हेटौंडा अस्पतालका मेसुले लगाएर सुरु गरे कोभिशिल्ड

बागमती प्रदेशको १३ वटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड लगाउन सुरु गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रवीण श्रेष्ठले पहिलो भ्याक्सिन लगाएर सुरुवात गरेका छन्। 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत रहेको हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले भ्याक्सिन स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गर्दै सरकारले महत्वपूर्ण सुरुवात गरेको बताएका थिए। उनले सरकारको अथक प्रयासपछि जनतालाई कोरोनाविरुद्धको लडाइँ जिताउन सुरु गरेको बताए। 

३ समूह बनाएर खोप 

बागमती प्रदेशका १३ जिल्लाका लागि ३५ केन्द्रबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईँको जानकारी दिए। खोप लगाउँदा कार्ड दिइनेछ। तीन समूहमा विभाजन गरेर खोप दिने तयारी भएको उनले बताए।

पहिलो समुहमा  फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएका, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने भएको छ। 

यस्तै दोस्रो समुहमा ४० वर्ष भन्दा माथि रोग लागेको समुह  र तेस्रो समुहमा जोखिममा रहेका १८ वर्ष भन्दा माथिका युवाहरुलाई दिइने सेढाइँले बताए। खोपको लागि ३५ केन्द्र तय भएता पनि  खोप लगाउने संख्याको आधारमा केन्द्रहरू तय भएता पनि खोपको माग र भौगोलिक आधारमा केन्द्र थपघट हुनसक्ने उनले बताएका छन्। आजबाट बागमती प्रदेशको चितवन, ललितपुरमा ३-३ वटा केन्द्रबाट खोप लगाइने  छ। 



यस्तै, सिन्धुली, धादिङ, काभ्रे, नुवाकोट, रामेछाप, भक्तपुर, दोलखा जिल्लामा २–२ वटा केन्द्रबाट खोप लगाइनेछ भने मकवानपुर र रसुवा जिल्लामा एक–एक वटा केन्द्रबाट कोभिडविरुद्धको खोप लगाइने निर्देशक सेढाइँले जानकारी दिए।

उनले खोपको असर देखापरेमा तुरुन्त चिकित्सकको टोली उपलब्ध हुने स्थानमा मात्र खोप केन्द्र स्थापना गरिएको जानकारी दिए। खोपको लागि प्रत्यक्ष र भर्चुअल माध्यमबाट स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 



५७ जना गम्भीर 

बागमती प्रदेशमा बुधबारसम्म कोरोनाको कारण ४४ जना आईसीयुमा, १३ जना भेन्टिलेटरमा र ५७ जना गम्भिर अवस्थाका विरामी रहेका छन्। यस्तै अहिले बागमती प्रदेशमा २ हजार ३ सय १९ जना कोरोना संक्रमितहरु उपचारमा रहेका छन्। 

अहिलेसम्म बागमती प्रदेशमा ९८ प्रतिशत संक्रमितहरु सफल उपचार भइसकेको छ भने १ दशमलव ५ प्रतिशत उपचारत छन्। बागमती प्रदेशमा हालसम्म ९ सय ८६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मंगलबार मात्रै दुई जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।   

  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार ११:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया