जंगलमा राजनीति : प्रचण्ड-माधव समूह र ओली, कांग्रेस समूहबीच विवाद

विभाजित नेकपाका दुई पक्ष फरक-फरक धारमा उभिएर गरिएको सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनपछि विवाद उत्पन्न भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ मा रहेको रामजानकी सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनका लागि नेकपाको प्रचण्ड-माधव समूहविरुद्ध नेकपा ओली समूह, कांग्रेस र राप्रपाले संयुक्त प्यानल बनाएका थिए ।

१३ सदस्यीय वन उपभोक्ता समितिमा प्रचण्ड-माधव समूहबाट मन्दिर चिह्नसहित नम्रता कार्कीको टोली र ओली समूह, कांग्रेस र राप्रपाबाट नेपालको झण्डा चुनाव चिह्नसहित जगतबहादुर भण्डारीको टोली चुनावी मैदानमा उत्रिएको थियो । घरधुरीका आधारमा १ हजार ५९१ जना मतदाता रहेको समितिमा करिब १ हजार ४ सय सदस्यहरू रहेका छन् । तीमध्ये मंगलबार भएको निर्वाचनमा १ हजार ११७ मत खसेको थियो । ती मध्ये एक मत बदर भएको थियो । 

निर्वाचन सकिएपछि बुधबार बिहानैदेखि मत गणना गर्ने भनिए पनि बेलुकासम्म मतगणना हुन सकेको छैन । समितिका पूर्व अध्यक्ष बालाराम केसीले परिचयपत्र र फोटोका आधारमा मतदान भएपछि विवाद भएको बताए ।

निर्वाचनमा परिचयपत्रका आधारमा १ हजार ६ मत खसेको र सदस्यहरुको फोटो हेरेर ११० जनाले मतदान गरेको उनको भनाइ छ । तर पछि रजिस्टरमा फोटो हेरेर गरिएको मतदान संख्या इन्ट्री नभएको पाइएपछि ओली समूहले विरोध जनाएको पूर्व अध्यक्ष केसीको भनाइ छ ।

‘निर्वाचन हुँदा सहमतिकै आधारमा मतदान भएको थियो’, उनले भने, ‘तर पछि रजिस्टरमा फोटो हेरेर मतदान गर्न दिएका सदस्यहरूको संख्या नथपिएको पाइएपछि मत कसरी धेरै भयो भन्दै ओली समूहले विरोध जनाएको हो ।’ निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट गगन सारु अध्यक्षको उम्मेदवार बनेका छन् । भने सचिवमा लीला सिजापतीले आफ्नो उम्मेदवारी दिएका छन् ।





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १७:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया