अख्तियतार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् । जनताको घरनजिकको सरकारको रुपमा हेरिँदै आएको स्थानीय सरकारविरुद्ध भ्रष्टाचार गरेको भन्दै अत्यधिक मात्रामा उजुरी दर्ता भएका छन् ।
कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म स्थानीय तहसँग सम्बन्धित ४ सय ६३ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये जम्मा ९८ वटा फर्छ्याेट भएका छन् भने ३ सय ५६ मुद्दा फर्छ्याेट हुन बाँकी छन् ।
जसमा सुर्खेतको भेरीगंगा नगरपालिकाका सबैभन्दा बढी २८ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ७ वटा फर्छ्याेट भएका छन् भने २१ वटा फर्छ्याेट हुन बाँकी छन् । यस्तै, वीरेन्द्रनगर नगरपालिकाका २३ र दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका १९, मुगुको सोरु गाउँपालिकामा १६ वटा, दैलेखको भैरवी गाउँपालिकामा १३ वटा उजुरी दर्ता भएका छन् ।
यीसँगै कर्णाली प्रदेशका अन्य विभिन्न स्थानीय तहसँग सम्बन्धित थुप्रै उजुरी परेका छन् । स्थानीय तहका उजुरी प्रत्येक वर्ष बढ्दै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगको अर्थवार्षिक प्रगित र क्रियाकलापहरु सार्वजनिक गर्दै सुर्खेतका प्रमुख नारायणप्रसाद रिसालले शिक्षा, स्वास्थ्य तथा निर्माणसँग सम्बन्धित विषयलाई लिएर अख्तियारमा उजुरी पर्ने गरेको बताए ।
रिसालका अनुसार पुस मसान्तसम्म अख्तियारमा प्रदेश, स्थानीय तह र संघ सरकारसँग सम्बन्धित ८ सय ९७ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ४ सय ६७ गत आर्थिक वर्षबाट सरेर आएका हुन् भने ४ सय ३० चालू आर्थिक वर्षमा थपिएका हुन् । जम्मा उजुरीमध्ये पुस मसान्तसम्म १ सय ९६ वटा उजुरी फर्छ्याेट भएका छन् भने ७ सय १ उजुरी फर्छ्याेट हुन बाँकी छन् ।
जिल्लागत तथ्यांकअनुसार सुर्खेतमा १ सय ८३ वटा उजुरी दर्ता भएका छन् । त्यसमा ५१ वटा फर्छ्याेट भएका छन् भने १ सय ३२ वटा बाँकी रहेका छन् । यस्तै, दैलेखमा १ सय ६० उजुरी दर्ता हुँदा ३५ फर्छ्याेट भएका छन् भने १ सय २५ वटा बाँकी छन् । कालिकोटमा १ सय ७ दर्ता भएकामा २२ फर्छ्याेट भएका छन् भने ८५ बाँकी छन् ।
जाजरकोटमा ९३ दर्ता, १८ फर्छ्याेट भएका छन् भने ७५ बाँकी छन् । हुम्लामा ७४ उजुरी दर्ता भएकामा ११ फर्छ्याेट भए भने ६३ बाँकी छन् । मुगुमा ६६ उजुरी दर्ता भएकामा, ७ वटा फर्छ्याेट भए भने ५९ बाँकी छन् । जुम्लामा ६५ उजुरी दर्ता भएका छन् । तीमध्ये ९ वटा फर्छ्याेट भए भने ५६ बाँकी छन् । सल्यानमा ५८ उजुरी दर्ता, १३ फर्छ्याेट र ४५ बाँकी छन् । रुकुम पश्चिममा ४६ दर्ता, १९ फर्छ्याेट र २७ बाँकी छन् । त्यसैगरी, डोल्पामा ४५ उजुरी दर्ता भएकामा ११ वटा फर्छ्याेट भएका छन् भने ३४ उजुरी फर्छ्याेट हुन बाँकी छन् ।
प्रदेश सरकारका २२७ उजुरी
अख्तियारको कार्यालय सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग सम्बन्धित २ सय २७ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ५३ वटा फर्छ्याेट भएका छन् भने १ सय ७४ वटा मुद्दा फर्छ्याेट हुन बाँकी रहेका छन् । तथ्यांकअनुसार प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित उजुरी मात्रै ८३ वटा दर्ता भएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित ६१, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित ४८ वटा, सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित ३४ वटा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित एकवटा उजुरी दर्ता भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।