निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहलाई छलफलका लागि बोलाएको छ। आयोगले आगामी वैशाख १७ र २७ गते हुन लागेको मध्यावधि निर्वाचन तयारीका लागि दुवै समूहलाई छलफलका लागि बोलाएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै समूहलाई बोलाएर शुक्रबार ११ बजे आयोगमा छलफल गरिने छ। 'हामीले दुवै समूहलाई पत्र पठाएर छलफलका लागि बोलाएका छौं', प्रवक्ता श्रेष्ठले फरकधारसँग भने, 'अध्यक्ष वा अध्यक्षले तोकेका आधिकारिक प्रतिनिधिसहित छलफलका लागि बोलाएका हौँ।'
श्रेष्ठका अनुसार उक्त छलफलका लागि दुवै समूहबाट ५/५ जनालाई डाकिएको हो। तर आयोगले यो छलफल उनीहरुको आधिकारिकता विवादमा केन्द्रित भएर गर्न लागिएको होइन।
‘आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने तयारी भइरहेको छ', श्रेष्ठले भने, 'आयोगले निर्वाचनसम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिनका लागि उनीहरुलाई बोलाएको हो।'
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित छ। दुवै समूह आफूहरु आधिकारिक भन्दै निर्वाचन आयोग पनि पुगेका छन्। तर आयोगले दुई समूहले गरेका सबै गतिविधिलाई अवैधानिक भनेको छ।
प्रवक्ता श्रेष्ठका अनुसार दुवै समूहले गरेका फरक फरक गतिविधि कानुनी रुपमा अवैध हुन्। अहिलेसम्म दुवै समूहले दल दर्ताको निवेदन नदिएकाले आयोगले आधिकारिकताबारे केही निर्णय नलिएको उनले बताए। सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहे पनि आयोगले निर्वाचन तयारी गरिसकेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।