उपराष्ट्रपति भवनमै चार पटकसम्म प्रचण्ड-बाबुराम वार्ता
एजेण्डा : संयुक्त आन्दोलनदेखि जसपा विभाजनसम्म

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार रत्नपार्कस्थित सडकमा आयोजित विरोधसभामा सम्बोधन गरेलगत्तै दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपराष्ट्रपति भवन लैनचौर पुगेको समाचार आयो। 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भन्दै आन्दोलनमा उत्रिएका प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच उपराष्ट्रपति नन्दबहादुर पुनलाई साक्षी राखेर त्यहाँ वार्ता भएको थियो। 

रत्नपार्कबाट सिधै लैनचौर पुगेका प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति पुनको उपस्थितिमा करिब आधी घण्टा लामो वार्ता भएको खुलेको छ।  जनयुद्ध सकेर शान्ति प्रक्रियामा आएसँगै एक खोलाका दुई किनार बनेका यी बाबुराम-प्रचण्डले आखिर उपराष्ट्रपतिकहाँ पुगेर किन वार्ता गरे त? धेरैले यो कुरालाई चासोपूर्वक हेरिरहेका छन्।

भेट भएको हो : बाबुराम 

जनयुद्धको समयका राजनीतिक कमाण्डर प्रचण्ड र बाबुराम तथा फौजी कमाण्डर नन्दकिशोर पुनबीचको वार्तालाई लिएर अनेक अड्कलबाजी सुरु भएको छ। गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन्। 

यस्तो अवस्थामा प्रचण्ड, बाबुराम र नन्दबहादुर पुनबीच भएको कुराकानीबारे कसैले बोल्न मानेका छैनन्। भेटबारे समाचार आउन थालेपछि पूर्व प्रधानमन्त्री डा. भट्टराई बोल्न बाध्य भए। उनले सामाजिक सञ्जालमार्फत प्रचण्डसँग भेट भएको स्वीकारेका छन्। 



उनले शुक्रबार नै ट्वीटरमा उनले लेखेका छन्,‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ। यसै क्रममा मैले ओली प्रतिगमनविरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरुप पूर्व प्रधानमन्त्री एवम् दलका नेताहरु शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड लगायतसँग भेटघाट गरेको हुँ । गर्दै रहनेछु!’



उपराष्ट्रपति भवनमा चौथो भेट

बाबुरामले भेट भएको स्वीकार्दा उनी प्रचण्डसँगै उपराष्ट्रपति भवनमा छिरेको समाचार भाइरल भइसकेको थियो। भेटबारे समाचार सार्वजनिक भएर दबाब बढेपछि बाबुराम बोल्न बाध्य भएका हुन्। 

जनयुद्धका दुई सहयात्री छुटेको लामो समयपछि संसद् विघटन प्रकरणले एकै ठाउँ उभिने अवस्था बनाइदिएको हो। उपराष्ट्रपति भवनमै प्रचण्ड र बाबुरामबीच शुक्रबारको सहित  चार पटकसम्म भेट भएको दाबी स्रोतले गरेको छ।

सत्तारुढ नेकपामा प्रधानमन्त्री ओलीसँग तनाव चुलिँदै गर्दा यी दुई नेता नजिकिएका हुन्। भदौमा बसेको नेकपा स्थायी कमिटी बैठकमा विवाद मिलाइएको थियो। तर असोजदेखि फेरि नेकपामा अर्को शिराबाट विवाद चुलिएपछि प्रचण्ड-बाबुराम संवाद अघि बढेको थियो। 

यी दुई नेताबीच उपराष्ट्रपति भवनमै पहिलो बैठक २६ सेप्टेम्बर अर्थात् असोज १० गते भएको स्रोतले जनाएको छ। दुई नेताबीचको यो  पहिलो बैठक करिब तीन घण्टासम्म चलेको बताइएको छ। त्यसयता उनीहरुबीच उपराष्ट्रपति पुनलाई साक्षी राखेर चार पटकसम्म वार्ता भइसकेको छ। यो वार्ताले यी दुई नेतालाई फेरि मिल्ने विन्दुतर्फ अग्रसर गराउँदै गएको देखिएको छ।

शुक्रबारको बैठकमा के के भयो?

रत्नपार्कमा भाषण गर्दै संसद पुन:स्थापना नभए शान्ति प्रक्रिया 'डिरेल' हुने बताएका प्रचण्ड त्यहाँबाट सिधै लैनचौर पुगेका थिए। प्रचण्ड र डा. भट्टराईबीच त्यहाँ करिब आधा घण्टा लामो छलफल भएको थियो। छलफलमा प्रचण्डले संसद पुन:स्थापना नभए संयुक्त आन्दोलनमा जाने प्रस्ताव बाबुरामसमक्ष गरेका थिए। त्यस संवादमा ओली सरकारलाई घुँडा टेकाउने गरी संयुक्त आन्दोलनमा जान सकेमा तराई-मधेसको आन्दोलनको नेतृत्व जनता समाजवादी पार्टीलाई दिने प्रस्ताव प्रचण्डले गरेका बुझिएको छ।

मोर्चाको कुरा 

दुई नेताबीचको वार्ताका क्रममा प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा मोर्चा बनाउने पनि चर्चा भएको छ। प्रतिनिधिसभा विघटनको एक महिना बितिसक्दा पनि आन्दोलनको माहोल नबनेपछि प्रचण्ड तनावमा थिए। तर शुक्रबारको प्रदर्शनबाट उत्साहित बनेका उनले अब एक्ला एक्लै नभइ संयुक्त रुपमा अघि बढ्नुपर्ने प्रस्ताव बाबुरामसमक्ष गरेका हुन्।

प्रचण्डले दीर्घकालमा पार्टी एकतासम्मको कुरा उठाएर तत्काललाई ओलीविरुद्धको आन्दोलनमा मोर्चा बनाउने कुरा राखेका स्रोतको दाबी छ। प्रचण्डले प्रस्ताव गरेको मोर्चामा मोहन वैद्य, मोहन विक्रम, नेत्रविक्रम चन्द र सिके राउतसम्मलाई समेट्ने भनिएको छ। यो मोर्चाको नेतृत्व आफूले गर्ने योजना प्रचण्डले बनाएका छन्।

चुनावी गठबन्धन

संयुक्त आन्दोलनबाट संसद पुन:स्थापनलाई प्रचण्ड-बाबुरामले पहिलो एजेण्डाका रुपमा अघि सारेका छन्। यदि आन्दोलनको बलमा संसद् पुन:स्थापना नभइ निर्वाचन जाने परिस्थिति विकास भएको अवस्थामा गठबन्धन बनाउने प्रस्ताव पनि प्रचण्डले बाबुरामसँग राखेको खुलेको छ।

प्रचण्डले तत्काललाई आन्दोलनमा संयुक्त मोर्चा र चुनाव भएमा गठबन्धन बनाउने रणनीति तय गरेको सुनाउँदै स्रोत भन्छ, 'अब संयुक्त मोर्चा बन्छ। तराई-मधेसका २२ जिल्लामा कमाण्ड गर्ने जिम्मा जसपालाई दिइन्छ। त्यहाँको नेतृत्व पनि जसपाले नै लिनेछ। यसमा लाग्ने खर्चसहित अन्य कुराको व्यवस्थापन प्रचण्डबाटै हुने प्रस्ताव गरिएको छ।’

प्रचण्ड-बाबुरामको भेटमा जसपा विभाजनसम्मको कुरा भएको बताइएको छ। उक्त भेटमा बाबुरामलाई जसपा छाडेर आफ्नो समूहमा आउन प्रचण्डले आग्रह गरेको खुलेको छ। तर यसबारे विस्तृत कुरा बाहिरिएको छैन।

बाबुरामका कुरा 

प्रचण्डसँग पछिल्लो समय निरन्तर छलफलमा रहेका डा. भट्टराईले पनि जसपा संयुक्त आन्दोलनका लागि तयार रहेको बताएका छन्। उक्त बैठकमा बाबुरामको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘जसपा संयुक्त आन्दोलनमा जान तयार छ। प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन उत्साहजनक भएको छ। त्यसैले अब हाम्रो पार्टी पनि आन्दोलनमा जाने ‘मुड’ मा छ।’

बैठकमा बाबुरामले एक्लै आन्दोलन गरिरहेको नेपाली कांग्रेसलाई पनि समेटेर अघि बढ्नुपर्ने कुरा राखेका थिए। उनले कांग्रेससमेत आएपछि ओलीविरुद्धको आन्दोलनले चाँडै उचाई लिएर निचोडमा पुग्ने कुरा प्रचण्डसामु राखेका स्रोतले जनाएको छ। 

  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १५:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया