नेकपा विभाजनको असर सामुदायिक वन उपभोक्ता समितिमा समेत देखिएको छ । उपभोक्ता समिति गठन गर्दा सहमति नभएपछि चुनाव गरिएको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ मा रहेको रामजानकी सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनका लागि नेकपाको प्रचण्ड-माधव समूहविरुद्ध नेकपा ओली समूह, कांग्रेस र राप्रपाले संयुक्त प्यानल बनाएका छन् ।
१३ सदस्यीय वन उपभोक्ता समितिमा प्रचण्ड-माधव समूहबाट मन्दिर चिह्नसहित नम्रता कार्की अध्यक्षको उम्मेदवार बनेकी छन् भने नेकपा ओली समूह, कांग्रेस र राप्रपाबाट नेपालको झण्डा चुनाव चिह्नसहित जगतबहादुर भण्डारी अध्यक्षको उम्मेदवार बनेका छन् ।
१ हजार ५७५ जना मतदाता रहेका उपभोक्ता समितिमा जनता समाजवादी पार्टीले समेत आफ्ना उम्मेदवार खडा गरेको छ । जनता समाजवादी पार्टीका तर्फबाट गगन सारु अध्यक्षको उम्मेदवार बनेका छन् । जनता समाजवादी पार्टीले अध्यक्ष र सचिवमा मात्रै उम्मेदवारी दिएको छ । सचिवमा लीला सिजापतीले आफ्नो उम्मेदवारी दिएका छन् । समितिका लागि बिहान १० बजेबाट सुरु भएर बेलुका ५ बजे मतदान सम्पन्न भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।