लुम्बिनी प्रदेशमा भोलिदेखि कोरोना खोप, यस्तो छ तयारी

लुम्बिनी प्रदेशमा कोरोना भाइरस(कोभिड–१९)विरुद्धको खोप भित्रीसकेको छ। लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालयले बुधबारबाट प्रदेशमा कोरोना विरुद्धको खोप दिने तयारी गरेको छ। स्वास्थ्य निर्देशनालयले सुरुमा प्रदेशको तराई क्षेत्रका ६ जिल्लामा रहेका ८ सरकारी अस्पतालबाट खोप अभियान सुरु गर्न लागेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले जानकारी दिए।

निर्देशक गिरीका अनुसार दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल , घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान , नेपालगन्जको भेरी अस्पताल , बर्दिया अस्पताल, कपिलवस्तु अस्पताल, भीम अस्पताल, लुम्बिनी अस्पताल र पृथ्वीचन्द्र अस्पताल परासीमा खोप सेवा सञ्चालनको तयारी गरिएको छ। 

 तोकिएको अस्पतालमा राखिएका खोप बुथमा दैनिक १२५ जनाका दरले खोप लगाइने डा. गिरीले जानकारी दिए। 

पहिलो चरणमा स्वास्थ्य सेवामा प्रत्यक्ष खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र शववाहन चालक गरी ३९ हजार ४९५ जनालाई दिइने तयारी प्रदेश सरकारले गरेको छ। 

 स्वास्थ्यकर्मीलाई दुइ साताभित्र खोप दिइसक्ने र कोरोना महामारीको जोखिम क्षेत्रमा खटिएकालाई खोप दिनका लागि दोस्रो चरणको खोप अभियान सुरु गरिने डा. गिरीको भनाइ छ। 

डा. गिरी का अनुसार लुम्बिनी प्रदेशमा ८७ हजार ६८० माइल कोरोना खोप भित्रिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई चरणका लागि प्रदेशलाई खोप उपलब्ध गराएको हो। 



भ्रम चिर्न स्वास्थ्यकर्मी 

संक्रमित बिरामीको उपचार तथा सेवामा खटिने चिकित्सक स्वास्थ्यकर्मीहरु सबैभन्दा धेरै संक्रमणको जोखिममा छन्।  त्यसैगरी संक्रमितलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने एम्बुलेन्स चालक  र मृतक संक्रमितको शव व्यवस्थापनमा खटिएको टोली, शववाहन चालक  पनि उत्तिकै जोखिममा रहन्छन्। यसै कारण पहिलो चरणको खोप अभियान उनीहरूप्रति लक्षित रहेको डा. गिरी बताउँछन्।



कोरोना विरुद्धको खोप लगाउने चर्चासँगै केही भ्रमहरु पैदा भइरहेका छन्। खोपले स्वास्थ्यमा नकारात्मक असर पार्ने हो की भनेर अनावश्यक हल्ला चलिरहेको डा. गिरीको भनाइ छ।  ‘खोप नआउँदा खोप किन आएन ? भन्दै सरकार समक्ष प्रश्न उठाए। डा. गिरी भन्छन्,‘अब खोप भित्रियो साइड इफेक्ट देखिए को जिम्मेवार भन्दै भ्रम छरिरहेका छन्।’

स्वास्थ्य सेवाकै व्यक्तिहरुले पहिले खोप लगाउँदा खोपबारे नागरिकमा रहेका भ्रम चिर्न मद्दत पुग्ने उनी बताउँछन्।  पहिलो चरणको खोप वितरण जिल्लाका ठूला अस्पतालहरुबाट गरिने भएपनि दोस्रो चरणको खोप स्वास्थ्य चौकीबाट वितरण गरिने तयारी रहेको डा.गिरीले जानकारी दिए। 

खोपको सामान्य प्रभाव देखिन सक्छ

कोरोनाविरुद्धको खोप लगाइ सकेपछि केही व्यक्तिमा सामान्य प्रभाव देखिन पनि सक्ने डा.गिरीको भनाइ छ। ‘अहिलेसम्म देखिएका प्रभावहरु सामान्य मात्रै देखिएका छन्। तर डराउनुपर्ने केही छैन। सामान्य टाउको दुख्ने हुनसक्छ।  वाकवाक लाग्छ सक्छ।’ डा.गिरीले स्पष्ट पारे।

 तर त्यसले स्वास्थ्यमा त्यति प्रभाव नपार्ने उनले बताए। खोप लगाउनै हुँदैन भन्ने भ्रममा कोही पनि नपर्न उनले सबैमा आग्रह गरे। 

लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको विवरण 
क्र.स.    जिल्ला        महिला     पुरुष      जम्मा
१.    कपिलवस्तु          ४४९       १६१५       २०६४
२.    दाङ                  ९७२      २५५९       ३५३१
३.    पाल्पा                 ५५४     १३५०        १९०४
४.    बाँके                  १५७८   ३००१        ४५७९
५.    गुल्मी                 २५४     ७०६         ९६०
६.    अर्घाखाँची          १८८     ६६२         ८५०
७.    रुपन्देही            ३२६५   ५६७५      ८९४०
८.    प्यूठान              १५६     ७५६        ९१२
९.    बर्दिया              ४७५     १०२८     १५०३
१०.    नवलपरासी(प)  ४३०     १००४     १४३४
११.    रोल्पा              ५१      १९६       २४७
१२.    रुकुम पूर्व        १८     ७६         ९४
       जम्मा    ८३९०  १८६२८      २१०१८

 स्रोत : स्वास्थ्य निर्देशनालय लुम्बिनी, प्रदेश 

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार ११:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया