कमाउन गएका १८ नेपाली मलेसियाबाट बाकसमा फर्किए (हेर्नुस् १३ फोटो)

काठमाडौं : रोजगारीका क्रममा ज्यान गुमाएका १८ जना नेपाली युवाको शव एकैपटक नेपाल ल्याइएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्‍न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो। एक शवको अस्तुसहित १८ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ। 

शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर गएको थियो। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको हो। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए। मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमले उल्लेख गरेको छ।

अझै ३८ शव बाँकी 

नेपाली कामदारको शव लिन निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो। वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ। मलेसियास्थित नेपाली दूतावाससँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो। 

नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ। ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ। विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए। 



'नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुख दुःखमा साथमा हुनुपर्छ र छौं', उनले भने, 'यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवेदनशील छ।'

महिनौँदेखि अलपत्र नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको छ। निजी क्षेत्रका जहाजले शव बोक्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ। निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।



  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १६:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया