१५, जनवरी २००१। आजभन्दा २० वर्ष पहिला अमिरिकी उद्यमी जिम्मी वेल्सले यो दिनमा विकिपिडियाको स्थापना गरेका थिए। गैर–नाफामुखी यस संस्थाले गत शुक्रबार अर्थात् जनवरी १५ मा आफ्नो २० वर्षे जन्मोत्सव मनायो। २० औं जन्मोत्सवका दिन संस्थाले विश्वभरबाट विकिपिडियालाई महत्त्वपूर्ण योगदान पुर्याउने १८ जनालाई ‘फिचर्ड’ गर्यो।
सम्मानित हुने १८ जनामध्ये एक नेपालका पनि छन्। उनी हुन् २१ वर्षीय तुलसी भगत। मैथिली भाषाको विकिपिडिया निर्माणमा पुर्याएको योगदानको कदर गर्दै संस्थाले भगतलाई टप–१८ मा फिचर्ड गरेको हो। अहिले मैथिली भाषाको छुट्टै विकिपिडिया छ।
मैथिली भाषाको यस विकिपिडियामा हालसम्म ३ हजारभन्दा ज्यादा आलेख राखिएका छन्। जसमध्ये ५०० भन्दा धेरै लेख तुलसी भगत एक्लैले लेखेका हुन्। साथै, उनले मैथिली विकिपिडियामा करिब ९० हजार शब्द सम्पादन गरेका छन्।
०००
सन् १९९९ मा जनकपुरमा जन्मिएका हुन् तुलसी भगत। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनी सप्तरी राजविराजस्थित मामाघरमा बसेर एसएलसीसम्म पढे।
मामा घरमा दाइहरू थिए। दाइहरुले कम्प्युटर चलाउँथे। कम्प्युटरमा दाइहरुले चित्र बनाएको, लेखेको, खेल खेलेको देखेर उनी चकित पर्थे। ६ कक्षामा पढ्ने एउटा एक गाउँले बालकका लागि कम्प्युटर अनौठो कुरा थियो।
उनको बालमस्तिष्कमा प्रश्नहरु जन्मे– कम्प्युटर कसले, कसरी, किन, कहिले, कहाँ बनाएको होला ? यो कुतुहलता उनको उमेरसँगै बढ्दै जान थाल्यो। विस्तारै यी प्रश्नले उनको मगजमा स्थायी घर बनाए।
कक्षा ९ मा पढ्दा उनले दाइहरुमार्फत एक अनौठो कुरा थाहा पाए। जसले उनलाई चकित तुल्यायो। उनलाई कुतुहलताको महासागरमा डुबाउने त्यो जिनिस थियो, गुगल र विकिपिडिया। उनले त्यसअघि गुगल र विकिपिडियाबारे सुनेका मात्र थिए ।
‘विकिपिडियासँग त जे कुराको पनि उत्तर हुने रै‘छ,’ भगतले फरकधारसँगको कुराकानीमा सम्झिए।
कम्प्युटरसँगै उनको दिमागमा गुगल र विकिपिडिया सम्बन्धी प्रश्नहरुले पनि आतंक मच्याउन थाले। अनुसन्धानकै क्रममा थाहा पाए– नेपाली भाषाको विकिपिडिया पनि रहेछ। त्यसपछि उनले आफ्नो मातृभाषा मैथिली भाषाको विकिपिडियाबारे खोजे।
उनलाई मैथिली भाषाको विकिपिडिया बनाउने सोच आयो। उनले यसबारे साथी र दाइहरुसँग कुरा गरे। उनीहरुले यो काम यथाशक्य चाँडो गर्नुपर्ने पर्ने सल्लाह दिए।
उनीहरुले विकिपिडियाको भाषा कमिटीसँग मैथिली विकिपिडियाबारे थाहा पाए, सन् २००८ मा कसैले मैथिली भाषाको विकिपिडिया खोल्नका लागि काम गरेको रहेछ। तर, त्यसमा काम चाहिँ भएको रहेनछ।
भगतको समूहले योजना बनायो– अब यसलाई अगाडि बढाउने।
लामो समयको अनुसन्धान र योजनापछि अन्ततः उनको यो योजना साकार भयो, फेब्रुअरी २१ सन् २०१४ अर्थात् विश्व मातृभाषा दिवसका दिन। विश्व मातृभाषा दिवसको अवसरमा समूहका सम्पूर्ण सदस्यहरु राजविराजको एउटा कम्प्युटरमा क्याफेमा जम्मा भए, एउटा साझा अवधारणा र सपनासहित।
‘नेपालमा नेपाली भाषापछि सबैभन्दा धेरै बोलिने भाषा हो, मैथिली। हामीलाई लाग्यो, हामीले मैथिली भाषाको संरक्षण, संवर्धनका लागि केही गर्नुपर्छ,’ भगत सन् २०१४ मा फर्किए।
०००
६ वर्षको दौरानमा भगतले मैथिली विकिपिडायामा धेरै योगदान पुर्याएका छन्। अहिले संसारभरबाट मैथिली भाषाको विकिडियामा विभिन्न विषयमा लेख लेख्ने ९ हजार बढी सदस्य छन्।
भगत महिला अधिकार र मिथिला संस्कृतिबारे लेख लेख्छन्। त्यसमा पनि नेपाली मिथिला संस्कृतिलाई महत्व दिएर लेख्छन्। यसका अलावा सामाजिक अभियन्ता पनि हुन्, भगत।
उनी ‘ओपन नलेज फर अल’ नामक गैरनाफामूलक संस्थासँग आबद्ध छन्। यो संस्था केही वर्षअघि भगतकै सक्रियतामा सुरु भएको हो। जतिबेला उनी राजविराजमै थिए। उनको संस्थाले जनकपुर र सप्तरीका सरकारी विद्यालयमा विभिन्न काम गरिरहेको छ।
‘देश समृद्ध र विकसित हुन शिक्षा सबैभन्दा धेरै आवश्यक हुन्छ। शिक्षा विकासको पहिलो सर्त र मेरुदण्ड हो’ उनी आफ्नो विचार सुनाउँछन्, ‘त्यो डिजिटल शिक्षा एकदमै आवश्यक छ,’।
अहिले आफूहरुको संस्थाले विद्यालयमा गएर विद्यार्थीहरुलाई कम्प्युटरको महत्त्व र त्यसको प्रयोगबारे सिकाइरहेको उनले बताए।
उनलाई धेरैले इन्टरनेट अभियन्ता भनेर चिन्छन्।
मातृभाषाको उत्थान गर्न र सयौं विद्यार्थीलाई कम्प्युटरको महत्त्व बुझाउन अहोरात्र खट्टिइरहेका उनी। तर विडम्बना, आफू चाहिँ मन परेको विषय पढ्न पाइरहेका छैनन्।
भगत व्यवस्थापन संकाय लिएर बिबिएस दोस्रो वर्षमा पढिरहेका छन् जनकपुरमा। तर, उनलाई सूचना प्रविधिसँग सम्बन्धित विषय पढ्न मन छ।
‘मन भएर मात्र नहुँदा रहेछ ।,’ उनी मुस्कुराए।
बाबुआमाको आर्थिक अवस्था कमजोर भएपछि उनले मन परेको विषय पढ्न सकेनन्। भन्छन्, ‘तर, सपना देख्न पैसा चाहिँदैन। म आफ्नो सपना साकार पार्ने छु। अलिकित ढिलोचाँडोको कुरा हो ।’
त्यसो त भगतका सपना त्यति ठूला छैनन्। उनलाई लाग्छ, सपनाहरु देख्दै अनि पूरा गर्दै जाने हो। अहिलेलाई उनले देखेको सपना हो, मैथिली भाषाको शब्दकोष (विक्सनरी) बनाउने। उनी त्यो सपनालाई मूर्त रुप दिनतर्फ पनि लागिसकेका छन्।
‘शब्दकोष बनाउने काम सजिलो काम होइन। धेरै समय र मिहिनेत चाहिन्छ,’ भगत सुनाउँछन्, ‘यसमा काम गर्न भने थालिसकेको छु। गर्दै आऊँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।