नागरिक स्टक डिलरले आगामी हप्तादेखि कारोबार थाल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार धितोपत्र व्यापारीको कार्य संचालन अनुमति दिएसँगै आगामी हप्तादेखि कारोबार थाल्ने तयारी गरेको कम्पनीले बताएको छ ।
दोस्रो बजारमा सेयर कारोबार गर्नका लागि सफ्टवेयरलगायत सम्पूर्ण तयारी अवस्थामा रहेका कारण सिडिएससीबाट इन्ट्रिग्रेशन गराएसँगै कारोबार थालिने बताइएको छ ।
सेयर बजारमा हुने उतारचढाव रोक्नलाई संचालनमा ल्याउने भनिएको स्टक डिलर कम्पनी लामो समयदेखि अन्योलमा रहेको थियो ।
कुल ५ अर्ब चुक्ता पूँजी तथा १० अर्ब जारी पूँजी रहेको नागरिक स्टक डिलर कम्पनीले आगामी हप्ताबाटै ५ अर्ब रुपैयाँ लगानी गर्नेछ ।
नागरिक स्टक डिलर संचालनमा आएसँगै बजारको उच्च उतारचढाव नियन्त्रण हुने विश्वास लिइएको छ । हाल बजार घट्दा उच्च दरले घट्ने र बढ्दा पनि उच्च दरले बढ्ने गरेको छ । नागरिक स्टक डिलर बजारमा प्रवेश गरेपछि कुनै निश्चित समूहले मिलेमतो गरी बजारलाई चलखेल गर्न नसक्ने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
नागरिक लगानी कोषको सहायक कम्पनीका रुपमा सञ्चालित कम्पनीमा कोषको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यसैगरी, नेपाल टेलिकमको ९ प्रतिशत, पुनर्बीमा कम्पनीको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले सर्वसाधारणका लागि पनि ३० प्रतिशत सेयर छुट्याएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।