विप्लव समूहले गरेकाे बन्दको कर्णालीमा आंशिक प्रभाव

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहले गरेको नेपाल बन्दको प्रभाव कर्णाली प्रदेशमा आंशिक रुपमा देखिएको छ । बन्दको प्रभाव कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँगै १० वटै जिल्लामा देखिएको छ । कर्णालीका अन्य जिल्लामा भन्दा वीरेन्द्रनगरमा बन्दको प्रभाव बढी परेको छ । वीरेन्द्रनगरमा छुट्ने लामो तथा छोटो दूरीका कुनै पनि यातायातका साधन सञ्चालनमा आएका छैनन् भने बजार क्षेत्र पूर्ण रुपमा बन्द छ । 

विप्लव समूहले केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालगायत नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै शनिबार नेपाल बन्द गरेको हो । बन्दका कारण वीरेन्द्रनगर बजार क्षेत्रमा छिटफुट रुपमा सवारी सञ्चालनमा आए पनि बजार क्षेत्र पूर्ण रुपमा बन्द छ । 

कर्णाली प्रदेश प्रहरीले बताएअनुसार अन्य जिल्लामा केही मात्रामा छोटा दूरीका यातायात तथा बजार खुले पनि वीरेन्द्रनगरमा बजार क्षेत्र धेरैजसो बन्द देखिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्तकुमार पन्तले बताए । 

‘समग्र कर्णालीमा बन्दको प्रभाव आंशिक मात्रामा छ,’ उनले भने, ‘बन्दका कारण लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने केही छिटफुट मात्रामा सवारी सञ्चालनमा छन् । प्रहरीले बाटोमा रहेका सवारीलाई स्कर्टिङमार्फत गन्तव्य स्थानमा पुर्याइरहेको छ ।’

बन्दको दिन (आज) जाजरकोटको नलगाड नगरपालिकामा प्रेसरकुकर बम फेला परेको र त्यसलाई सेनाको टोलीले डिस्पाेज गरिसकेको जानकारी दिँदै प्रमुख पन्तले अन्य त्यस्ता कुनै अप्रिय घटना नघटेको बताए । 





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १७:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया