‘प्रचण्डलाई चुनाव लड्नै पर्दैन : आफैं टीको लगायो अध्यक्ष भयो’

ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले नेकपा प्रचण्ड-माधव पक्षका नेता पुष्पकमल दाहाल प्रचण्ड चुनावै नलडी अध्यक्ष हुने गरेको बताएका छन् । उनले पार्टीभित्र लोकतान्त्रिक प्रणालीको विकास गर्नुको सट्टा अधिनायकवादी सोचका साथ काम गरेको आरोप लगाए । ‘प्रचण्डलाई कहिल्यै चुनाव लड्नु पनि पर्दैन । आफैं टीको लगायो अध्यक्ष बन्यो’, उनले भने, ‘पार्टीको संसदीय दलको बैठक बोलाएर नेता परिवर्तन गर्न सकेपछि उहाँहरु सडकमा पुग्नु भएको छ ।’

उनले संविधान र सिस्टमको रक्षाका लागि नयाँ जनादेशमा जानु अग्रगमन भएको बताए । ‘आफ्नो सरकारलाई ढालेर सडकमा जानू पश्चगमन हो’, उनले भने, ‘प्रधानमन्त्री ओलीलाई ढालेर सडकमा पछार्न खोज्नुभएको थियो तर उहाँहरु आफैं पछारिनुभयो ।’ 

रायमाझीले प्रचण्डमा युद्ध र आन्दोलनको धङधङी बाँकी रहेकैले मांसाहारी आन्दोलन गर्ने धम्की आइरहेको बताए ।

प्रचण्डले लोकतान्त्रिक प्रणाली स्वीकार नगरी पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि आफैं बन्छु भन्ने महत्त्वाकांक्षा भएकैले विघटित संसदको दलको नेता समेत बनेको बताए ।

प्रचण्ड र माधववीचको एकता दिगो नरहने बताउँदै ‘एकजना नेता साह्रै जड, अर्को नेता साह्रै अस्थिर । अनि उहाँहरुबीच कसरी मिलाप हुन्छ ?’ उनले प्रश्नराखे ।

‘पार्टी संसदीय दलको नेता हुन केही विधि र प्रकृयाहरु छन् । कसैलाई मन लाग्यो रे भन्दैमा कार्की पार्टी प्यालेसमा गएर नेता हुन्छ ? केपी ओली सर्वसम्मत, हामी सबैले, पार्टीले बनाएको नेता हो’, उनले भने ।



जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि केपी शर्मा ओली नै विकल्प भएको उनले बताए । ‘अरुले छाडिसके । सबै गफ मात्रै हो । केपी ओलीलाई आरोपपत्र लगाएर सत्तामा पुग्छु भन्नेहरु पछारिएर सडकमा पुगे । तिनीहरुले अब केही गर्दैनन्’, उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा जनयुद्धका घाइते योद्धाहरुको पक्षमा काम गर्नुभयो । जनयुद्धका नायक हुँ भन्नेहरु पनि प्रधानमन्त्री भएका थिए, खै त उनीहरूले जनयुद्धका योद्धाहरुको पक्षमा काम गरेको ?’



  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १७:२७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया