विष्णु पौडेलको चुनौती : प्रचण्डले प्रधानमन्त्रीविरुद्धको एउटा आरोप पुष्टि गरून्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृ‌त्व गरेको नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सत्ता कब्जा गर्ने योजना पूरा नभएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टी फुटाएको आरोप लगाएका छन्। 

ओली समूहनिकट प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै देश र सत्ता कब्जा गर्ने प्रचण्डको योजना बिफल भएको बताएका छन्। 'भदौको स्थायी कमिटी बैठकले कुरा मिलाइ नसक्दै, त्यसको मसी नसक्दै पार्टी भित्र अनेक समस्या देखिए। पुष्पकमल दाहालजीले प्रथम अध्यक्ष केपी  शर्मा ‌‌ओलीविरुद्ध आरोप पत्र पेश गरे', उनले भने, 'उहाँले जुन प्रकारका आरोपहरु लगाउनुभयो, प्रधानमन्त्रीविरुद्धका ती कुनै पनि आरोप उहाँले पुष्टि गर्न सक्नु हुन्न। पुष्टि गर्ने सामर्थ्य उहाँसँग छैन।'

पौडेलले प्रधानमन्त्रीविरुद्ध पेश गरिएको १९ पृष्ठ लामो आरोपपत्रको एउटा बुँदा पनि प्रचण्डले पुष्टि गर्न नसक्ने बताए। 'प्रचण्डजीले उक्त आरोपपत्रका कुनै पनि बुँदा पुष्टि गर्न सक्नु हुन्न', उनले भने, 'प्रचण्डको सत्ता र देश कब्जा गर्ने योजना बिफल भएको छ। तर नेकपा औपचारिक रुपमा विभाजित भएको छैन, अब विभाजन टारेर टार्न सकिँदैन।'

प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन खोजे पनि असफल भएको उनले बताए। 'सरकार र पार्टीमा समस्या भएको भए, त्यहीँबाट समाधान खोजिनुपर्थ्यो', उनले भने, 'दलको नेता परिवर्तनका लागि उहाँहरुले आँट गर्नु भएन। दलको बैठक उहाँहरु बस्न नै तयार हुनु भएन। उहाँहरुले त्यो कुरा गर्नु नै भएन। बरु अनेक बहानामा संकलित हस्ताक्षरसहित संसदमा अविश्वास प्रस्ताव दर्ता गरे।' 

उनले सम्बोधनका क्रममा वैशाखमा हुने चुनावबाट ओली नेतृत्वको नेकपा बहुमत प्राप्त दलको रुपमा उभिने दाबी गरे। त्यो निर्वाचनमा आफूहरु संलग्न नेकपा सबैभन्दा ठूलो दल बन्ने पनि उनले बताए। 
 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १३:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया