काठमाडौं उपत्यकामा पछिल्लो समय आत्महत्या गर्ने प्रवृत्ति बढेको पाइएको छ । प्रहरीको तथ्यांकमा दैनिक एकजनाले आत्महत्या गरेको देखिन्छ । आत्महत्या मात्र होइन, आफन्तबाट हत्या हुने क्रम पनि डरलाग्दो रूपमा बढेको देखिन्छ । श्रीमतीले श्रीमान्को हत्या गर्ने, दम्पतीले सँगै आत्महत्या गर्ने घटना पनि बढिरहेको छ । पछिल्लो दुई साताका बीचमा उपत्यकामा दुई जोडी दम्पती र एकजना पुरुष गरी ५ जनाले आत्महत्या गरेका छन् ।
केही उदाहरण हेरौँ
काठमाडौंको बालकुमारी क्षेत्रमा बिहीबार बिहानै एकजना पुरुष मृत अवस्थामा पासोमा भेटिए । बालकुमारीनजिकैको पुलनिरको सडकको वालमा घाँटीमा पासो लगाएको अवस्थामा उनको शव भेटियो । उनले गलबन्दीको पासो लगाएर आफैँ आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, यो आत्महत्या नै हो अथवा हत्या हो भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको कोटेश्वर प्रहरी प्रमुख राजन लामाले बताएका छन् । प्रहरीको अनुसार रमाइलो भन्ने नामले चिनिने अन्दाजी ३५ वर्षीय पुरुष मृत फेलापरेका हुन् ।
यस्तै, पुसको अन्तिम साता राजधानीको टोखामा एक दम्पती मृत अवस्थामा फेला परे । सो घटनामा श्रीमतीले श्रीमान्लाई मारेको र त्यसको १२ घण्टापछि आफूले पनि आत्महत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
टोखाको ग्राण्डी भिल्लामा मृत फेला परेका श्रीमान् उमेश केसी र श्रीमती सुदीक्षा गिरीको बाहिरबाट हत्या नभएको पोस्टमार्टम रिपोर्टले पनि देखायो । पहिले श्रीमान्को हत्या गरेर महिलाले आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
यस्तै घटना ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि दोहोरियो । यही माघ ५ गते एक दम्पती आफ्नै निवासमा मृत अवस्थामा भेटिए । ललितपुर प्रहरीको प्रारम्भिक अनुसन्धानमा दुवैजनाले विष सेवन गरेर आत्महत्या गरेको देखिन्छ ।
यी घटना त प्रतिनिधिमूलक मात्रै हुन् । महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीको तथ्यांकअनुसार उपत्यकामा मात्रै चालू आर्थिक वर्षको सात महिनामा पौने दुई सयभन्दा बढीले आत्महत्या गरेका छन् ।
उपत्यकामा प्रत्येक महिना २६ जनाबाट आत्महत्या
चालू आर्थिक वर्षको सात महिनामा उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा गरी १८६ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।
साउनदेखि माघ महिनासम्ममा काठमाडौंमा १२८, ललितपुरमा ३३ र भक्तपुरमा २५ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांक छ । यो तथ्यांकलाई केलाउँदा उपत्यकामा प्रत्येक महिना २६ जनाभन्दा बढीले आत्महत्या गरिरहेको देखिन्छ । अर्थात्, प्रत्येक दिनजसो एकजनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी झुण्डिएर तथा विष सेवन गरेर आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ ।
राजधानी काठमाडौंमै आत्महत्याको बढ्दो प्रवृत्तिले पछिल्लो समय सर्वसाधारणमा देखिएको निराशा र असन्तुष्टिलाई पटाक्षेप गरेको छ । सफलता र असफलताबीचको दूरीले पनि मानिसलाई आत्महत्याको बाटो रोजाउने प्रहरीको तर्क छ । महत्त्वाकांक्षा र अपेक्षाअनुसार व्यावसायिक तथा व्यक्तिगत जीवनमा आत्मसन्तुष्टि नमिलेपछि व्यक्ति डिप्रेसनमा गई अन्तिम अवस्थामा आत्महत्याको बाटो रोज्ने गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरको भनाइ छ । यसको न्यूनीकरणका लागि प्रहरी लागिपरेको प्रवक्ता कुँवर बताउँछन् ।
मानसिक तनावले आत्महत्या
मानिसमा आत्महत्याको प्रवृत्ति बढ्दै जानुमा मानसिक तनाव प्रमुख कारण रहेको मनोचित्सिकहरुको धारणा छ । मनोविद् अरुण कुँवरका अनुसार आत्महत्याका पछाडि आर्थिक र सामाजिक कारण जोडिएका हुन्छन् । उनका अनुसार आर्थिक कारणमा बेरोजगारी, वैदेशिक रोजगार र महिलामा आत्मनिर्भरताको कमी प्रमुख कारण हुन् ।
यस्तै, परपुरुष वा स्त्रीसँगको अवैध सम्बन्ध, बोक्सी, दाइजोजस्ता विकृतिलगायत सामाजिक कारणले समेत मानिसलाई आत्महत्याको बाटो देखाउने उनी बताउँछिन् । मानसिक तनावमा कार्य असफलता, प्रेममा सफल हुन नसक्नु, घरेलु हिंसा, पारिवारिक कलह, न्याय प्रणालीमा पहुँचको कमी र कतैकतै दीर्घरोग लागेका व्यक्तिले समेत अब ठीक हुन सकिन्न भन्ने थाहा पाएपछि आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।
यो समस्याको समाधानका लागि स्वास्थ्यसेवा प्रदायकले आत्महत्याको खतरा सूचक लक्षणको पहिचान गरी व्यवस्थापन गर्नुपर्ने मनोविदहरुको सुझाब छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।