नेकपाका उपाध्यक्ष वामदेव गौतमले सञ्चारमाध्यममा आएको समाचारको विषयलाई लिएर आपत्ति जनाएका छन् । मंगलबार गौतमका विषयमा ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षक राखिएका समाचार प्रकाशित भएको थियो ।
सोही विषयमा मंगलबार नै गौतमको सचिवालय सदस्य विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका हुन् । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका नेता गौतमले राष्ट्रिय समाचार समितिको १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचारका सन्दर्भमा आपत्ति जनाएका हुन् ।
‘सोमबार केही पत्रकार साथीहरु उहाँलाई भेट्न भैँसेपाटीस्थित हाम्रो सचिवालयमा आउनुभएको थियो । ती साथीहरु पत्रकार मात्र नभई पार्टी र संगठनमा समेत आबद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आउनुभएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरुसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असरलगायत विषयमा अनौपचारिक कुरा भएको हो । तर, जसरी समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन ।’
नेता गौतमको नेतृत्वमा भोलि बुधबार (१४ माघ)मा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा हुन गइरहेको भन्दै पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको दाबी गरिएको छ ।
पार्टी एकताका निम्ति नेता गौतम आफूसँग भएका पदहरु गुमाउन वा कसैका निम्ति छोडिदिन पनि तयार रहेको समेत उल्लेख गरिएको छ । ‘पार्टीको एकता आमनेपालीको चाहना हो । मुलुकको विकास, सुशासन र समृद्धिका लागि पार्टी एकता अनिवार्य छ । त्यस्तो अनिवार्यता बोध गर्ने नेताले ‘मलाई यो पद दिए त्यो समूहमा जान्छु’ भन्नेजस्ता अभिव्यक्ति दिँदैन भन्ने कुरा जिम्मेवार सञ्चारकर्मी तथा आमजनसमुदायले साथीहरुले बुझ्नुहुनेछ भन्ने विश्वास लिएका छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।