काठमाडौं : नेकपा दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने निर्णय लिएको छ। यो समूहको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
उनका अनुसार ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो। यसअघि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई पार्टीबाटै निकालिएको घोषणा गरेका थिए।
स्पष्टीकरण
दाहाल-नेपाल समूहले यसअघि ५ माघमा प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण पत्र पठाएको थियो। माघ २ मा पेरिस डाँडामा बसेको नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकको निर्णय बमोजिम ओलीसँग स्पष्टीकरण माग्दै बालुवाटारमा पत्र बुझाइएको थियो।
तर स्पष्टीकरण पत्र बालुवाटार पठाएको पाँच दिन बितिसक्दा पनि ओलीले कुनै जवाफ नदिएपछि आइतवारको बैठकबाट उनलाई पार्टीबाटै निष्कासन घोषणा दाहाल-नेपालले गरेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।