नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्ने बताएका छन् ।
बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफैँले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश बन्दा देशमा संकट आइपरेको बताए ।
उनले श्री ३ हुन लागेका केपी ओलीलाई लुम्बिनीले नै धरासायी बनाउने बताए । ओलीको निरंकुशताको छिट्टै अन्त्य गरेर नयाँ युगतर्फ देशलाई लैजाने दाबी गर्दै दाहालले भने, ‘अब हामी विकास र समृद्धिको नयाँ योजना लिएर आउँदै छौँ ।’
अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिलाई सही बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्याउने बताए । केपी ओलीको मात्र विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न समेत उनले आग्रह गरे ।
आफूले अदालतप्रति कुनै आशंका गर्न नचाहेको उल्लेख गर्दै उनले भने, ‘सबैभन्दा ठूलो अदालत जनताको जनअदालत हो, जनताको फैसला सबैभन्दा ठूलो हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।