वामदेवको एकता अभियानलाई साथ दिन को को पुगे?
जीवराज पत्नी माया र प्रदेश सांसद विनोद खड्का पनि

नेकपा एमालेका तत्कालीन नेता जीवराज आश्रित पत्नी माया ज्ञवालीले वामदेव गौतमलाई साथ दिएकी छन्। बुधबार ललितपुरमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा उपस्थित भएर उनले वामदेवलाई साथ दिएकी हुन्।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै नेकपाका नेताहरु दुई धारमा विभाजित भइरहेका बेला तटस्थ बसेका वामदेवको पार्टी एकता घोषणा कार्यक्रमको मञ्चमै माया ज्ञवाली पनि देखिएकी हुन्।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसँगै २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन भएका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी ज्ञवाली प्रतिनिधिसभामा तत्कालीन एमालेबाट समानुपातिक सांसद थिइन्।

वामदेवसँग नेताहरु हरि पराजुली, डा. हिराबहादुर श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य विनोद खड्का, विघटित प्रतिनिधिसभा सदस्य माया ज्ञवाली, तुलसा थापा, कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती रिजाल खड्का, केबी उप्रेती र डिबी कार्की सहभागी छन्। 

उक्त कार्यक्रममा बोल्दै पूर्वमन्त्री हरिप्रसाद पराजुलीले अहिलेको समस्या सिद्धान्त, विचारमा मतभिन्नता नभएको उल्लेख गरे। 'यो प्राविधिक समस्या हो । तर अहिले यसलाई लिएर शत्रुतापूर्ण व्यवहार गरिएको छ', उनले भने, 'नेतृत्व पंक्तिका फुटपरस्त नेताहरूले जनताको पार्टी एकता अभियानलाई परपर धकेलिरहेका छन्।' 

उनले एकीकृत आन्दोलन अघि बढाउनै पर्नेमा जोड दिएका छन्। 'यदि एकीकृत आन्दोलन नगर्ने हो भने आगामी निर्वाचनमा जनताद्वारा नेकपालाई बहिष्कार गर्ने अभियानमा पनि हामी लाग्नुपर्ने छ', उनले भनेका छन्। 





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १२:२२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया