सुदूरपश्चिममा सुरू भयो कोभिड–१९ विरुद्धको खोप अभियान

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ विरुद्धको खोप सुरु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक कार्यक्रम गरी प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खोप अभियानको सुरुवात भएको घोषणा गरेका हुन् । 

काठमाडौँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि अभियान शुभारम्भ भएको घोषणा गरेका हुन् ।

सुपमा प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कोरोना विरुद्धको पहिलो खोप लगाएका हुन् । भारतले अनुदानमा उपलब्ध गराएका खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीलाई लगाइने प्रदेश सरकारले जनाएको छ । 

संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको छ । आइतबार संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेरेटर भ्यानमार्फत प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्ने गरी कोरोना विरुद्धको खोप पठाएको थियो । 



यस्तै कञ्चनपुर जिल्लामा समेत कोभिड विरुद्धको खोप सेवा शुरू गरिएको छ । प्रथम चरणमा महाकाली अस्पतालमा कोभिड खोप केन्द्र स्थापना गरी बुधबारदेखि कोभिड खोप सेवा सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । 



कञ्चनपुर जिल्लामा जम्मा २ हजार ८ सय २० जनालाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयले बनाएको कोभिड विरुद्धको खोपको कार्ययोजनालाई जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिले स्वीकृत गरी खोपपश्चात् हुन सक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि महाकाली अस्पतालमा एइएफआई किटसहित चिकित्सकको एक टोली खटाइएको छ ।


 

  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १४:१०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया