प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले तथा एपिएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३१० रन बनायो । तीन सय ११ रनको विजय लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ५० ओभरमा सात विकेट गुमाउँदै २३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि सुनील धमलाले १०४ रनको शतकीय पारी खेले । उनले १४४ बल खेल्ने क्रममा एक छक्का र सात चौका प्रहार गरे ।
यस्तै दीपेन्द्रसिंह ऐरीले ६१ बलमा ६ छक्का र एक चौकाको मद्दतमा ८५ रनको योगदान दिए । अमित श्रेष्ठले २८, आरिफ शेखले अविजित २९ तथा पवन शर्राफले १३ बलमा ५० रन बनाए । शर्राफले ६ छक्का तथा एक चौका प्रहार गरे । बलिङतर्फ लुम्बिनीका लागि कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले एक–एक विकेट लिए।
जवाफी ब्याटिङ गर्ने क्रमा लुम्बिनीका लागि देव खनालले ४९, सन्दीप रजालीले ४०, राजविर सिंहले २४, कृष्ण कार्कीले अविजित ४० तथा सौरभ खनालले ७४ रन बनाए । बलिङतर्फ पुलिसका रासिद खान र पवन सर्राफले दुई–दुई विकेट लिए ।
यसैगरी, मुलपानी क्रिकेट मैदानमा आजै सम्पन्न अर्को खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ । टस जितेर एपिएफले पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गर्दै गण्डकीले ४६ ओभरमा सवै विकेट गुमाउँदै १०६ रन बनायो ।
एक सय सात रनको विजयी लक्ष्य एपिएफले १७ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्याे । एपिएफका लागि आसिफ शेखले ७८ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुमित महर्जनले १८ रन बनाए ।
बलिङतर्फ गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई–दुई विकेट लिए । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै दिनेश बुढामगरले १२, विष्णु पाण्डेले १५ तथा दीपेश खत्रीले पनि १५ रन नै बनाए । बलिङतर्फ एपिएफका लागि कमलसिंह ऐरीले चार तथा अविनाश बोहोरा र शरद भेषवाकरले दुई–दुई विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।