कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा युवाहरुको समूहले ‘क्लिन कर्णाली एण्ड ग्रिन कर्णाली’ अभियानको सुरुवात गरेका छन् । वीरेन्द्रनगर बजार क्षेत्रमा अत्यधिक मात्रामा फोहोर बढेपछि त्यसको व्यवस्थापन गर्दै अभियानको सुरुवात गरिएको हो । शनिबार वीरेन्द्रनगरको ऐरिचोकदेखि वीरेन्द्रचोकसम्मको भागमा सरसफाइ गरेर अभियानको सुरुवात गरिएको छ ।
‘मेरो फोहोर, मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ अभियानको सुरुवात गरिएको हो । कर्णाली युथ पावर (केवाइपी)ले वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर वडा नम्बर ६, सुर्खेत उद्योग वाणिज्य संघ, सुर्खेत वीरेन्द्रनगर जेसिससँगको सहकार्यमा अभियानको सुरुवात गरेको हो ।
अभियानअन्तर्गत पहिलो दिन वीरेन्द्रनगर बजार क्षेत्रमा सरसफाइ गरिएको छ । आगामी दिनमा प्रत्येक शनिबार त्यसलाई निरन्तरता दिने अभियानका संयोजक राजेश हमालले बताए । ‘युवाहरुको उत्साहपूर्ण सहभागितामा अभियानको सुरुवात भएको छ,’ हमालले भने, ‘यसलाई हामीले निरन्तरता दिने छौँ । बिस्तार गरेर कर्णाली प्रदेशका सबै जिल्लामा पुर्याउनेछौँ ।’
युवाहरुले गरेको अभियानलाई साथ सहयोग गरेर निरन्तरता दिनुपर्ने कर्णाली युथ पावरका संयोजक भीम थापाले बताए । ‘युवाहरुको तीव्र इच्छा चाहनाबाट अभियानको सुरुवात गरिएको छ । यसले निरन्तरता पाउने छ,’ थापाले भने, ‘वीरेन्द्रनगर नगरपालिका, वडा कार्यालय तथा अन्य विभिन्न क्षेत्रको यसमा सहयोग आवश्यक छ ।’
अभियानमा वीरेन्द्रनगर नगरपालिका, नगरपालिका वडा नम्बर–६, सुर्खेत वीरेन्द्रनगर जेसिस, सुर्खेत उद्योग वाणिज्य संघलगायत विभिन्न क्षेत्रका युवा विद्यार्थीको समेत सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।