गगनलाई मेयरको पत्र : कमलपोखरी सुधारमा तपाईंले गरेका काम देखाउनुस्

 काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कांग्रेस नेता तथा तत्कालीन सांसद गगन कुमार थापालाई पत्र लेखेर कमलपोखरीको विकास र सुधारमा गरेका कामको विवरण मागेका छन्। 

‘कमल पोखरी पुनर्निर्माणका सन्दर्भमा तपाईंबाट प्रेषित काठमाडौँ महानगरपालिकाको प्रमुखलाई सम्बोधन गरिएको पत्र प्राप्त भयो,’ मेयरले भनेका छन् , ‘२०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईंसँग समेत भएको छलफल र अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रष्ट छ। पोखरीको विकास तथा सुधारमा तपाईंबाट समेत विगतमा धेरै काम गरेको तपाईँले नै बताएको हो। तपाईंको पहलबाट कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कामको विवरण उपलब्ध गराई सहयोग गरिदिनु होला।'

शाक्यले प्रस्तावित ढाँचा सो क्षेत्रका तत्कालीन संघीय सांसद  गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ-संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै  कमलपोखरी पुनर्निर्माण अघि बढाएको पुनः दोहोर्‍याए। 

‘कमलपोखरीको विकास तथा सुधारका लागि माननीय गगन कुमार थापाले विगतमा गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गर्न हामीले उहाँलाई पत्र पठाएका छौँ,’ शाक्यले भनेका छन्, ‘उहाँले सबै विवरण पठाई सहयोग गरेलगत्तै कमलपोखरी पुनर्निर्माणबारे सकेसम्म कमलपोखरीमै पत्रकार सम्मेलन गर्ने तयारीमा छौँ ।’
 
काठमाडौँ महानगरपालिका पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरूको संरक्षणको अभियानमा रहेको उनले बताए। ‘हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ,’ शाक्यले भने, ‘काम गर्ने सिलसिलामा केही कमजोरी भए छलफल गरेर अघि बढ्न तयार छौँ ।’

उनले कमलपोखरी पुनर्निर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउँदा क्षेत्रफल अझ बढेको भन्दै  मौलिकता झल्किने गरी सम्पदाको संरक्षण गरिने उल्लेख गरे। कला संस्कृतिलाई जोड्ने र मौलिकतालाई जोगाउँदै निर्माण गर्न लागेको पनि उनले बताएका छन्। 





  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार १९:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया