बागमतीले बगाएको हमालको क्रेज फर्काउला सत्यमले ?

लामो समय ठूलो पर्दामा नदेखिएका राजेश हमालले केही वर्षअघि चलचित्र ‘बागमती’मा अभिनय गरे । हमालको चित्रले चलचित्रको पोस्टरमा ठूलै ठाउँ ओगट्यो । राजेश हमालको कमब्याक भनेर राम्रै चर्चा पनि गरियो । तर, बागमतीले हमालको क्रेजलाई स्वात्तै पारेर बगायो । त्यसपछि चलचित्र ‘शकुन्तला’मा महिला भनेर अभिनय गर्दा पनि हमालले आफ्नो पुरानो क्रेज पर्काउन सकेनन् ।

त्यसयता हमाल पुनः ठूलो पर्दामा देखिएका छैनन् । उनी बरु पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त देखिएका छन् । उनै हमाल अब चलचित्र ‘सत्यम’ मार्फत् ठूलो पर्दामा देखिने तयारीमा छन् । रेसम सापकोटाले निर्माण गर्न लागेको यो चलचित्रमा अनुबन्धित हुनुअघि हमालले ३० भन्दा धेरै चलचित्रको स्क्रिप्ट पढेको बताएका छन् ।

‘बागमती’ र ‘शकुन्तला’को असफलतापछि आएका प्रस्तावबाट तर्किएका हमालले ‘सत्यम’को कथाले आफूलाई छोएको बताएका छन् । यो चलचित्रमा अनुपविक्रम शाहीले भिलेनको भूमिका निर्वाह गर्ने छन् । चलचित्रले आफ्नो देशले चिन्न नसकेका प्रतिभाहरुको कथा भन्ने निर्माता सापकोटाले बताए ।

चलचित्रको पटकथा चुस्त बनाउन हमालले पनि साथ दिएको सापकोटाले बताए । पछिल्लो समय म्युजिक भिडियोमा निक्कै देखिन थालेका हमालले ‘सत्यम’ फ्लोरमा गएसँगै म्युजिक भिडियो नखेल्ने सहमति समेत गरेका छन् ।

‘सत्यम’का लागि उपासना सिंह ठकुरीसँग कुरा भइरहे पनि अहिलेसम्म नायिकाको भने टुङ्गो लागेको छैन । नायिकाका लागि अडिसन गर्ने रेसमको तयारी छ । अभिनेता पल शाह र पुष्प खड्कामध्ये एकजनालाई चलचित्रको दोस्रो अभिनेताका रुपमा लिने तयारी भइरहेको छ । शंकर कार्कीले निर्देशन गर्ने यो फिल्मका लागि ३ करोड लगानी लाग्ने रेशमको कथन छ ।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १३:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया