सन्दर्भ:: सहिद दिवस
कसरी बनेकाे थियाे सहिद गेट ? नेपाल स्मारकलाई किन भनियाे सहिद गेट ?
फरकधार / १६ माघ, २०७७

फरकधार अर्काइभबाट

काठमाडाैं– सुन्धारास्थित प्यागोडा शैलीको गेटलाई सहिद गेट भनेर चिनिन्छ । तर, डिजाइन र निर्माण गर्दा यसको नाम ‘सहिद गेट’ थिएन, न त यो ठाउँलाई नै सहिद गेटको नामले पुकारिन्थ्यो । सहिद दिवसमा सरकारले औपचारिक कार्यक्रम यहीँ गर्ने गरेको छ । तर, यसको औपचारिक नाम सहिद स्मारक होइन ‘नेपाल स्मारक’ थियो ।

सो स्मारक डिजाइन गरेका थिए, शंकरनाथ रिमालले । इन्जिनियर रिमालको स्मारक–स्मृति सुरु हुन्छ २०१३ सालबाट । सिभिल इन्जिनियरिङ पास गरेर रिमाल भर्खरै कलकत्ताबाट नेपाल आएका थिए । बंगला युनिभर्सिटीको इन्डियन इन्टिच्युट अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नालोजीबाट इन्जिनियर बनेका उनले नेपाल आउनेबित्तिकै ‘सदर पब्लिक मिसारी अड्डा’मा जागिर पाए । 

पुराना दिन सम्झिँदै उनी भन्छन्, ‘अहिलेको रंगशालालाई त्यतिवेला सानो टुँडिखेल भन्ने चलन थियो । त्यहाँ वर्षभरि भए/गरेका कामकाजबारे प्रदर्शनी चल्थ्यो । राजा–रानी पनि प्रदर्शनी हेर्न आउँथे ।’ त्यो साल पनि प्रदर्शनी थियो । रिमालले आफ्नो कार्यालयका तर्फबाट कार्यविवरणको ब्रिफिङ गर्ने जिम्मेवारी पाएका थिए । 

‘प्रदर्शनीको एक दिन राजाको सवारी भयो,’ उनले पुरानै पाराले सुनाए, ‘तिनताका मेरा हजुरबुबा दरबारको राजवैद्य हुनुहुन्थ्यो । महारानीलाई के लाग्यो कुन्नि ! राजाको कानमा खुसुक्क ‘यो त कविराजको नातिजस्तो छ’ भन्नुभयो ।’ त्यसबखत राजारानी वा दरबारियाहरू छेउकाले नसुन्नेगरी खुसुखुसु कुरा गर्थे रे ! ‘कुरा ठ्याक्कै नसुने पनि मैले कुराकानीको निधो पाइसकेको थिएँ,’ उनले सम्झनाको पोया फुकाए, ‘दरबारमा पनि प्रसंग चलेको हुनुपर्छ–कविराजको नातिले इन्जिनियरिङ गरेको छ ।

नभन्दै राजाले उनलाई सोधे– तिमी कविराज वैद्यको नाति होइन ? अनि नजिकै आएर भने, ‘म तिमीलाई काममा बोलाउँला ।’ राजा महेन्द्रको वचन थियो त्यो । 
उनलाई उत्सुकता र आशा दुवै थियो । तर, यत्तिकै हरायो । ‘ठूला मानिसले भनेको कुरा, के प्रसंगमा भनेका थिए । दोहोर्याएर जिकिर गर्न पनि नमिल्ने,’ उनले सुनाए, ‘मैले पनि लगभग भुलिसकेको थिएँ ।’ 

६÷७ महिनापछि अचानक ‘सरकारबाट हुकुम भएको छ, दरबारमा आउनू’ भन्ने खबर आयो । दरबारको निम्तो मान्न उनी दौरा–सुरुवालमा सजिएर हिँडे । ‘जतिसुकै माथिल्लो ओहदाको व्यक्ति किन नहोस्, दौरा–सुरुवाल र टोपीविना दरबार प्रवेश गर्न निषेध थियो,’ उनले भने, ‘म पनि दौरासुरुवालमै थिएँ ।’

२ नम्बर बंगलाको माथिल्लो तलामा ठूलो कौसी थियो । त्यसको तल झ्याल नभएको कोठा थियो । उनले सम्झिए, ‘पालेले छाता ओढाएर भित्र लिएर गए । राजाबाट बोलावट भएको मानिसलाई छाता ओढाएर लैजाने रीत रहेछ ।’ बैठक कोठामा राजा एक्लै थिए । एक छिन बसेपछि राजाबाट ‘हुकुम’ भयो, ‘मलाई एउटा स्मारक बनाउने इच्छा छ । डिजाइन पेस गर्नू ।’ दरबारिया संस्कृतिमा राजाले बोलेपछि दोहोरो गर्ने कुरै थिएन । उनी ‘हवस्’ भनेर फर्किए ।

त्यतिखेर इन्जिनियरहरू औँलामा गन्न सकिने जति थिए । उनी आफैँ पनि सिकारु नै थिए । राजाले अह्राएको काम गर्न पाउँदा उनी निकै खुसी थिए । तर, स्मारक के, कस्तो, कहाँ बनाउने केही खुलाएनन्, राजाले । ‘राजाले जाँच्न पो खोजेका हुन् कि जस्तो पनि लाग्यो,’ उनी अतीतको त्यो पलमा पुगे, ‘ठाउँ थाहा भए पो कस्तो बनाउन उपयुक्त हुन्छ भनेर विचार गर्न सकिन्थ्यो । केही दिन त अन्योलमा परेँ । तैपनि हप्ता दिनभित्रमा नै मैले विभिन्न शैलीका नौ किसिमको डिजाइन बनाएर पेस गरेँ ।’ 

डिजाइन हेरेपछि मात्र राजाले भद्रकाली र धरहरा सडकको बीचमा स्मारक बनाउने योजना सुनाए । उनले बनाएका नौमध्ये प्यागोडा शैलीको डिजाइन राजाबाट स्वीकृत भयो । हिजो–आज सहिद गेटको नाममा परिचित स्तम्भ त्यही हो । 

३२ फिट चौडा ३ लेनको डिजाइन थियो । ‘उचाइचाहिँ कति राख्ने भन्ने छलफल भयो,’ उनले सम्झिए, ‘राजाले हात्ती छिर्ने ढोका हुनुपर्छ भनेका थिए ।’ सामान्य बुझाइमा त्यो १२ फिट मात्र हुन्थ्यो । उनी फेरि द्विविधामा परे । राजाको हात्तीमा त हौदा पनि हुन्छ, त्यसमाथि झल्लरी छाता पनि हुन्छ । त्यो पनि छिर्न मिल्ने हुनुपर्ने रहेछ । हात्ती छिर्ने मतलव हात्तीमाथि राजा बसेर छाता ओढेर जाँदा छाता बन्द नगरी छिर्न मिल्ने गेट ।

त्यही अनुसारको उचाइ तय भयो । दायाँबायाँ बाटो पनि डिजाइन गरे, उनले । त्यसपछि फेरि राजाले हुकुम दिए–पाँचवटा मूर्ति पनि राख्न मिल्नेगरी बनाउनू । उनले त्यसैअनुसार मूर्ति राख्ने ठाउँ बनाए । ‘तर, मलाई ती पाँचजना को–को थिए, थाहा थिएन,’ उनी सम्झिन्छन्, ‘तल चारवटा, माथि एउटा भन्ने थियो ।’ माथि राख्ने भनिएको मूर्तिचाहिँ कोही राजाको होला भनेर उनले लख काटिसकेका थिए । तर, राजाले आफ्नै मूर्ति राख्न खोजे वा अरू कुनै राजाको भन्ने तथ्य खुलाइएन । 

‘त्यहाँ मैले चारै ठाउँबाट माथि उक्लने सिँढी पनि बनाएको थिएँ,’ उनले बताए, ‘पछि फाइनल गर्दा त्योचाहिँ हटाएँ । राजाले त्यो कुरा ख्याल गरेका रहेछन् । सोधे, ‘सिँढी तिम्ले किन झिकेको ?’ उनले भने, ‘अनावश्यक मानिस जान सक्छन् । जो–कोहीलाई जान दिन नहोला कि भनेर ।’ यसमा राजाको कुनै टिप्पणी वा हुकुम थिएन । रिमालले गरेको स्मारकको लागत अनुमान त्यतिवेला २५ हजार रुपैयाँ थियो । 

नक्सांकनको सबै काम सकेर उनले राजालाई बुझाए । त्यहीवेला उनले जर्मनीमा प्राक्टिकल ट्रेनिङको छात्रवृत्ति पाए । ‘यता, स्मारकको काम सुरु भइसकेको थियो । त्यो पनि राजाले हुकुम दिएको काम । जाम कि नजाम भयो,’ उनले सुनाए, ‘मैले राजासँग नै अनुमति माग्ने निर्णय गरेँ ।’ राजाले निराश मुद्रामा भने, ‘तिमी गएपछि कसले बनाउँछ त ?’ उनले भने, ‘मसँगै पढेर आएको आफ्नै भाइ छ । उसले पनि यो काम गर्न सक्छ । उसैले जिम्मेवारी पाए म काम सम्झाउन सक्छु ।’

उनले जर्मनी जाने अनुमति पाए । स्मारक बनाउन भने तीन सदस्यीय समिति बन्यो । त्यो समितिमा उनका भाइ गौरीनाथसहित राजाका जेठान जर्नेल अरुणशमशेर र सूर्यबहादुर जोशी थिए । समितिले एकवर्षभित्रै स्मारक बनायो । स्मारक बन्दाबन्दै राजाले गेटचाहिँ नबनाउन आदेश दिए । राजाको आदेशअनुसार चारैतिर घेरा बनाइयो । त्यसपछि बन्यो, अहिलेको स्वरूपको स्मारक ।

निर्माण सम्पन्न हुँदासम्म लगानी पुग्यो, १ लाख २५ हजार । निर्माणको काम नेपाली कामदारले नै गरेको उनको दाबी छ । मार्बल नपाएर पुरानो दरबारको मार्बलले काम चलाइएको पनि उनी सम्झिन्छन् । राजा महेन्द्रले विसं २०१८ वैशाख १ गते स्मारक उद्घाटन गरे । सोही समारोहमा भाइलाई दुई हजार र आफूलाई १ हजार राजाले बकस दिएको सम्झिएर उनी अहिले पनि पुलकित हुन्छन् । भन्छन्, ‘त्यतिवेला १ हजारको पनि ठूलो महत्व थियो ।’ 

उद्घाटनपछि मात्र रत्नबहादुर तुलाधरले राजा त्रिभुवन र चार सहिदको मूर्ति बनाएका थिए, जो अहिलेसम्म छँदै छ । सुरुमा राखिएको नाम ‘नेपाल स्मारक’ भने टिक्न सकेन र त्यसको ठाउँ जनबोलीको ‘सहिद गेट’ले लियो । रिमाल भन्छन्, ‘राजाले वा औपचारिक रूपमा जे नाम दिए पनि जनताले जे नामले चिन्छन्, त्यही स्थायी हुने रहेछ । जनबोलीमा त्यत्रो शक्ति रहेछ ।’

हाल यही गेटमा सरकारले पनि माघ १६ गते औपचारिक सहिद दिवस मनाउँछ । तर, सहिदहरूको मूर्तिभन्दा माथि किन राजा त्रिभुवनको मूर्ति राख्ने आदेश राजा महेन्द्रको थियो भन्ने जानकारी सबैलाई छैन । गेट निर्माणको इतिहास थाहा नपाएका सबैको मनमा सहिदको मूर्तिमाथि त्रिभुवनको सालिक किन भन्ने प्रश्नचाहिँ उब्जिन्छ ।

यो प्रश्न इन्जिनियर रिमाललाई भने उचित लागेको छैन । उनी भन्छन्, ‘यो स्वतः हुने कुरा हो । रैतीमाथि राजा तल त पक्कै हुँदैन ।’ उनको विचारमा राजाको मूर्तिको रूपमा इतिहासलाई माथि राखिएको हो । गेटमा प्रजा परिषद् आन्दोलनका सहिदहरू दशरथ चन्द, गंगालाल, धर्मभक्त र शुक्रराजको मूर्ति राखिएको छ । यी चारैजनालाई मृत्युदण्ड दिने कागजमा लालमोहर भने राजा त्रिभुवनले नै लगाएका थिए । रिमाल यो ऐतिहासिक तथ्यलाई ठीकसँग बुझ्नुपर्ने जिकिर गर्दै भन्छन्, ‘कुन बाध्यात्मक परिस्थितिमा उनले चार सहिदको मृत्युदण्डमाथि लालमोहर लगाए, त्यो कुरा त बाहिर आएको छैन । मानिसहरूले इतिहासलाई आफूअनुकूल प्रयोग गरिरहेका छन् । इतिहास सन्तुलित बनाउन सकेका छैनन् ।’

जे होस्, नेपाल स्मारकको नाम मात्र होइन, सारतत्व पनि बदलिएर ‘सहिद गेट’ भइसकेको छ । सहिद गेटमा त्रिभुवनको सालिक भने दिनहुँ नसुहाउँदो भइरहेको सर्वसाधरणको बुझाइ छ । जनबोलीको शक्तिले स्मारकको अर्थ नै बदलेको यो अनौठो घटना भने हो ।                                                                                    

  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार ७:३६:४२,   अन्तिम अपडेट : माघ १६, २०७७ शुक्रबार ७:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया