logo-img

ओलीले फेरि फ्याँके धार्मिक कार्ड : राम जन्मभूमि नेपाल नै, मास्टर प्लान बनिसक्यो
पशुपति यात्रापछि भगवान रामका कुरा

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको अयोध्यापुरी नै भएको कुरा फेरि दोहोर्‍याएका छन्। भरतपुरमा शनिबार आयोजित आफूपक्षीय जनसभालाई सम्बोधनका क्रममा ओलीले भगवान रामको जन्मभूमि चितवनको अयोध्यापुरी नै भएको कुरा राखेका हुन्। 

उनले भगवान रामको जन्मभूमि नेपालमै भएको कुरा बोल्न दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाह्रो भएको पनि टिप्पणी गरे। 'रामको जन्म अयोध्यापुरीमा भएको कुरा बोल्न किन डराएको होला?', उनले प्रचण्डप्रति लक्षित गर्दै भने, 'मयूरको प्वाँख लाउँदैमा कुन्नि के चरो मयूर हुँदैन भनिन्छ। त्यस्तै उहाँ (प्रचण्ड) यसबारे बोल्न सक्नु हुन्न। उहाँको राष्ट्रवाद हामीले देखिसकेका छौं।'

अयोध्यापुरीलाई रामको जन्मभूमिका रुपमा स्थापित गर्न सरकारले मास्टर प्लान बनाइसकेको पनि जानकारी दिए। 'अयोध्यापुरी विकासका लागि मास्टर प्लान बन्दैछ', उनले भने, 'यो साल सकिएन, अर्को साल हामी राम जन्मभूमि अयोध्यापुरीमा प्राण प्रतिष्ठा गर्ने छौँ।'

ओलीले अयोध्यापुरीमा स्थापनाका लागि भगवान रामको मूर्ति बनिसक्न लागेको जानकारी दिए। 'रामको मुर्ति बन्दैछ, सीताको पनि बनिरहेको छ', उनले भने, 'त्यो ठाउँलाई हामी विस्तारै नेपालकै प्रमुख धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने छौं।'



कहाँ पर्छ? 

चितवनमा रहेको माडी प्राचीन समयदेखि अयोध्यापुरीका नामले  चिनिन्थ्यो। त्यो नै वास्तविक राम जन्मभूमि अयोध्याका रुपमा रहेको तर्क प्रधानमन्त्रीले गरेका हुन्। केही वर्ष अघिसम्म त्यहाँस्थित एउटा गाविसको नाउँ अयोध्यापुरी थियो। 

अहिले टाँडी नगरपालिका भएपछि वडा ७ र ८ मा छ । त्यस ठाउँबाट जनकपुर करिब १ सय ८० किमी पूर्वमा पर्छ भने वाल्मीकि आश्रम झण्डै ७० किमी पश्चिममा पर्छ। त्यहाँबाट रथमा चढेर एकै दिनमा वाल्मीकि आश्रम पुगेर फर्कन सकिने तर्क अध्येताहरूको छ।

ओलीको राम कार्ड



ओलीले अघिल्लो सोमबार पशुपतिनाथको दर्शनलाई अप्रत्याशित मान्न नसकिने हिन्दु धर्मका अभियन्ताहरु बताएका थिए। पशुपति दर्शनको चर्चा सेलाउन नपाउँदै उनले चितवन पुगेर अर्को धार्मिक कार्ड फ्याकेका हुन्। 

पछिल्लोपटक २०७७ असार २९ गते ओलीले धार्मिक कार्ड फ्याँकेका थिए। भारतले भगवान् रामको जन्मभूमि अयोध्या भनिरहेका बेला ओलीले नेपालको पर्सा र चितवन आसपासको क्षेत्र भएको दाबी पेस गरे। 

गत असार २९ गते सोमबार प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा एउटा अप्रत्याशित अभिव्यक्ति दिएका थिए। करिब ३० वर्ष लामो विवादपछि हिन्दुहरुको पक्षमा विवादित भूमि ल्याएको उत्तर प्रदेशस्थित राम मन्दिर रहेको अयोध्या राम जन्मभूमि नभएर नेपालको पर्सास्थित ठोरीमा भएको प्रधानमन्त्रीले बताएका थिए। 

यसलाई लिएर उनीमाथि उनका विरोधीले अनेक कोणबाट आक्रमण गरे। भारतीय जनता पार्टीले त ओलीको अभिव्यक्तिको निन्दा नै गर्यो। नेपालमा पनि ओलीले हचुवाको भरमा बोलेर भारतसँगको सम्बन्ध बिगारेको भन्दै उनी घेराबन्दीमा परे। 

कमल थापादेखि डा. बाबुराम भट्टराईसम्मले प्रधानमन्त्रीले अल्पज्ञानका भरमा यस्तो कुरा बोलेको आरोप लगाएका थिए। प्रधानमन्त्री ओलीले यसबारे त्यतिकै बोलेका थिएनन्। यसबारेमा एउटा समूहले अभियान नै चलाएको थियो। चितवनको माडीमा अवस्थित साविकको अयोध्यापुरी गाविसमा नै श्रीरामको जन्म भएको कुरा प्रमाणित गर्ने अभियान लामो समयदेखि चलाइएको थियो।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान थालेको थियो। त्रेता युगमा भगवान् रामको जन्म नेपालकै चितवनस्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा भएपछि विभागले विज्ञसँग छलफल थालेको प्रवक्ता रामबहादुर कुँवरले बताएका थिए। तर, विभागले अहिलेसम्म अनुसन्धान कहाँ पुर्‍यायो? केही खुलाइएको छैन।

किन धार्मिक कार्ड ?

३ फागुन २०७४ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ लिने क्रममा केपी शर्मा ओलीले ईश्वरलाई सम्झिएका थिएनन्। कम्युनिष्टका ईश्वर कार्ल मार्क्स हुन् भन्दै आएका ओलीले त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिँदा जनतालाई सम्झिएका थिए। 

ओलीले जनताको नाममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेयता पहिलोपटक अघिल्लो सोमबार भगवान् शिवको दर्शन गर्न पशुपतिनाथ मन्दिर पुगे। आफ्ना सहयोगीको लावालस्करसहित पशुपतिनाथ पुगेपछि ओलीले अब धर्मको कार्ड पनि फ्याँक्न खोजेको टिप्पणी धेरै गरेका थिए।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिदिएपछि राष्ट्रपतिमार्फत वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका ओली त्यसयता निरन्तर इतर पक्षको घेराबन्दीमा छन्। उनीविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सबैभन्दा चर्को आक्रमण गरिरहेको छ।

अर्कातिर नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि ओलीको कदमविरुद्ध आन्दोलित छन्। भित्रभित्रै चुनावी तयारीमा जुटे पनि दलहरुले सडकमा आन्दोलन पनि तताइरहेका छन्। ओलीविरुद्ध पछिल्लो समय नागरिक अगुवाहरुको एउटा समूह पनि आक्रमक भएर आएको छ। उनीविरुद्ध नारायण वाग्लेसहितका नागरिक अगुवाले तेस्रो जनआन्दोलन नै घोषणा गरिदिएका छन्।

अनेक घेराबन्दीबीच ओली पछिल्लो समय तनावमा रहेको देख्न सकिन्छ। विशेषगरी प्रचण्ड र माधव नेपालविरुद्ध उनी बढी आक्रमक देखिन्छन्। उनले दाहाल-नेपाललाई भष्मासुर, कुलङ्गार र पिलोसम्मका उपनाम दिइरहेका छन्। यस्तोमा ओलीले एकपछि अर्को धार्मिक कार्ड फ्याँक्नुलाई चुनावमा जनताको मन तान्ने कोसिसका रुपमा टिप्पणी गरेका छन् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले।

  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया