कांग्रेस जस्तै अलमलमा जनता समाजवादी, अब के गर्ला ?
सर्वोच्चको निर्णय कुर्दै शीर्ष नेता

–५ पुसमा महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा विज्ञप्ति निकालेर संसद् विघटनको विरोध।
–५ पुसमा प्रदेश २ मा जसपाको विरोध प्रदर्शन।
–६ पुसमा काठमाडौँमा उपलब्ध कार्यकारिणी सदस्यहरुको बैठकले ८ पुसमा संसद विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय।
–७ पुसमा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक। बैठकले १२ गतेसम्मका लागि थप विरोधका कार्यक्रम सार्वजनिक।
–९ पुसमा जसपाका नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले सभामुख अग्नि सापकोटालाई भेटेर संसद बैठक बोलाउन माग। 
–१३ पुसमा जसपाको शीर्ष नेताहरुको बैठकले १५ सहरमा आमसभासहित ७ माघसम्मका दोस्रो चरणको विरोध कार्यक्रम घोषणा। 

बुधबार ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेपछि जसपाको दोस्रो चरणको विरोध कार्यक्रम सकिएको छ। ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्टपतिले प्रतिनिधिसभा भंग गरेर निर्वाचन घोषणा गरेपछि जसपाले तत्काल विरोध गरेको थियो।  

त्यही दिन जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर संसद भंगलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध जनाएका थिए। जसपाले विज्ञप्ति निकालेर विरोध मात्रै गरेन त्यही दिन साँझ औपचारिक घोषणा नगरी विरोधमा पनि उत्रियो। प्रदेश २ को सबैजसो सहरमा जसपासम्वद्ध युवाहरुले प्रदर्शन गरे।

त्यसपछि ६ पुसमा शीर्ष नेताहरुले बैठक गरेर ८ गतेका लागि देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरे। त्यसपछि १२ गतेसम्मका लागि पहिलो चरणका विरोध कार्यक्रम गर्दै जसपा औपचारिक रुपमा सडकमा ओर्लियो। 

१२ गतेको विरोध कार्यक्रम सकिए लगत्तै पुन १३ गते जसपाका अध्यक्षद्वय ठाकुर र यादवले पुर्व देखि पश्चिम सम्मको १५ प्रमुख शहरहरुमा आमसभासहितका दोस्रो चरणको कार्यक्रम घोषणा गरे। ७ माघसम्मका लागि विभिन्न कार्यक्रम घोषणा गरेको जसपाले काठमाडौँमा सबै दलसहित नागरिक समाजसँग पनि सबैभन्दा पहिले अन्तक्रिया गर्यो। 

यसरी ७ माघ सम्मको २ चरणको विरोध कार्यक्रम गरेको जसपाले अब के गर्छ त ? नेताहरु भने फेरि शीर्ष नेताहरुको बैठकले नै त्यसबारे ठोस जवाफ दिने बताउँछन्। ७ माघको विरोध कार्यक्रमका लागि काठमाडौ बाहिर गएका शीर्ष नेताहरु ११ गतेसम्म मात्रै काठमाडौँ फर्कने कार्यतालिका रहेको जसपा पार्टी कार्यलयले जनाएको छ।



जसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले अब शीर्ष नेताहरु काठमाडौ फर्केपछि थप कार्यक्रमबारे निर्णय हुने बताए। अहिले जसपाका अध्यक्ष महन्थ ठाकुरबाहेक सबै शीर्ष नेताहरु उपत्यका बाहिर छन्। 

कांग्रेस जस्तै दोधार 



संसद विघटनपछिको राजनीतिक अवस्थालाई लिएर जसपा नेपालमा कांग्रेस जस्तै द्विविधा देखिएको छ। संसद विघटन भएर आउँदो वैशाखमा सरकारले निर्वाचन गराउने घोषणा गरिसकेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस जस्तै निर्वाचनमा सिधै जाने कि आन्दोलनमार्फत संसद पुन:स्थापनातर्फ अघि जाने भन्नेमा जसपाका नेताहरुमा अलमलमा छन्। यद्यपि जसपा विरोध कार्यक्रममा कांग्रेसभन्दा अगाडि देखिएको छ।
 
निर्वाचन स्वीकार

जसपाका अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमै सर्वोच्च अदालतले संसद विघटनको मुद्दालाई सदर गरेर निर्वाचनमा जाने आदेशमा दिए त्यो मान्य हुने बताएका छन्। केही समयअघि भैरहवामा आयोजित विरोधसभालाई सम्बोधन गर्ने क्रममा ठाकुरले संसद विघटन गलत भए पनि निर्वाचनबाट आफूहरु पछि नहट्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। 

जसपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव संसद पुन:स्थपनाको विकल्प नै नभएको जिकिर गरिरहेका छन्। अर्का वरिष्ठ नेता राजेन्द्र महतो भने ठाकुरको लाइनमै उभिएका छन्। यद्यपि जसपाका नेताहरु आफूहरूमा समस्या नरहेको दाबी गरिरहेका छन्।

कार्यकारीणी समिति सदस्य झाले जसपाले दुई चरणमा गरेको विरोध कार्यक्रमले पार्टीलाई तल्लो तहसम्म नै चलायमान बनाएको भन्दै विरोध प्रदर्शनले पार्टीलाई फाइदा पुगेको विश्लेषण गरे। उनले यसले संसद पुन:स्थापनमा दबाब पनि सिर्जना गर्ने गरेको उनले बताए। यदि निर्वाचनमै जाने निर्णय भएमा त्यसमा पनि सघाउने निष्कर्षमा जसपा नेतृत्व रहेको उनले बताए। 

जसपमा जस्तै निर्वाचन कि संसद पुनःस्थापना भन्ने बहसमा कांग्रेस पनि रुमलिएको छ। जसपाका कतिपय शीर्ष नेताहरू सर्वोच्चले गर्ने फैसलाले धेरै कुरा निर्धारण भएकाले त्यसै कुरेर पनि बसिरहेका छन्। 

  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १८:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया