलाई संघीय कानुनसरह घोषित गरियो। अब अमेरिकामा हरेक व्यक्तिले महामारीका क्रममा अनिवार्य मास्क लगाउनुपर्ने छ। यदि तपाईं सरकारी कार्यालयमा हुनुहुन्छ या स्वास्थ्यकर्मी हो भने सामाजिक दूरी कायम गर्नुपर्नेछ। यसअघि ट्रम्पले मास्कमा कुनै कडाइ गरेका थिएनन्। 

बाइडेनले ७ मुस्लिम देशहरु इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनमाथिको यात्रा प्रतिबन्ध हटाइदिएका छन्। ट्रम्पले सन् २०१७ मा यो प्रतिबन्ध आफ्नो कार्यकालको पहिलो साता लगाएका थिए। यो मामिला अमेरिकी उच्च अदालतमा पनि पुगेको थियो। जसलाई अदालतले कायमै राखिदिएको थियो।

अब अमेरिका फेरि विश्व स्वास्थ्य संगठनको सदस्य हुनेछ। बाइडेनले अघिल्लो साल जुलाईमा अमेरिकाले विश्व स्वास्थ्यलाई बलियो बनाए मात्रै आफू पनि सुरक्षित हुने बताएको थियो। राष्ट्रपति बनेको पहिलो दिनमै अमेरिकालाई विश्व स्वास्थ्य संगठनको सदस्यका रुपमा पुन: लैजाने निर्णय उनले लिएका छन्। ट्रम्प अघिल्लो साल अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट झिकेका थिए।



अमेरिका अब पेरिस सम्झौतामा पनि फेरि सहभागी हुनेछ। ट्रम्पले सन् २०१९ मा यस सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए। उनले  भारत, चीन र रुसले तीव्र गतिमा प्रदूषण बढाइरहेको आरोप लगाएका थिए। उता अमेरिकाले यस मामिलामा राम्रो काम गरिरहेको उनले बताएका थिए। उनले यस सम्झौताबाट बाहिरिएपछि ७० वर्षमै पहिलो पटक तेल र प्राकृतिक ग्यासको नम्बर १ उत्पादक बनेको जिकिर गरेका थिए।

बाइडेनले मेक्सिको सीमाको पर्खाल निर्माण पनि रोकिदिएका छन्। ट्रम्पले मेक्सिकोबाट आउने प्रवासीलाई रोक्न भन्दै अग्लो र विशाल पर्खाल लगाउने भनेका थिए। त्यस्तै उनले मेक्सिकोको सीमामा लगाइएको राष्ट्रिय आपत्काल पनि हटाइदिएका छन्। 



अमेरिकाले क्यानाडासँग विवादित किस्टोन एक्सएल पाइपलाइन सम्झौता तत्काललाई रोकिदिएको छ। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बाइडेनको यो निर्णयप्रति दु:ख जनाएका छन्। ट्रम्पले सन् २०१९ मा क्यानाडासँग जोड्ने गरी १९ सय किलोमिटर लामो तेल पाइपलाइन बनाउने सम्झौता गरेका थिए। 

बाराक ओबामा प्रशासनले पनि पर्यावरण समूहको विरोधपछि यस पाइपलाइनको निर्माणमा प्रतिबन्ध लगाएका थिए। पर्यावरण समूहले पाइपलाइन कारण क्रूड आयल निकाल्न थालिँदा ग्रिन हाउस ग्यास उत्सर्जन १७ प्रतिशत बढ्ने बताएका थिए।

भाषणमा हिंसाबारे बोले

बाइडेन जुनियरले क्यापिटल हिलमा भएको शुभारम्भ समारोहमा सपथ लिए। उनले १२८ वर्ष पुरानो बाइबलमा हात राखेर ईश्वरको नाममा सपथ लिएका हुन। १४ दिनअघि क्यापिटल हिलमा भएको हिंसाबारे पनि बाइडेनको भाषणमा सुन्न पाइयो। उनले २२ मिनेटमा २३८१ शब्दको भाषण दिए। जसमा १२ पटक डेमोक्रेसी, ९ पटक युनिटी (एकता), ५ पटक असहमति र ३ पटक डर शब्दको प्रयोग गरे।

ट्रम्पमाथि निशाना 

बाइडेनको शुभारम्भ भाषणमा मुख्य निशाना थिए पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प। उनले आफूलाई राष्ट्रपति पद सम्हाल्न नदिन अनेक प्रयत्न गरेको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गरे। ७ जनवरीमा भएको हिंसाबारे उनले उनले भने, 'आज हामी जहाँ उभिएका छौं, त्यहाँ केही दिन पहिले भीड थियो। उनीहरुले हिंसाबाट जनताको इच्छा बदल्ने चेस्टा गरे। लोकतन्त्र रोकिदिन्छु भने, हामीलाई यस पवित्र स्थानबाट हटाइदिन्छु भने तर यस्तो केही भएन। न आज, न भोलि उनीहरुले चाहे जस्तो हुनेछैन।' 

  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १२:३६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया