अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जनकपुर यातायात व्यवस्था कार्यालयका सहयोगीसहित दुईजनालाई पक्राउ गरेको छ ।
जनकपुरको यातायात व्यवस्था कार्यालयमा ‘स्काभेटर’ र ‘रोडर’ को सवारी चालक अनुमति पत्र वितरण गर्ने कार्यमा आर्थिक लाभ लिई वितरण गर्ने दुई जनालाई अख्तियारले पक्राउ गरेको हो ।
सवारी चालक अनुमतिपत्र वितरण गर्नका लागि सञ्चालित परीक्षाका परीक्षार्थीहरूबाट अतिरिक्त रकम उठाएको भन्ने उजुरीका आधारमा अख्तियारले उनीहरूलाई पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाए । उनका अनुसार उनीहरू पैसा लिएर अनुचित काम गरिरहेका थिए ।
अख्तियार यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया जनकपुर उपमहानगरपालिका १० बस्ने राजकिशोर भगतलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा अख्तियारबाट खटेको टोलीले उनीहरूलाई २ लाख ७३ हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ । दुवै जनालाई यातायात व्यवस्था कार्यालयबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।