काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले देश अब निर्वाचनमा गइसकेको बताएका छन्। ओली समूहनिकट प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'नेपाली समाज नयाँ निर्वाचनतर्फ गइसकेको छ। प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ', उनले भने, 'तर अब प्रतिनिधिसभा पुन:स्थापनाको कुनै सम्भावना छैन र हुनै सक्दैन। संविधानको धारा ७६ को ७ र धारा ८५ ले पाँच वर्षअघि नै प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको छ।'
पौडेलले प्रतिनिधिसभा पुन:स्थापना भए पनि त्यसले सरकार बनाउन नसक्ने उनले तर्क गरे। 'प्रतिनिधिसभा पुन:स्थापना भएमा बहुमत सदस्यको अभावमा सरकार दिन सक्दैन। त्यसैले हामी ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचनमा जाँदैछौं', उनले भने, 'पाँच वर्षपछि त निर्वाचन हुनै पर्ने बाध्यता छ। सुरक्षा निकायका प्रमुखहरु निर्वाचन गर्न तयार र सक्षम छौँ भनिरहेका छन्।'
दाहाल-नेपाल समूहप्रति लक्षित गर्दै उनले निर्वाचन आयोगलाई दबाब नदिन पनि आग्रह गरे। 'केही साथीहरुले बडो विचित्रको अभ्यास गरिरहेका छन्। निर्वाचनको तयारी नगर्नुस् भन्दै दबाब दिइरहेका छन्। कुनै व्यक्ति या गुटको दबाबले निर्वाचन आयोग पछि हट्न मिल्दैन', उनले भने, 'निर्वाचन र निर्वाचनको सम्भावित परिणामबाट तर्सिएर निर्वाचन रोक्ने होइन, रोक्न जाने होइन। निर्वाचनको दिशामा मुलुक गइसकेको छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।