चीन र भारतका सैनिकबीच फेरि झडप, कम्तीमा २४ जना घाइते

एजेन्सी : भारत-चीनको तनावबीच दुई देशका सैनिक झडपमा उत्रिएका छन्। समाचार अनुसार उक्त झडपमा २० जना भन्दा धेरै सैनिक घाइते भएका छन्। झडपका क्रममा आफ्ना चार सैनिक गम्भीर घाइते भएको भारतीय पक्षले जनाएको छ।

भारतीय सञ्चारमाध्यमले झडपका क्रममा २० जना चिनियाँ सैनिक घाइते भएको दाबी गरेका छन्। सिक्किमस्थित एलएसीमा भारतीय र चिनियाँ सैनिक कुटाकुटमा उत्रिएका हुन्। भारतीय पक्षले आफ्नो सीमामा घुस्न खोजेपछि प्रतिकार गरिएको दाबी गरेको छ। यसबारेमा अहिलेसम्म चिनियाँ पक्षले केही बोलेको छैन। यो घटना तीन दिनअघि सिक्किमको नाकुला नाकामा भएको हो। 

८ जनवरीमा चीनका एक सैनिकलाई भारतीय सीमामा पसेको भन्दै भारतीय पक्षले नियन्त्रणमा लिएको थियो। यो घटना पूर्वी लद्दाखको प्यागङ्ग त्सो ताल क्षेत्रको दक्षिणमा भएको थियो। 

त्यहाँबाट भारतीय पक्षले २ दिनपछि चिनियाँ सैनिक फर्काएको बताएको थियो। चीनले यसबारेमा उसको सैनिक गल्तीले भारतीय इलाकामा छिरेको बताएको थियो। यसअघि गत अक्टोबरमा पनि चिनियाँ सेना आफ्नो भूमिमा घुसेको आरोप भारतले लगाएको थियो।

चीन र भारतबीच सीमा समस्यालाई लिएर वार्ता भइरहेको छ। तर दुवैवीच अझै सहमति जुटेको छैन। पूर्वी लद्धाख तनावबीच भारत-चीनको सेनाबीच नवौँ चरणको वार्ता आइतवार मोल्दोमा १५ घण्टासम्म चलेको थियो। यसमा भारतले विवादित इलाकाबाट सैनिक हटाएर तनाव गर्नुपर्ने प्रस्ताव गरेको थियव। 

भारत-चीनबीच अघिल्लो साल अप्रिलदेखि तनाव चुलिएको छ। जुन २०२० मा गलवानमा दुवै देशका सैनिकबीच झडप भएको थियो। त्यसक्रममा करिब ४३ जना भारतीय सैनिक मारिएका थिए। भारतले चीनका पनि ४० बढी सैनिक मारिएको दाबी गरेको थियो। 





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १३:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया