ओलीलाई प्रदीप पौडेलको चुनौती : प्रधानमन्त्रीको कुर्सी छोडेर आउनु हैसियत देखाइदिन्छौँ
बाँदरलाई मकैबारी र ओलीलाई गणतन्त्र उस्तै भएको जिकिर

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले तीन वर्षसम्म सिन्को समेत नभाँचेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरिदिएको बताएका छन्। 

शहीद दिवसको अवसरमा एवम् संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध रत्नपार्कको शान्ति वाटिकामा शुक्रबार आयोजित सभामा बोल्दै पौडेलले यस्तो भनेका हुन्। 

ओलीले तीन वर्षसम्म सरकार चलाउँदा कुनै गतिलो काम गर्न नसकेको पौडेलले बताए। 'केपी ओलीलाई समृद्धि ल्याउन संविधान कार्यान्वयन गर्न कसले रोक्यो? पानी जहाजमा नेपालको झण्डा फहराउन कसले रोक्यो? हावाबाट बिजुली बाल्न कसले रोक्यो?', उनले सोधे, 'तीन तीन वर्ष सरकार चलाएर एउटा गतिलो प्रोजेक्ट ल्याउन नसक्ने, कोरोनाको बेला जनतालाई सघाउन नसक्ने सरकारले केही गरे। भ्रष्टाचारलाई संरक्षण गर्ने यो भन्दा अर्को सरकार आजसम्म थिएन।'

उनले ओली स्थिरताका सत्रु भएको दाबी गरे। 'केपी ओली स्थिरताका सत्रु हुन् उनी नेपाललाई स्थिर भएको देख्न चाहँदैनन्। ओली नै लोकतन्त्र र समृद्धिका बाधक हुन्', उनले भने, 'केपी ओलीजी तपाईंले एक पटक संवैधानिक व्यवस्थालाई कुल्चन सक्नु हुन्छ, थुप्रै मानिसलाई सहिद बनाउन सक्नु हुन्छ तर देशको प्रगतिलाई रोक्न सक्नु हुन्‍नँ, निरङ्कुश शासक बन्ने चेस्टा सफल हुँदैन।'

ओलीले लोकतन्त्र बचाउन नसक्ने पनि पौडेलले बताए। 'लोकतन्त्रलाई उहाँले सफल बनाउन सक्नु हुन्न । केपी ओली प्रवृत्ति गलत छ', उनले भने, 'मकै बारी हेर्न बाँदरलाई जिम्मा दिए जस्तै गणतन्त्रको नेतृत्व बाँदरलाई दिँदा यो समस्या भएको हो।'

उनले अदालतले संसद पुनर्बहाली गर्ने विश्वास गरे। 'अहंकारी र निरङ्कुश शासकलाई ठेगान लगाउन अदालतले संसद् पुनर्स्थापना गर्नेछ', उनले भने, 'केपी ओली देखेर लाज पनि लजाइसक्यो। प्रदेशमा हारेको व्यक्तिलाई संघीय मन्त्री बनाएको छ। प्रतिनिधिसभामा हारेको राष्ट्रियसभामा पुगको छ।'



पौडेलले आफू हार्ने गरी चुनाव नगराउने जिकिर गरे। कांग्रेसलाई जिताउने गरी ओलीले चुनाव गराउँछन् भन्ने कुरामा भ्रम नपर्न पनि पौडेलले अपिल गरे। 'वैशाखमा निष्पक्ष चुनाव भयो भने केपी ओलीको पनि जमानत जफत हुन्छ। उनका उम्मेदवार देशका सबै क्षेत्रमा हार्ने निश्चित छ', उनले भने, 'केपी ओली प्रधानमन्त्रीको कुर्सी छोडेर चुनाव लड्न आउन्, हामी उनको हैसियत देखाइदिन्छौँ।'



  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार १८:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया